व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

नेपालगन्ज उपमहानगरपालिकामा रहेको स्प्रिङडेल एकेडेमीका कक्षा ६ र ७ का विद्यार्थीहरूले शनिबार विद्यालयमै नगरसभाको नमूना अभ्यास गरेका छन् । विद्यालयले दोस्रो पटक आयोजना गरेको यो नमूना नगरसभा कार्यक्रममा विद्यार्थीहरूले पालिकाको वास्तविक सभाको वातावरण जस्तै जनप्रतिनिधि, कार्यपालिका र समिति सदस्यको भूमिका निर्वाह गर्दै अभ्यास गरेका हुन् ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल शरद चन्द्र रावलले शिक्षणलाई व्यवहारसँग जोड्नु आजको आवश्यकता भएको भन्दै विद्यालयले पाठ्यक्रमसँगै जीवनोपयोगी र व्यावहारिक ज्ञानमा पनि जोड दिँदै आएको बताए । उनका अनुसार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई विभिन्न तहका सभाको अभ्यास गराउँदै आएको छ । कक्षा ६ र ७ का विद्यार्थीलाई नगरसभा, कक्षा ८ र ९ का विद्यार्थीलाई प्रदेशसभा, कक्षा १० देखि १२ का विद्यार्थीलाई प्रतिनिधि सभा र सबै तहका विद्यार्थीलाई संयुक्त राष्ट्रसंघको नमूना सभा आयोजना गर्ने परम्परा विद्यालयले कायम गरेको छ ।

सामाजिक विषयकी शिक्षिका निशा रावलले विद्यार्थीहरूले नमूना नगरसभामा समूहगत छलफल, नियमावली निर्माण, प्रस्ताव प्रस्तुत गर्ने, बहस गर्ने जस्ता कार्यमार्फत नेतृत्व, संवाद र सहकार्यको अभ्यास गरेको बताइन् । उनले चार वटा अलग–अलग समिति बनाएर विद्यार्थीलाई जिम्मेवारी बाँडिएको र सबैले आफ्नो भूमिका प्रभावकारी ढङ्गले निर्वाह गरेको जानकारी दिइन् ।

त्यस्तै, विद्यालयकी भाइस प्रिन्सिपल विना सिंहले नमूना सभामात्र नभई विद्यार्थीलाई वास्तविक सभा, प्रदेशसभा र विभिन्न सरकारी निकायको प्रत्यक्ष अवलोकन भ्रमणमा पनि लैजाने गरेको बताइन् । उनका अनुसार, यस किसिमको अभ्यासले विद्यार्थीहरूलाई राजनीतिक प्रणाली, नीति निर्माण प्रक्रिया र निर्णय कार्यान्वयनको विधि बुझ्न मद्दत पुग्छ ।

शैक्षिक क्षेत्रमा यस्ता अभ्यासले विद्यार्थीमा आत्मविश्वास, सार्वजनिक बोल्ने क्षमता, विश्लेषणात्मक सोच, समस्या समाधान गर्ने सीप र नेतृत्व कौशल विकासमा ठुलो योगदान पु¥याउने विद्यालयको विश्वास छ । साथै, यसले उनीहरूलाई जिम्मेवार नागरिकका रूपमा तयार गराउने र आगामी दिनमा सामाजिक, राजनीतिक वा प्रशासनिक क्षेत्रमा सक्रिय योगदान दिन सक्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

Exit mobile version