१३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी

लुम्बिनीका कारागारमा दुई सय ४६ भारतीय

लुम्बिनी प्रदेशका ११ जिल्लामा रहेका १३ कारागार मध्ये १० वटा कारागारमा भारतीय कैदी तथा थुनुवा रहेका छन् । भारतीय कैदी तथा थुनुवाको संख्या लुम्बिनीमा संख्या २ सय ९६ जना रहेको छन् । जसमा सबैभन्दा बढी बाँकेका दुई वटा कारागारमा रहेको छ । कारागार व्यवस्थापन विभागका अनुसार, असार मसान्तसम्म नेपालगन्ज कारागारमा ५८ जना र नौबस्ता कारागारमा ५२ जना भारतीय कैदी तथा थुनुवा रहेका हुन् ।

लुम्बिनीको नवलपरासी पश्चिम कारागारमा ४० जना, पाल्पामा ४ जना, अर्घाखाँचीमा १ जना, कपिलवस्तुमा २० जना, रूपन्देहीमा ३७ जना, तुलसीपुरमा १२ जना, घोराहीमा ८ जना, बर्दियामा १३ जना भारतीय कैदी तथा थुनुवा रहेका हुन् । देशभरका कारागारहरूमा १ हजार ४ सय २७ जना विदेशी नागरिक छन् ।

लुम्बिनीमा करिब ५ हजार कैदी तथा थुनुवा
हाल झण्डै ५ हजार कैदी तथा थुनुवा रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार, असार मसान्तसम्म लुम्बिनी प्रदेशका कारागारहरूमा ४ हजार ८ सय ९४ कैदी तथा थुनुवा रहेका हुन् । तीमध्ये ४ हजार ६ सय ४६ जना पुरुष र २ सय ४८ जना महिला छन् । ती मध्ये कैदीको संख्या ३ हजार ६ सय ३९ र १ हजार २ सय ५५ थुनुवा रहेका छन् ।

सबैभन्दा धेरै कैदी–थुनुवा बाँकेमा रहेका छन् । बाँकेको नेपालगन्ज कारागारमा ७ सय ३१ जना कैदी तथा थुनुवाई रहेको कारागार विभागको तथ्यांक छ । लुम्बिनीको नवलपसारी कारागारमा ५ सय ६३, पाल्पमा २ सय ४७, अर्घाखाँचीमा ७७, गुल्मीमा १ सय ८, रोल्पामा १ सय २४, प्युठानमा ९७, कपिलवस्तुमा ४ सय ५३, रूपन्देहीमा ५ सय ९१, तुलसीपुरमा ४ सय ६७, घोराहीमा ४ सय ३८, नौबस्तामा ५ सय ७४ र बर्दिया कारागारमा ४ सय २४ जना कैदी तथा थुनुवा रहेका छन् ।

देशभर ७५ कारागारमा २८ हजार बढी कैदी तथा थुनुवा
नेपालका ७२ वटा जिल्लामा ७५ कारागार छन् । ती कारागारहरूमा थुनुवा र कैदी गरेर जम्मा २८ हजार ७१८ जना छन् । थुनुवातर्फ ९ हजार ८३९ पुरुष र ५९६ जना महिला गरी जम्मा १० हजार ४३५ जना छन् । यसैगरी कैदीतर्फ १७ हजार ३२९ पुरुष र ९५४ जना महिला गरी कूल १८ हजार २८३ जना छन् । यीमध्ये ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक ६६ जना र आश्रित बालबालिका ६४ जना छन् ।
नेपालमा सञ्चालित कूल ७७ कारागारहरूमा क्षमताभन्दा ६७ प्रतिशत बढी पुरुष बन्दी रहेको गृह मन्त्रालयले जनाएको छ । तर महिला बन्दी भने कारागारको क्षमता अनुसार नै रहेको मन्त्रालयले जनाएको छ ।

बुधबार संसदीय समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको असार मसान्तसम्मको तथ्यांक अनुुसार देशभरका कारागारमा रहेका पुरुष ब्लकको कूल क्षमता १६ हजार ६२५ जना हो । तर ती पुरुष ब्लकहरूमा २७ हजार १६८ जना पुरुष बन्दीहरू छन् ।

‘यस तथ्यांकले प्रत्येक कारागारमा क्षमताभन्दा औसतमा ६७ प्रतिशत बढी देखिन्छ,’ कानून, न्याया तथा संसदीय मामिला समितिको बैठकमा लेखकले भने, ‘अर्को शब्दमा भन्दा एक सय जनाको क्षमता भएको कारागारमा औसतमा सरदर १ सय ६७ जनालाई राख्नु परेको अवस्थामा हामी छौं ।’

उनले महिलातर्फ देशभर सञ्चालनमा रहेका ५० वटा कारागारको क्षमता २ हजार ५ सय १ जना रहेकामा महिला बन्दीको संख्या १ हजार ५५० जना छन् । ‘यो क्षमता भित्रै छ । यसले समस्या छैन,’ उनले भने ।

प्रतिवेदनको सुझाव अनुसार काम ः मन्त्री चौरसिया
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कैदीबन्दीहरूलाई सरकारले निःशुल्क कानुनी सहायता उपलब्ध गराएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कैदीबन्दीहरू सबैले कानुनी सहायता पाएको जिकिर गरे ।

कारागार अध्ययन, थुनुवा कोठाहरूको अध्ययन र कारागारमा रहेका बन्दीहरूको अवस्थाको सम्बन्धमा पनि अध्ययन प्रतिवेदनको सुझावअनुसार काम भइरहेको उनले बताए ।
‘कानुन सुधारका कुराहरू पनि उठेका छन् । कानुन सुधारका कुरामा सांसदज्यूहरूले कारागार अध्ययन, थुनुवा कोठाहरूको अध्ययन र कारागारमा रहेका बन्दीहरूको अवस्थाको सम्बन्धमा सभापतिजीकै अध्यक्षमा भएको बैठकबाट प्रतिवेदन दिनुभएको छ । कानुन सुधारका कुराहरू अघि बढाएको छ,’ मन्त्री चौरसियाले भने ।

Exit mobile version