लागुऔषध, हतियार र नगद सहित लोनिया प्रहरी नियन्त्रणमा

प्रहरीले लागुऔषध, हतियार र ठूलो परिणामको नगद सहित एक युवालाई नेपालगन्जबाट पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१४ उदयपुर बस्ने २८ वर्षीय रमेश लोनियालाई प्रहरीले चेकजाँच र पछि उनको घर खानतलासी गर्दा लागुऔषध, घरेलु हतियार, नगद तथा गरगहना फेला परेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मंगलबार राति नेपालगन्ज–१४ उदयपुरका २८ वर्षीय रमेश लोनियालाई १५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो । लोनियालाई नियन्त्रणमा लिएपछि उनको घर खानतलासी गर्ने क्रममा नेपाली र भारतीय गरी २२ लाख ३ हजार ९ सय १५ रूपैयाँ र विभिन्न गरगहना, ५ थान खुकुरी, २ थान मोटरसाइकल र १० वटा मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिएका छन् ।

‘प्रारम्भिक अनुसन्धानमा लोनिया लागुऔषध काराबोरी हुनसक्ने अनुमान गरिएको छ’, डिएसपी पातलीले भने, ‘जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान अगाडि बढाएका छौं ।’

प्रहरीले लोनियाको घरबाट चाँदी जस्तो देखिने सेतो धातुका गहना खुट्टामा लगाउने कंडा २ थान, बाला २ थान, औठी ३३ थान, सिक्सा २१ थान, कानमा लगाउने रिङ ४ थान, कानमा लगाउने झुम्का ४ थान, जन्तर १ थान, ब्रासलेट ५ थान, पायल १४ थान, माला ५ थान, ठुलो माला ३ थान, नाकमा लगाउने नथी १ थान, हातमा लगाउने ब्रास्लेट २ थान (महिलाले लगाउने), पायल ठुलो २ थान, टुक्राहरू सानो ठुलो ११ थान बरामद गरेको हो ।

Exit mobile version