स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा सम्मान

१२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बिश्व किर्तिमान बनाउने स्वर्ण पदक विजेता बाँकेका खेलाडी सम्मानित भएका छन् ।

थाइल्याण्डको पटायामा हालै आयोजना भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण पदक विजेताहरुलाई बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग सङ्घले आइतवार सम्मान गरेको हो ।

बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग सङ्घका अध्यक्ष बीनी टण्डनले देशको नाम उच्च राख्न सफल नेपालगन्जका तीन जना खेलाडीलाई सम्मान गरिएको जानकारी दिइन् । देशको नाम अग्रस्थानमा राख्न सफल बाँकेका ३ जनालाई खेलाडीहरुलाई सम्मान गर्न पाउनु गौरवको बिषय भएको उनको भनाइ छ ।

अध्यक्ष टण्डनका अनुसार, २२० किलो उचालेर बिश्व किर्तिमानसहित स्वर्ण पदक जित्ने करण बाडिया, स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेसमा स्वर्ण पदक जित्ने मोहित गुप्ता र रजत पदक विजेता सन्तोष काजी शाक्यलाई सम्मान पत्र प्रदान गरिएको हो ।

१२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपमा बाडियाले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा २२० किलो उचालेर विश्व किर्तिमान बनाउँदै गोल्ड मेडल जित्न सफल भएका थिए । बाडियाले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेसमा रजत पदक पनि जितेका हुन् ।

त्यस्तै, गुप्ताले सोही प्रतियोगितामा स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा कास्य पदक जित्न सफल भए भने शाक्यले ७६ किलो तौलमा पुरुषतर्फ रजत पदक हासिल गरेका थिए ।

अध्यक्ष टण्डनका अनुसार, सो प्रतियोगितामा बाँकेबाट तीनजना खेलाडी र अन्य जिल्ला बाट छ जना खेलाडी गरी नेपालबाट नौ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपालीे टिमले सात स्वर्ण, पाँच रजत र दुई कास्य पदक गरेर १४ वटा मेडल प्राप्त गरेको अध्यक्ष टण्डनले बताइन् ।

Exit mobile version