नेपालगन्ज–दिल्ली हवाई उडान : लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीसँग परामर्श

नेपालगन्ज–दिल्ली हवाई उडान सञ्चालनका लागि चलिरहेको अभियानलाई थप बल जुटाउन लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीसँग छलफल परामर्श गरिएको छ ।

उडान पहलका लागि गठित समितिले दुबै प्रदेश राजधानी पुगेर बुधवार आवश्यक सहमति र समर्थनका लागि छलफल परामर्श गरेको हो ।

समितिका सदस्य–सचिव भीमबहादुर रानाभाटको नेतृत्वमा प्रदेश राजधानी देउखुरी पुगेको टोलीले दिल्ली उडानको आवश्यकताबारे जानकारी गराउँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरी, अर्थमन्त्री, वनमन्त्री लगायतसँग विशेष भेटघाट तथा छलफल कार्यक्रम गरेको जनाएको छ । ‘सबैको निकै सकारात्मक प्रतिक्रिया र सहयोगको प्रतिबद्धता प्राप्त भएको छ,’ समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने ।

भेटमा सहभागी नेताहरुले नेपालगन्ज–दिल्ली अन्तर्राष्ट्रिय उडान आवश्यक रहेकोमा सहमति जनाउँदै यस अभियानमा साथ र समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरेको सदस्य सचिव रानाभाटको भनाइ छ ।

उडान दबाब समूहले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेश सरकारबाट आवश्यक नीतिगत सहयोग जुटाउने प्रयास भइरहेको छ । ‘मुख्यमन्त्रीको कुराबाट हामी उत्साहित छौं,’ छलफलमा सहभागी समितिका सदस्य आशीष गुप्ताले भने ।

नेपालगन्जको रणनीतिक स्थान, जनघनत्व र धार्मिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय उडानका लागि पहल तेज पारिएको छ । ‘कर्णालीका मुख्यमन्त्री यामलाल कंडेलले नेपालगन्ज–दिल्ली उडानमा कर्णाली सकारात्मक रहेको बताउनु भएको छ,’ सुर्खेत पुगेका दबाबका लागि गठित समितिका सदस्य, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले दैनिक नेपालगन्जसँग भने ।

स्थानीय नागरिक, व्यवसायी, पर्यटन क्षेत्रका विज्ञ लगायतको सक्रिय सहभागितामा दबाब समूहले निरन्तर उच्च तहसम्मको समन्वय गर्दै आएको छ । ‘हामी छिट्टै सुदूरपश्चिम सरकारको पनि समर्थन जुटाउँदैछौं,’ समितिका सदस्य, नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले भने, ‘नियमित कुराकानी भइरहेको छ ।’

Exit mobile version