वीन बाँकेमा रेवती सिंहको नेतृत्व

कोहलपुर नगर, लुम्बिनी प्रदेश हुँदै महिला उद्यमी महासंघको संरचना देशभर विस्तार

महिला उद्यमी संघ बाँकेको ११ औं जिल्ला अधिवेशनले रेवती सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । बुधवार भएको अधिवेशनले आगामी दुई वर्षका लागि निर्वाचित सिंह यसअघि संघ बाँकेको प्रथम उपाध्यक्षको जिम्मेवारीमा रहेकी थिइन् ।

नव निर्वाचित पदाधिकारीमा प्रथम उपाध्यक्ष आभा गौतम, द्वितीय उपाध्यक्ष सुनिता पाण्डे, तृतीय उपाध्यक्ष सरिता शाक्य, महासचिव विन्दु चर्तिमगर, सचिव सुष्मा सुवेदी र कोषाध्यक्ष कुसुम दुगड रहेका छन् ।

त्यस्तै, सदस्यमा सुष्मा ज्ञवाली, शशी स्वाँर, सरिता चौधरी, शोभा दमारी श्रेष्ठ, गिता मौर्य, रेखा बोथरा, धनमाया लुइँटेल (ऋचा), सरस्वती थापा, बसन्ता शर्मा र सिमिता राणा निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेश र कोहलपुर नगर समितिको विस्तार

महिला उद्यमी महासंघ नेपालले तीनै तहमा आफ्नो उपस्थिती बढाउने रणनीति अन्तर्गत बुधबार लुम्बिनी प्रदेश समिति र कोहलपुर नगर समिति विस्तार गरेको छ ।

लुम्बिनी प्रदेश समितिको अध्यक्षमा बाँकेकी महिला उद्यमी सरस्वती शर्मा पराजुली चयन भएकी छन् । ९ सदस्यीय तदर्थ समितिमा उपाध्यक्ष सुनिता चन्द राना (पाल्पा), सचिव अनिता खड्का (रुपन्देही), कोषाध्यक्ष अन्जु गुरुङ (बाँके) र सदस्य यशोदा पाण्डे (दाङ), कल्पना कुँवर (कपिलवस्तु), उमा पन्त क्षेत्री (बर्दिया), हिरा घले गुरुङ (रोल्पा) र निर्मला खत्री (गुल्मी) रहेका छन् ।

यसअघि महासंघले कोसी र कर्णाली प्रदेश स्तरमा समिति विस्तार गरिसकेको छ, र बाँकी प्रदेशमा पनि क्रमिक रूपमा विस्तार गर्ने योजना रहेको केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन् ।

कोहलपुरमा अञ्जना पाण्डेको नेतृत्व

कोहलपुर नगर समितिको अध्यक्षमा अञ्जना पाण्डे चयन भएकी छन् । समितिमा शारदा शर्मा, शान्ति गैरे, कल्पना शर्मा, राधा गौतम, शारदा थापा खतिवडा, रिता चन्द योगी, गिता बिक, दुर्गा बस्नेत, ओकि आलेमगर र सुष्मा घर्तिमगर सदस्य रहेका छन् । पदाधिकारी जिम्मेवारी चाँडै तोकिने गैरेले जानकारी दिइन् ।

‘महासंघ अब प्रदेशदेखि केन्द्रसम्म’

समितिहरूलाई सपथ ग्रहण गराउँदै महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले संघलाई स्थानीय, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्म सुदृढ बनाउने योजना अन्तर्गत विस्तार अभियान अघि बढाइएको बताइन् ।

‘महासंघलाई प्रदेशस्तरमा गठन गर्न सुरु गरेका छौं, हाम्रो लक्ष्य स्थानीयदेखि केन्द्रसम्म महिला उद्यमीको सशक्त संरचना निर्माण गर्नु हो,’ अध्यक्ष ज्ञवालीले भनिन् ।

कार्यक्रममा अध्यक्ष ज्ञवालीले देशमा महिला उद्यम क्षेत्रको दिगो विकासका लागि राज्यले नीतिगत सुधार गर्न जरुरी रहेको बताइन् ।

‘महिला उद्यमीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा हामी केन्द्रस्तरमा बसेर नीतिगत पहल गरिरहेका छौं, महिला उद्यमीको क्षमता वृद्धि, नेतृत्व विकास र आर्थिक सशक्तीकरण हाम्रो मुख्य प्राथमिकता हो,’ उनले उद्घाटन कार्यक्रममा भनिन् ।

अध्यक्ष ज्ञवालीका अनुसार, महासंघ अहिले राष्ट्रिय पहिचानका रूपमा स्थापित भइसकेको छ, र यस संस्थाको जन्मस्थान नै बाँके हो ।

‘बाँके जिल्लाबाट जन्मेको यो संस्था आज केन्द्रसम्म पुगेको छ, जसमा यहाँका महिला उद्यमी दिदीबहिनीहरूको ठूलो योगदान छ,’ उनले जोड दिइन् ।

युवालाई लक्षित गर्दै स्वदेशमै रोजगारी सिर्जना

स्वदेशमै उद्यम गरेर रोजगारी सिर्जना गर्न युवालाई प्रेरित गर्न महासंघले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै अध्यक्ष ज्ञवालीले आफ्नै देशमा उत्पादन गरिएका वस्तुबाट आफ्नै देशमा रोजगारी दिनका लागि ३ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि २५ लाख रुपैयाँसम्मको सहुलियत ऋण उपलब्ध गराउन नीतिगत पहल भइरहेको बताइन् ।

महासंघले बाँकेमा सञ्चालन गरेको कोसेली घरको प्रशंसा गर्दै उनले नेपाली महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरू अष्ट्रेलियासहित विभिन्न देशमा निर्यात भइरहेको तथ्य प्रस्तुत गरिन् ।

अधिवेशनमा सम्मान र सहभागिता

महिला उद्यमी संघ बाँकेका अध्यक्ष सावित्रा बस्नेतको सभापतित्व र नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्मा पराजुली, महासंघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष शिला नेपाली, लायन्स क्लबका डिष्ट्रिक गर्भनर ज्ञानेन्द्र श्रेष्ठ, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेल लगायतका अतिथिहरूले उद्यम र महिला सशक्तीकरणबारे धारणा राखेका थिए ।

त्यसक्रममा, नगर प्रमुख विष्ट, केन्द्रीय अध्यक्ष ज्ञवाली, केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदीप छाजेड, संघका सल्लाहकार हरि सुवेदी र कमल खत्री, कार्यालयका व्यवस्थापक मिना चौधरीलगायतलाई संघप्रति पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो ।

Exit mobile version