नेपालगन्जमा ई–रिक्सा अराजकता

दुर्घटना र अव्यवस्थाले नगरवासी त्रसित

वरिष्ठ चिकित्सक डा. विनोद कर्णले नेपालगन्जमा अनियन्त्रित रूपमा बढिरहेको ई–रिक्सा सञ्चालनलाई तत्काल वैज्ञानिक ढंगले व्यवस्थापन नगरे आगामी दिनमा यो ‘भयावह चुनौती’मा रूपान्तरण हुने चेतावनी दिएका छन् ।

वरिष्ठ प्लाष्टिक सर्जन डा. कर्णले पछिल्ला घटनालाई विश्लेषण गर्दै भनेका छन्, विगत ३–४ वर्षदेखि यो समस्याबारे सरोकारवाला निकायलाई सचेत गराए पनि विशेष चासो नदिइएकोले अहिले ई–रिक्सा अराजकता र दुर्घटनाको मुख्य कारण बन्दै गएको छ ।

डा. कर्णका अनुसार, उनले मात्र दैनिक ३–४ जना ई–रिक्सा दुर्घटनाका घाइतेहरूको उपचार गर्दै आएका छन् । नगरस्तरको तथ्याङ्क अझै डरलाग्दो हुने अनुमान उनले गरेका छन् ।

हालैको एक उदाहरण उल्लेख गर्दै उनले दैनिक नेपालगन्जसँग भने – वडा नं. १५ मा घर नजिकै खेलिरहेका एक बालकलाई तीव्र गतिमा आएको एक ई–रिक्साले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । चिकित्सक कर्णको टोलीको उपचारपछि ती बालक घर फर्किए पनि यस्ता पीडितहरू धेरै रहेको उनको भनाइ छ ।

ई–रिक्साको अनियन्त्रित संख्या, चालकहरूको कमजोर तालिम, ट्राफिक नियमको उल्लंघन, र अव्यवस्थित पार्किङले शहरको सौन्दर्यमा नकारात्मक असर पार्दै गएको सर्वविदित छ । पैदल यात्री र साइकल चालकहरूका लागि सडकमा हिँड्नसमेत असुरक्षित बनेको छ ।

ग्रीन नेपालगन्ज, क्लीन नेपालगन्जका संयोजकसमेत रहेका डा. कर्णले ई–रिक्सा व्यवस्थापनलाई अब ढिलाइ नगरी वैज्ञानिक रूपमा कार्यान्वयन गर्न सबै सरोकारवाला निकाय र नागरिकलाई हातेमालो गर्न आह्वान गरेका छन् ।

‘सबैले हातेमालो गरौं, ई–रिक्साको वैज्ञानिक व्यवस्थापनमा जुटौं, अझै भयावह स्थिति आउनबाट रोकौं,’ उनले जोड दिए । सामाजिक अभियन्तासमेत रहेका डा. कर्णले आफ्नो फेसबुक पेजमार्फत पनि निरन्तर यसबारे अपील गरिरहेका छन् ।

Exit mobile version