नेपालगन्जमा धुमधामका साथ मनाईँदै गाईजात्रा

भाषा र संस्कृतिको संरक्षण गर्ने मूल नारा

हरेक वर्षझैँ यस वर्ष पनि नेवाःपुच बाँकेले नेपालगन्जमा गाईजात्रा पर्व भव्यताका साथ मनाउने तयारी गरेको छ । नेपाली पात्रोअनुसार २०८२ साल साउन २५ गते परेको यस पर्वलाई ‘भाषा, संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मूल नाराका साथ मनाइने भएको हो ।

नेवाःपुचः बाँकेका अध्यक्ष जितेन्द्र जोशीले जानकारी दिएअनुसार गाईजात्राको तयारीका लागि कार्यसमिति, गुठी र मृतक परिवारका सदस्यहरूसँग छलफल भइसकेको छ । सोही बैठकले नेपालगन्जमा गाईजात्रालाई विगतको भन्दा पनि अझै भव्य बनाउने निर्णय गरेको छ ।

कार्यक्रमलाई सफल बनाउनका लागि नेवाःपुचः बाँकेले कार्यक्रमका संयोजक चन्द्र श्रेष्ठको नेतृत्वमा सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । त्यसक्रममा कार्यवाहक अध्यक्ष हरिसचन्द्र श्रेष्ठको अध्यक्षतामा विभिन्न बैठक गरि भइरहेको तयारीले नेपालगन्जको सांस्कृतिक महत्त्वलाई उजागर गर्ने विश्वास लिइएको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

संस्थाका सचिव विवेक श्रेष्ठका अनुसार, यस पटकको गाईजात्रामा नेवारी समुदायको संस्कृति र परम्परा झल्किने गरी विभिन्न कार्यक्रमहरू समावेश गरिनेछ ।

‘यो पर्व दिवंगत आत्माको शान्तिका लागि मनाइने भए पनि यसले समाजमा आपसी सद्भाव र एकताको सन्देश फैलाउने गरेको छ,’ कार्यक्रम संयोजक श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जमा मनाइने यस गाईजात्राले नेवारी समुदायको परम्परालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।’

Exit mobile version