‘नेपालगन्ज–दिल्ली उडानले खुल्नेछ पश्चिम नेपालको समृद्धिको नयाँ ढोका’

नेपालगन्जबाट नयाँ दिल्लीसम्मको सीधा हवाई उडानको सपना अब केवल सम्भावना मात्र होइन, राजनीतिक र प्राविधिक दुवै समर्थन प्राप्त गर्दै हकीकततर्फ अघि बढ्दैछ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले यो उडान पश्चिम नेपालको समृद्धिको लागि ‘गेम चेन्जर’ सावित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको महत्वपूर्ण एजेण्डाका रुपमा नेपालगन्ज दिल्ली उडानको सवाललाई समावेश गर्न पहलकदमीका लागि राजधानी काठमाडौं पुगेका नगर प्रमुख विष्टले मंगलवार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कारमा मेयर बिष्टले भने, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशको समर्थन पाइसकेका छौं ।’

‘सर्वदलीय सहमति बनेको छ, रुट प्रमाणित भइसकेको छ, अब ढोका खोल्ने मात्र बाँकी छ,’ नगर प्रमुख विष्टले नेपालगन्ज एयरपोर्टमा ३ अर्बभन्दा बढीको लगानीमा भएको स्तरोन्नति, दैनिक १२ वटा काठमाडौं–नेपालगन्ज उडान र प्राविधिक क्षमता सबै अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गरे ।

न्गर प्रमुख बिष्टका अनुसार, दिल्ली उडान सुरु भएपछि भारतका तीर्थयात्रीहरुले नेपालगन्ज हुँदै मानसरोवरको यात्रा सहजै गर्न सक्नेछन्, साथै अयोध्याका पर्यटकलाई पनि नेपाल ल्याउन सहज हुने छ । ‘हामी यहाँ १०८ फिट अग्लो हनुमानको मूर्ति बनाउन लागिरहेका छौं, जसले धार्मिक पर्यटनमा नयाँ ऊर्जा भर्नेछ,’ उनले मुस्कुराउँदै पत्रकारहरुसँग भने ।

त्यसै क्रममा नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले दिल्ली उडानलाई ‘दुई देशको आपसी फाइदाको पुल’ भनेर चित्रित गरे । उनले भने, ‘नेपालगन्ज अन्तर्राष्ट्रिय टर्मिनल तयार भइसकेको छ, यहाँ भारतीय वायुसेनाका जहाज सहजै अवतरण भइसकेका छन् । दिल्ली मात्र होइन, मुम्बई र देहरादुनसम्मको उडान पनि सम्भव छ ।’

नेपालगन्ज– दिल्ली उडान दबाब समूहका सदस्यसमेत रहेका नेता कोइरालाका अनुसार, नेपालगन्ज केवल बाँकेकै होइन, कर्णाली र सुदूरपश्चिमका लागि पनि अन्तर्राष्ट्रिय प्रवेशद्वार हो । मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा लगायतका गन्तव्यलाई भारतीय बजारसँग जोड्न सक्ने यो रुट विकासको इन्जिन बन्नेमा उनी विश्वस्त छन् ।

दुवै नेताले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो विषय उच्च प्राथमिकतामा राखिनेमा विश्वस्त रहेको बताए ।

Exit mobile version