कान्ति ताल बचाउन सयौं हस्ताक्षर, उपमहानगरलाई संरक्षणको दबाब

नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ को सीमामा रहेको ऐतिहासिक कान्ति तालको सौन्दर्य र अस्तित्व जोगाउन चार सय स्थानीय बासिन्दाले संयुक्त हस्ताक्षर अभियान सञ्चालन गरी उपमहानगर प्रमुख प्रशान्त विष्टलाई बुझाएका छन् । नेपालगन्जमा गतसाता सञ्चालन गरिएको हस्ताक्षर अभियानमा संकलित हस्ताक्षर नगर प्रमुख विष्टलाई बुझाइएको हो ।

‘हस्ताक्षर अभियानले निकै राम्रो दबाब सिर्जना गरेको छ,’ अभियानको नेतृत्वकर्ता डा. विनोद कर्णले दैनिक नेपालगन्जसँग भने, ‘मेयरसा’बले नयाँ संरचना बन्न नदिने र सिमसार संरक्षणका लागि सकारात्मक रहने प्रतिबद्धता जनाउनु भएको छ ।’

प्राकृतिक सम्पदा संकटमा

ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जका संयोजक डा. विनोद कर्णका अनुसार, अतिक्रमण, फोहोर व्यवस्थापनको अभाव र संस्थागत बेवास्ताका कारण यो अमूल्य प्राकृतिक सम्पदा संकटमा परेको हो । उनले भने, ‘यदि तत्काल संरक्षण गरिएन भने कान्ति तालको जैविक तन्त्र मात्र होइन, जलचर, स्थलचर र चराचुरुङ्गीहरूको वासस्थान समेत पूर्ण रूपमा नष्ट हुने खतरा छ ।’

चार बुँदे मागपत्र

हस्ताक्षरपत्रमा ताल वरपरका सबै किसिमका अतिक्रमण तत्काल हटाउने, फोहोरमैला व्यवस्थापनका लागि दिगो समाधान ल्याउने, स्थानीय समुदायको नेतृत्व अनिवार्य गर्ने र २४ घण्टा निगरानीका लागि सुरक्षागार्डको व्यवस्था गर्नुपर्ने माग राखिएको छ ।

पर्यटन सम्भावना उच्च

हरित अभियन्ता हेमन्तराज काफ्लेले कान्ति ताललाई ‘नेपालगन्जको हरित गहना’ भन्दै संरक्षण भए यसलाई पर्यटकको प्रमुख गन्तव्य बनाउन सकिने बताउनुभयो। यहाँ विभिन्न प्रजातिका चराहरू, विशेषगरी विश्वमै दुर्लभ मानिने सारसको प्रजनन् स्थल रहेको चरा विज्ञहरूको भनाइ छ ।

२५ बिगाहा क्षेत्र, तर संरक्षण अभाव

करिब २५ बिगाहा क्षेत्रमा फैलिएको यस प्राकृतिक ताल वरिपरि उपमहानगरले इँटाको पर्खाल, रेलिङ, सात मिटर कालोपत्र सडक, डेढ मिटर फुटपाथ र दुई मिटर पार्किङ क्षेत्र निर्माण गरे पनि संरक्षणको कमीले पर्खाल भत्काउने, इँटा चोरी गर्ने, फोहोर फाल्ने र मादक पदार्थ सेवन गर्ने स्थानमा रूपान्तरण हुँदै गएको छ ।

नेपालगन्ज–२१ का वडाध्यक्ष राजकुमार शाहु तेलीले वडा कार्यालयले कान्ति तालको संरक्षणलाई गम्भीर रूपमा लिएको बताउँदै तत्काल सुधारात्मक कदम चालिने आश्वासन दिए ।

Exit mobile version