बौद्धिक पलायन

सायद म मात्र होइन, हाम्रै पुस्ताका धेरै युवाहरूको मनभित्र गडेको चोटको नाम हो बौद्धिक पलायन। त्यो चोट, तब लाग्छ जब हामी आफ्नै माटोमा हुर्केर, अरूको माटोमा पसिना बगाउन बाध्य हुन्छौं। जब हामीले आफ्ना आँखा, श्रम, सीप, मस्तिष्क—सबैथोक जन्मिएको देशलाई होइन, अर्को देशका लागि खर्चिन्छौं। हो, यही हो बौद्धिक पलायन। शिक्षित, दक्ष, सीपयुक्त युवाशक्ति आफ्नो मातृभूमिलाई छोडेर वैदेशिक भूमिमा बस्न जाने प्रवृत्तिलाई बौद्धिक पलायन भनिन्छ।

तर यो केवल एक सामाजिक वा आर्थिक तथ्य होइन, यो त आत्मा बेचिनुको कथा हो, जसको थालनी प्रायः विद्यार्थी जीवनमै सुरु हुन्छ।

म अझै सम्झन्छु—विद्यालयको झण्डा अभिवादन, समाजिकको पुस्तकमा लेखिएको “देशप्रेम”, अनि सभ्य नागरिक बन्ने शिक्षा। तर, हामीलाई सिकाइने शिक्षा देश निर्माणका लागि थियो कि विदेश पलायनका लागि? हामीले विदेशी विद्वानका बासी पुराण त पढ्याै, अाफ्नै देशका विद्वान ऋषिहरुका दर्शन पढेनाै। पढेपनि रुढिगत तरिकाले बुझेउँ। आफ्नै देशका पहाड, किसानका पसिना र पीडालाई चिन्न सकेनौं।

हामी कहाँ चुक्यौं? शायद शिक्षामा देशप्रेमको बीउ गाड्न नसकेर। शिक्षा प्रतिस्पर्धाको हतियार भयो, समर्पणको होइन। विद्यार्थी जीवनमा नै माटोको माया होइन, विदेश उड्ने सपना रोपियो।

सपना बोकेर उडिन्छ—तर त्यो सपना विदेशी भूमिमा उत्रँदा, कति चिमोटिन्छ आत्मा!
हामी डिग्री लिएर जान्छौं, तर इज्जत माग्दै बाँच्नुपर्छ। विदेशी भूमिमा हामी दोश्रो दर्जाका नागरिक बन्छौं,जहाँ थर होइन, देशको हैसियतले हाम्रो मान निर्धारण हुन्छ। अनि त्यहाँ, सास त चलिरहेको हुन्छ तर आत्मा कतै सुक्दै गएको महसुस हुन्छ।

त्यस बेला, रातको खाटमा पल्टिँदा नेपाल आमाको याद आउँछ, बुबाआमाको आँखामा रहेको “छोरा केही बनोस” भन्ने भरोसा टुट्दै गएको देखिन्छ। अनि म भित्रैभित्र कराउँछु —
“म किन आफ्नै देशमा केही गर्न सकिनँ?”

आज म सोच्छु मेरो ज्ञान, मेरो क्षमता किन सधैं अरूका लागि होस्?
किन म आफ्नो गाउँको बारीमै प्रविधिको खेती गर्न सक्दिनँ?
किन म नेपालको शिक्षा सुधार्न, विज्ञान र उद्योगमा काम गर्न सक्दिनँ?

मेरो रहर छ नेपाल आमाको मुहार हँसिलो बनोस्।
म चाहन्छु, म विदेशी मुद्रा होइन, आफ्नै देशको मुस्कान बनुँ।
देशमै बसेर परिवर्तन ल्याउने सपना अब मलाई अति प्यारा लाग्न थालेका छन्।

प्रकृतिको अनुपम उपहार हो नेपाल ,असल पुत्रको खोजीमा छन नेपालआमा।
पर्वत, जल, हरियाली, संस्कृति, विविधता अनि सौन्दर्यको अनुपम उपहार हाे मेरादेश।
तर यो स्वर्ग-जस्तो देश आज स्वाभिमानको खोजीमा छ।
नेपाल आमा आज असल सन्तानको खोजीमा छिन्।
जो देशमा बसेर देश बनाउने,
जो सीपलाई भित्र फर्काउने,
जो सुशासन, न्याय र प्रगतिका लागि आफ्नो मस्तिष्क सुम्पिने।
बौद्धिक पलायनको लहर उल्ट्याउनु पर्छ।
यो केवल सरकारको नीतिले होइन, हाम्रो आत्मा बदलिनु पर्दछ।
देशको माटो, देशका मान्छे र देशकै अभावसँग साक्षात्कार गर्नुपर्छ।

म त भन्छु —
विदेश जानु अपराध होइन, तर आफ्नै देश बिर्सनु ठूलो अपराध हो।
अब समय आयो — हामीले फर्केर हेर्ने, देशप्रति जिम्मेवारी बोध गर्ने, र नेपाल आमाको हात समाउने।

अब हामी आफैँ साँचो नागरिक, साँचो सन्तान र साँचो निर्माणकर्ता बन्नुपर्छ

Exit mobile version