५५ पशु काञ्जीहाउसमा

नेपालगन्ज बजार क्षेत्रमा दिनानुदिन बढ्दै गएको छाडा चौपायाको आतंक नियन्त्रण गर्न उपमहानगरपालिकाले शनिवार पनि अभियान चलाएको जनाएको छ ।

अभियानका क्रममा नगर प्रहरीको टोलीले बजारका विभिन्न भागमा छरिएर रहेका चौपायालाई एकैपटक समेटी वडा नं २१, बिर्तास्थित काञ्जीहाउस पुर्याएको हो ।

नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीका अनुसार, शनिवार मात्र ४६ वटा गाईगोरु तथा बाच्छाबाच्छी र ९ वटा घोडा, खच्चड र तिनका बच्चा नियन्त्रणमा लिएर काञ्जीहाउस पुर्याइएको छ ।

‘ट्राफिक चोकदेखि राँझा चोकसम्मका मुख्य सडक र बजार क्षेत्रमा विगत केही समयदेखि छाडा चौपायाको संख्या निकै बढेको छ,’ बोगटीले भने, ‘यसले दुर्घटनाको जोखिम मात्र होइन, सडक यातायातमा समेत अवरोध सिर्जना गर्ने अवस्था आएको छ ।’ त्यसैले नियन्त्रणमा अभियान्नै चलाउनु परेको उनको भनाइ छ ।

अभियान अन्तर्गत नगरका विभिन्न गल्ली, सडक र बजारभित्रका चौपायालाई एकीकृत गरी काञ्जीहाउसमा राखिएको हो । नगरपालिकाले यस्ता अभियान समय–समयमा चलाए पनि चौपायाका मालिक पहिचान गरी कानूनी कारबाही नगरेसम्म समस्या दीर्घकालीन रूपमा समाधान नहुने स्थानीयवासीको भनाइ छ ।

Exit mobile version