सानो ठाउँ छ अम्बा लगाउनुहोस

अम्बा नेपालको उष्ण र समशीतोष्ण क्षेत्रमा पाइने एक महत्त्वपूर्ण फलफूल हो जुन स्वास्थ्य वातावरण र आर्थिक समृद्धिमा सहायक मानिन्छ । यो फल स्वादिलो मात्र होइन, अत्यन्तै पोषणयुक्त हुन्छ । अम्बामा प्रशस्त मात्रामा भिटामिन ’सी’, पोटासियम, फाइबर र एन्टिअक्सिडेन्टहरू पाइन्छन् जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । विशेष गरी भिटामिन ’सी’ को मात्रा अम्बामा सुन्तला भन्दा बढी पाइने भएकाले यसले स्कर्वी रोगबाट जोगाउँछ । साथै अम्बा कब्जियत मधुमेह र उच्च रक्तचापजस्ता रोगहरू नियन्त्रण गर्न पनि उपयोगी मानिन्छ । त्यसैले स्वस्थ जीवनका लागि अम्बाको फल खाने मात्र होइन, यसको बिरुवा पनि घर आँगन वा खेतबारीमा रोप्न आवश्यक छ ।

अम्बाको बिरुवाले वातावरणीय सन्तुलन कायम राख्नमा पनि महत्वपूर्ण योगदान दिन्छ । रूखहरूले वातावरणबाट कार्बन डाइअक्साइड अवशोषण गरी अक्सिजन उत्सर्जन गर्छन्, जुन हाम्रो स्वास्थका लागि अत्यावश्यक छ । अम्बा समेत यस्ता रूखहरूमध्ये एक हो जसले हावाको गुणस्तर सुधार गर्न सहयोग गर्छ । साथै यसको हरियालीले जमिनको सतहमा रहेको माटोलाई जोगाउने भूक्षय रोक्ने गर्दछ । अम्बाको बगैँचाले गाउँ सहर वा विद्यालय क्षेत्रलाई सुन्दर हरियालीयुक्त र शीतल बनाउँछ ।

अम्बाको खेतीले किसानका लागि राम्रो आर्थिक अवसर प्रदान गर्छ । यो एक पटक लगाएर धेरै वर्षसम्म फल दिनसक्ने बोट हो जसको हेरचाह तुलनात्मक रूपमा सजिलो छ । यसका फलहरू ताजा रूपमा बेच्न सकिन्छ, साथै जुस, जाम, अचार, ड्राई अम्बा त्स्था विभिन्न परिकार उत्पादन गरेर घरेलु तथा लघु उद्योगको विकास गर्न सकिन्छ । नेपालका थुप्रै क्षेत्रमा अम्बा खेती व्यावसायिक रूपमा थालनी गरिएको छ र धेरै किसानहरूले यसबाट राम्रो आम्दानी गरिरहेका छन् । कृषि उपजको विविधिकरणका लागि अम्बा एक सस्तो, सुरक्षित र दीगो विकल्प बन्न सक्छ । यदि सरकारले प्राविधिक तालिम नर्सरी र बजारको सहजता उपलब्ध गराउन सके अम्बा नेपालको फलफूल व्यवसायमा ठुलो योगदान पु¥याउन सक्छ ।

अम्बाको सामाजिक सांस्कृतिक र शैक्षिक महत्त्व पनि उल्लेखनीय छ । गाउँघरमा पाहुना सत्कारको क्रममा अम्बा फल दिनु सम्मान र स्वागतको प्रतीक मानिन्छ । यसबाहेक विद्यालय, टोल, अस्पताल, मन्दिर वा सार्वजनिक स्थानहरूमा अम्बाको बिरुवा रोप्नाले बालबालिकामा वातावरणीय चेतना विकास हुन्छ, र उनीहरू प्रकृतिप्रेमी बनाउछ  । अम्बा सबै उमेरका व्यक्तिका लागि मन पर्ने फल हो ।

अम्बाको बिरुवा लगाउनु भनेको केवल फलको लागि मात्र होइन, दीगो विकास हरित भविष्य निर्माण गर्नु हो । यसको रोपाइँ गर्नको लागि उपयुक्त समय मनसुनको मौसम हो, जुन समयमा जमिनमा चिसोपन पर्याप्त हुन्छ । अम्बाको विभिन्न जातहरूमा ‘लखनौ’, ‘चकुन्दा’, ‘सिद्धार्थ’ थाई , एक केजि र कालो जस्ता जातहरू राम्रो मानिन्छन् । बिरुवा लगाउने बेला राम्रो मल जल, उचित दूरी, रेखदेख तथा कीरा नियन्त्रण गर्नु आवश्यक हुन्छ । स्थानीय तह, विद्यालय, संघसंस्था तथा सरकारी निकायहरूले “एक घर–एक अम्बा“, “हरियाली अभियान“ जस्ता कार्यक्रममार्फत यसको प्रचार प्रसार गर्नु आवश्यक छ । आजका दिनमा अम्बाको बिरुवा लगाउनु भनेको स्वास्थ्य, वातावरण र आयआर्जनको साझा समाधान रोज्नु हो । त्यसैले हरेक नागरिकले आफ्नो घर वरिपरि अम्बाको बिरुवा लगाएर राष्ट्रको समृद्धिमा योगदान दिनु अत्यन्त जरुरी छ । अझ अम्बा भएको ठाउमा चरा र माहुरी खुबै देख्न पाईन्छ ।

अम्बा एक बहुपयोगी फलफूल हो जसले मानव जीवनका विभिन्न पक्षहरूमा उपयोगिता राख्दछ । यसको फल स्वादिलो पोषिलो र औषधीय गुणले भरिपूर्ण हुन्छ भने पातले समेत अनेकौं स्वास्थ्य लाभ पु¥याउँछ । अम्बाको फलमा प्रशस्त मात्रामा पोटासियम, फाइबर, एन्टिअक्सिडेन्ट र अन्य खनिज तत्वहरू पाइन्छन् ।

यी तत्वहरूले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्, छालालाई उज्यालो बनाउँछन्, र ग्यास, कब्जियत, पाचन समस्या र रगतको कमी हटाउन मद्दत गर्छन् । अम्बा नियमित सेवन गर्दा मधुमेह, उच्च रक्तचाप, मुटु रोगजस्ता समस्याहरू घट्ने वैज्ञानिक प्रमाणहरू पनि छन् । अम्बाको पात पनि उत्तिकै महत्वपूर्ण छ । यसको हरियो पातलाई उमालेर पिउँदा पेटको कीरा नासिन्छ, मुखको दुर्गन्ध हट्छ र गिजाको रोग नियन्त्रणमा आउँछ । मधुमेह भएका मानिसहरूले अम्बाको पातको पानी सेवन गर्दा चिनी नियन्त्रणमा मद्दत पुग्छ । पातको पेस्ट छालामा लगाउँदा एलर्जी, डन्डिफोर, घाउ वा चर्मरोगहरूमा राहत मिल्ने विश्वास गरिन्छ । आयुर्वेदमा अम्बाको पातलाई प्राकृतिक एन्टिबायोटिक मानिएको छ । यसको पात र फल दुवैले हाम्रो शरीरको आन्तरिक सफा गर्न सहयोग गर्छन् । साथै अम्बाको सेवनले बालबालिकाको वृद्धि र वृद्धहरूको स्वास्थ्यमा पनि सकारात्मक असर पार्दछ । पोषण, रोग निवारण र प्राकृतिक औषधिका रूपमा अम्बा सम्पूर्ण परिवारको स्वास्थ्य सुरक्षामा उपयोगी छ ।

यति मात्र होइन, अम्बाको बिरुवा लगाएर वातावरण संरक्षण, हरियाली विस्तार र आर्थिक आम्दानी समेत गर्न सकिन्छ । यसैले अम्बालाई केवल एउटा फल नभई आयुर्वेदिक उपचार पोषणको स्रोत र वातावरणीय सहयोगीका रूपमा पनि चिनिनु उपयुक्त हुन्छ । जीवनका प्रत्येक पक्षमा उपयोगिता भएको अम्बा र यसको पातले हामीलाई स्वस्थ, सबल सजग जीवनतर्फ डोर्याउँछ त्यसैले यसको संरक्षण र उपयोगिता प्रति सचेत हुन अत्यन्त जरुरी छ ।

Exit mobile version