बहसको विषयः संविधान संशोधनको चाहना, यथार्थ र चुनौतीहरु

हुन त संविधान समयको माग र आवश्यकता अनुसार परिवर्तन गर्न मिल्ने राष्ट्रको अमुल्य दस्तावेज हो । तथापि नेपालको संविधान (२०७२) चाहिँ जन चाहना अनुरूप दुई दुई पटकको निर्वाचित संविधानसभा सदस्यबाट बनेको एक ऐतिहासिक दस्तावेज हो । जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको पथमा अघि बढाएको छ । दुई पटक जननिर्वाचित संविधानसभाद्वारा लिखित नेपालको संविधान २०७२ मूलतः प्रगतिशील छ, धेरै धारा प्रगतिशील छन् जस्तैः महिला, दलित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने आदि । तथापि राजनीतिक अस्थिरताका कारण बारम्बार संशोधन गर्न खोज्दा संविधान नै अस्थिर देखिने खतरा रहन्छ । किनकि यसको व्यावहारिक कार्यान्वयनमा अनेक समस्याहरु देखिएका छन् । जस कारण यसलाई समयानुकूल र सबै समुदायलाई अझ न्यायसंगत बनाउन सीमित तर आवश्यक संशोधन गर्नुपर्ने देखिन्छ । प्रतिनिधित्व र समावेशीता अझैं प्रष्ट छैन् । जस्तै महिला ३३ प्रतिशत त भनियो तर कुन समुदायको जनसंख्याका आधारमा महिलाको प्रतिनिधित्व कति हुनेछ भनी किटान गरिएन् । जसको फलस्वरूप मधेसी, मुस्लिम, थारु, जनजाति, महिला र सीमान्तकृत वर्गले अझै पूर्ण समानता र समावेशी प्रतिनिधित्व पाएको महसुस गरेका छैनन् । यसको साथै नागरिकता सम्बन्धी धारा विवादित छ, विशेषगरी जन्म, वंशज र विवाहमार्फत नागरिकता दिने प्रक्रियामा स्पष्टता छैन् । अनि  न्यायालय, प्रदेश र स्थानीय तहबीचको अधिकारसम्बन्धी स्पष्टता छैन् । जसलाई सुधार्नुपर्ने माग निरन्तर उठिरहेको छ।

हुन त यी मागहरू प्रगतिशील र बहस योग्य छन्  तापनि नेपालको वर्तमान राजनीतिक संरचना, सामाजिक विविधता, भौगोलिक विकटता र संघीय अभ्यासलाई हेर्दा तत्काल कार्यान्वयन योग्य छैनन् । यसलाई अझ् सहज तरिकाले बुझ्नका लागि छिमेकी मुलुक भारत जस्तो संघीय लोकतान्त्रिक मुलुकसँग तुलना गरी हेर्दा नेपालको लागि मार्गदर्शन हुनेछ । किनकि नेपाल र भारतको सामाजिक अवस्था, धार्मिक मुल्यमान्यता, राजनैतिक चेतनाको अवस्था, भेषभूषा, भाषा, संस्कृति र संस्कार करिब करिब मिल्दोजुल्दो नै छन् ।

 हाल कार्यकारी प्रमुख (प्रधानमन्त्री वा राष्ट्रपति) लाई प्रत्यक्ष जन निर्वाचन मार्फत चुनिनु पर्ने माग उठेकोछ । यसले राजनीतिक स्थायित्व ल्याउने, सरकार परिवर्तनको अस्थिरता घटाउने र मतदातासँग सीधा जवाफदेहिता बढाउने उनीहरुको विश्वास रहेकोछ । तथापि नेपालको सन्दर्भमा यो कुरा गरिहदाँ भौगोलिक विकटता, नागरिक शैक्षिक र सचेतनाको अवस्था, आर्थिक विपन्नता, जातीय विविधतालाई मनन गर्न आवश्यक रहेकोछ । साथै यो पनि स्मरणीय कुरा हो कि नेपालको संविधान संसदीय प्रणालीमा आधारित छ । जुन प्रणालीमा संसदबाटै प्रधानमन्त्रीको निर्वाचन हुन्छ र संसदमै बहुमतको आधारमा सरकार निर्माण हुन्छ । यदि प्रत्यक्ष कार्यकारीको प्रणाली ल्याइयो भने संसद कमजोर हुन्छ र कार्यपालिका अत्यधिक शक्तिशाली बन्ने खतरा रहन जान्छ । संविधानको व्यापक पुनर्लेखन बिना यस्तो परिवर्तन सम्भव नै छैन् । संघीय प्रणालीमा प्रदेश र केन्द्रबीच शक्ति सन्तुलन समेत बिग्रन सक्नेछ । भारतको उदाहरण हेर्दा भारतले पनि संघीय लोकतान्त्रिक प्रणालीलाई नै अंगालेको छ । त्यहाँ प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुँदैनन् । संसदमा बहुमत प्राप्त दल वा गठबन्धनबाटै सरकार बनाइन्छ । यसरी भारतले स्थायित्व भन्दा बढी विविध समाजलाई प्रतिनिधित्व दिने अभ्यासलाई प्राथमिकता दिएको छ । जुनकि नेपालको लागि अनुकरणीय छ । 

नेपालमा मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक) लागु रहेको छ । यस प्रणालीले समावेशीता र विविधतालाई सुनिश्चित गर्न ठूलो योगदान दिएको छ । जसमा सुधार गरेर प्रत्यक्ष निर्वाचनलाई बढी प्राथमिकता दिनुपर्ने माग गरिएकोछ । उनीहरूको तर्क अनुसार समानुपातिक प्रणालीले अस्थिरता बढाउँछ । दलहरूको संख्या अत्यधिक बढाउँछ र ठूला निर्णयमा अवरोध खडा गर्छ । तर पूर्णतया प्रत्यक्ष प्रणालीमा जानु नेपालमा हाल व्यावहारिक रुपमा सम्भव छैन् । समानुपातिक प्रणाली नै यहाँ रहेका सीमान्तकृत समुदाय, महिला र अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रमुख माध्यम हो । यो हटाइयो भने प्रतिनिधित्व फेरि असमान बन्ने खतरा छ ।

भारतको उदाहरण हेर्दा भारतले पूर्णतया प्रत्यक्ष निर्वाचन प्रणाली प्रयोग गर्छ (लोकसभा निर्वाचन) तर आरक्षणमार्फत दलित, आदिवासी, महिला र पछाडि परेका वर्गको प्रतिनिधित्व सुनिश्चित गर्छ । नेपालमा आरक्षण प्रणाली अझै संस्थागत भइसकेको छैन् , त्यसैले समानुपातिक प्रणाली हटाउन मिल्दैन् ।

सांसदलाई मन्त्री बन्न नपाउने प्रावधान

विधायिका र कार्यपालिका स्पष्ट रूपमा छुट्याउन सांसदलाई मन्त्री बन्न नदिनु पर्ने प्रस्ताव गरिएकोछ । उनीहरूको तर्क अनुसार यसले संसदलाई शुद्ध नीति निर्माण गर्ने निकायमा सीमित गर्छ र सरकारलाई विशेषज्ञहरूले चलाउने अवसर दिन्छ । तर नेपालको वर्तमान संरचना हेर्दा यो सम्भव छैन् । नेपालको संविधान संसदीय प्रणालीमा आधारित छ, जसमा संसदकै सदस्यबाट सरकार बनाइन्छ । यदि सांसदलाई मन्त्री बन्न दिइएन भने संविधानको मूल संरचना नै बदल्नुपर्छ । भारतको उदाहरण हेर्दा भारतमा पनि सांसद वा राज्यसभाका सदस्य मन्त्री बन्न सक्छन् । यसले विधायिका र कार्यपालिकाका बीच समन्वय कायम गरेको छ । नेपालले भारतीय प्रणालीसँग मिल्दोजुल्दो शासन अभ्यास नै गरिरहेको छ ।

 नेतृत्व हस्तांतरण होस् भनेर जेन जीले पुराना नेताहरूलाई हटाएर नयाँ पुस्तालाई मौका दिनको लागि यो माग गरेका छन् जुनकि जायज हो । उनीहरूको तर्क अनुसार कार्यकालमा सीमा राख्दा नेतृत्वमा नवीकरण हुन्छ । तर लोकतन्त्रको मूल मर्म नै जनताले मन पर्ने नेतालाई जति पटक चाहे निर्वाचित गर्न पाउने स्वतन्त्रता हो । कार्यकालमा सीमा राख्दा मतदाताको अधिकार नै सीमित हुन्छ । भारतको उदाहरण हेर्ने हो भने भारतमा प्रधानमन्त्री वा सांसदका लागि कार्यकालमा कुनै सीमा छैन् । जवाहरलाल नेहरू, इन्दिरा गान्धी, मनमोहन सिंह, नरेन्द्र मोदी जस्ता नेताहरू लामो समयसम्म सत्तामा रहन सके । जनताको निर्णयलाई नै लोकतन्त्रको बलियो आधार मानिन्छ ।

उसो भए हाल नेपालको प्राथमिकता के हुनुपर्छ भनी बहस र परिचर्चा गरिनु अति आवश्यक छ ।

हो जेन जीले उठाएका चारै माग प्रगतिशील छन् तर नेपालको भौगोलिक, राजनीतिक, सामाजिक, शैक्षिक र संवैधानिक संरचनाले तत्काल त्यसलाई स्वीकार गर्न सक्ने अवस्था छैन् । तसर्थ अहिले नेपालको प्राथमिकता हाल यी हुनुपर्छ, जुनकि तल उल्लेख गरिएकाछन् ।

नागरिकता विवाद समाधानः वंशज, विवाह र जन्मका आधारमा नागरिकता दिने प्रक्रियामा देखिएको अस्पष्टता हटाउनुपर्छ ।

अधिकारको स्पष्टताः केन्द्र, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँड अझै स्पष्ट छैन् सो अधिकार क्षेत्र सहित कार्य विभाजन र दिशा निर्देशन हुनुपर्छ  ।

प्रतिनिधित्वमा समानताः महिला, मुस्लिम, मधेसी, थारु, दलित अल्पसंख्यक र अन्य सीमान्तकृत समुदायलाई निर्णायक भुमिका सहितको समानुपातिक अवसर सुनिश्चित गर्नुपर्छ ।

न्यायपालिका र कार्यपालिकाको सम्बन्धः स्वतंत्रता पार्दर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने खालको सुधार आवश्यक छ।

हो संविधान संशोधनको बहस आवश्यक छ, तर हाल सम्भव नरहेको मागलाई तत्काल पूरा गर्न खोज्दा संविधान नै अस्थिर बन्न सक्छ । अनि संविधान देशको एक ऐतिहासिक दस्तावेज हो, जुनकि पटक पटक फेर्न सम्भव छैन् । जेन जीको आवाज महत्त्वपूर्ण छ, यसले भविष्यको दिशा निर्देश गरेकोछ । संविधान संशोधन दीर्घकालीन सहमति र व्यावहारिक प्राथमिकतामा आधारित हुनुपर्छ । भारत जस्तो संघीय लोकतान्त्रिक मुलुकले पनि प्रत्यक्ष कार्यकारी, सांसदलाई मन्त्री बन्न नदिने वा कार्यकालमा सीमा राख्ने अभ्यास अंगालेको छैन् । त्यसैले नेपालले पनि यस्ता अभ्यासलाई तत्काल लागू गर्ने होइन्, सन्दर्भ अनुसार अध्ययन गर्ने मात्र बाटो खुला राख्नुपर्छ । संविधानलाई समय सापेक्ष परिमार्जन गर्दै लैजाने परिपाटी आवश्यक छ । यद्यपि यसले स्थायित्व, समावेशीता र लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने खतरा छैन् भन्ने कुरा एकदमै सुनिश्चित हुनुपर्छ । संविधानलाई सुधार्ने काम राजनीतिक सहमति, नागरिक समाजको सहभागिता र जनताकै चाहनामा आधारित हुनुपर्छ । स्थायित्वका लागि लचिलोपन, समानता विकास र निकासको लागि सुधार । नेपालका लागि अहिलेको मूलमन्त्र हुन सक्छ ।

जबकि माथि उल्लेख गरिएका यी मुद्दा जस्तैः नागरिकता विवाद समाधान, संघीय सरकारका अधिकारको स्पष्टता, प्रतिनिधित्वमा समानता र न्यायपालिका र कार्यपालिकाको सम्बन्धमा स्वतंत्रता र जवाफदेहिता सुनिश्चित गर्ने खालको सुधार आवश्यक छ । जुनकि संविधान संशोधनबाट नै सम्भव छ । संविधान संशोधनका केही प्रकृयाहरु छन् जस्तैः संविधान संशोधन प्रस्ताव मार्फत पनि गर्न सकिन्छ । यसै गरी संसदमा संशोधन समिति बनाएर अध्ययन अनुसंधान गरी मस्यौदा तयार गरेर सुझाव पेस गर्न सकिन्छ । अनुमोदन प्रकृयाबाट पनि गर्न सकिन्छ ।

नेपालको संविधान २०७२ भित्र संविधान संशोधन गर्ने प्रक्रिया स्पष्ट रूपमा व्यवस्था गरिएको छ । हालको अवस्थामा संविधान संशोधन गर्न सकिने विधि र प्रावधानलाई संक्षेपमा यसरी बुझ्न सकिन्छ । संविधानको भाग ३४ धारा २७४ मा संविधान संशोधन सम्बन्धी प्रावधान राखिएको छ। संघीय संसद्को कुनै पनि सभाको सदस्य (प्रतिनिधिसभा वा राष्ट्रियसभा) ले संविधान संशोधनको विधेयक दर्ता गर्न सक्छ । प्रस्ताव संसदमा दर्ता हुन्छ । प्रतिनिधिसभामा दर्ता भएको खण्डमा राष्ट्रियसभामा पठाइन्छ, वा राष्ट्रियसभामा दर्ता भएको खण्डमा प्रतिनिधिसभामा पठाइन्छ । दुबै सदनले त्यस्तो विधेयकलाई दुई तिहाइ बहुमतले पारित गर्नुपर्छ दुबै सदनले दुई तिहाइ बहुमतले पारित गरेपछि मात्र उक्त संशोधन विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लागु हुन्छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, सार्वभौमसत्तामा निहित अधिकार, नेपालको स्वाधीनता र सार्वभौमिकता सम्बन्धी प्रावधान संशोधन गर्न पाइँदैन् । यी विषयमा संविधानमा संशोधन प्रस्तावै ल्याउन सकिँदैन् । नेपालमा हाल संसदमा संविधान संशोधन गर्न दुई तिहाइ बहुमत अत्यावश्यक छ । जुनसुकै दल वा गठबन्धनले यस्तो बहुमत प्राप्त नगरे सम्म संशोधन सम्भव हुँदैन् । संविधान संशोधनका लागि सामान्यतया बृहत सहमति र दलगत सहकार्य आवश्यक पर्छ । नेपालमा हाल संविधान संशोधन गर्न धारा २७४ अनुसार संसदमा विधेयक दर्ता गरी, दुबै सदनको दुई तिहाइ बहुमतबाट पारित गरी राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु पर्ने प्रावधान छ । तर राष्ट्रिय एकता, सार्वभौमिकता र भौगोलिक अखण्डता सम्बन्धी प्रावधान संशोधन गर्न सकिँदैन् । नेपालको सन्दर्भमा अहिले संविधान संशोधन सैद्धान्तिक रूपमा सम्भव भए पनि व्यावहारिक रूपमा कठिन छ । मुख्य कारणहरू यसरी छन् संविधान संशोधन गर्न दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा दुई तिहाइ बहुमत चाहिन्छ ।हाल संसद्‌मा कुनै पनि दल वा गठबन्धनसँग त्यस्तो बहुमत छैन् । दलहरूबीच राजनीतिक ध्रुवीकरण र अविश्वास भएकाले दुई तिहाइ सहमति जुटाउन गाह्रो हुन्छ । सरकार बारम्बार बदलिने, गठबन्धन टुट्ने-जोडिने स्थिति छ । जसले गर्दा दीर्घकालीन नीति तथा ठूला सहमति बन्न दिदैँन् । संविधान संशोधन जस्तो गम्भीर विषयमा स्थिर राजनीतिक वातावरण आवश्यक पर्छ । यहाँ त हाल यो छ कि विभिन्न दलहरूको संविधानप्रति फरक फरक दृष्टिकोण छ । कोही प्रत्यक्ष कार्यकारीको चुनाव माग्छन्, कोही प्रदेश संरचनामा फेरबदल, कोही निर्वाचन प्रणाली परिवर्तन । एकै प्लेटफर्ममा ल्याउन कठिन भएकाले सहजै सहमति बन्न सक्दैन् । 

साथै संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, सीमांकन, भाषा र पहिचान जस्ता विषयहरू निकै विवादास्पद छन् । यी विषयमा जनमत विभाजित भएकाले संशोधन प्रस्ताव ल्याउँदा थप अस्थिरता र विरोध हुने जोखिम बढ्ने सम्भावना रहन्छ । जुनकि सदन देखि सडक सम्म आन्दोलन र विरोध रुप लिन सक्छ । दलहरू यस कारण सचेत छन् । जसले संशोधन प्रक्रियालाई झन् जटिल बनाउँछ । खासमा चुरो कुरा गर्ने हो भने हाल नेपालमा संविधान संशोधन सम्भव नहुनुका प्रमुख कारण भनेको दुई तिहाइ बहुमतको नहुनु, दलगत असहमति हुनु, राजनीतिक अस्थिरता, र संवेदनशील विषयहरूको जटिलता रहेकाछन् ।

संविधान संशोधनको बहस आवश्यक छ, तर असम्भव मागलाई तत्काल पूरा गर्न खोज्दा संविधान नै अस्थिर बन्न सक्छ । अर्थात संविधान एक ऐतिहासिक दस्तावेज हो जुनकि पटक पटक फेर्न सम्भव छैन् । जेन जीको आवाज महत्त्वपूर्ण छ, यसले भविष्यको लागि दिशा निर्देश गरेकै हो । संस्थागत असमानता र भ्रष्टाचार रोक्नका लागि प्रदेशलाई खारेज गर्नुको सट्टा अधिकार सम्पन्न बनाउनु तर्फ जादाँ उचित हुनेछ । किनकि संघीय लोकतांत्रिक समानुपातिक समावेशी प्रणालीबाट नै बहिष्करणमा परेका अल्पसंख्यक समुदायहरूको अधिकार संरक्षण र प्रतिनिधित्व शुनिश्नित गर्ने मान्यता रहिआएकोछ । संविधान संशोधन दीर्घकालीन सहमति र व्यावहारिक प्राथमिकतामा आधारित हुनुपर्छ । साथै सामाजिक विविधताका आधारमा आवश्यकता र जनचाहना कदर गर्दै नेतृत्व परिवर्तन र हस्तांतरण गरिनुपर्छ ।

Exit mobile version