देश समृद्ध बनाउन आफैबाट शुरु गरौें

अहिले हामीहरु दोश्रो ठूलो चाड तिहारको मुखैमा छौं । पर्सीबाट यमपञ्चक शुरु हुन्छ । सबैलाई तिहारको किनमेल गर्नको चटारो छ । कसैलाई छिमेकीको देखासिकीमा किनमेल गर्नुपरेको छ भने कसैलाई फेसबुक र टिकटकमा आएका कुरा अनुसार देखिनुपर्ने भएकोले किनमेल गर्नु छ । कसैलाई भाइरल हुन के के किन्नुपर्छ भनेर किनमेल गर्नुपरेको छ त कसैका बालबच्चालाई जसोतसो तिहार उतार्नको लागि र उनीहरुको चाड नरमाइलो नहोस् भनेर किनमेल गर्नुछ । सबैका आ आफ्नो गच्छे इच्छा र आवश्यकता अनुसारको किनमेल भएकै हुन्छ भन्ने सामान्य मान्यता हो । तर पछिल्ला दिनहरुमा हाम्रा चाडवाड मात्रै होइन सामान्य जिवनचर्याका कुराहरुमा पनि परधर्म, परसँस्कृति र अति एंव उत्ताउलो उपभोक्तावाद हावी हुँदै गएको छ । यसले समाजको वास्तविक मौलिकताको बिनास गरेको मात्रै छैन हाम्रो आफ्नै पहिचान समेत माँसिदै गएको छ । कताकता मानिसहरुका आवश्यताको चुलिमुनि आफै धसिएर नैतिकबिहिन मार्गमा समाज जान थालेको छ । यसले देश समाज र कुलधर्म र समृद्धिको त कुरै छोडौं सामान्य संरक्षण सम्म पनि गर्ने हो कि होइन भन्ने शंका पलाएको छ ।

सामान्यता नेपालको अर्थतन्त्र चलायमानको झण्डै आधाआधी हिस्सा ओगटेका चाडपर्वहरु नै हुन । यसबर्षको दशैं देशमा आएको बाढिपहिरोका कारण दशैंको रौनकतामा अलि खल्लोपना आयो । ब्यापारिहरुलाई पनि त्यति राम्रो उपलब्धिमूलक नभएको भन्ने सुनियो । दशैंको लगत्तै जेनजिको नाउँमा भएको आन्दोलनमा भएको युवाहरुको मृत्यु र देशैभरि गरिएको उत्पात, लूटपाट आगजनिले थप जिउज्यानको मात्रै क्षति गराएन उद्यमीहरुमा ब्यापक निरासा पनि छाएको छ । यसै निरासाको बीचमा अहिले तिहार मुखैमा छ र मानिसहरुका किनमेल चलेको छ ।

हामीले यो देशमा पटकपटक राष्ट्र राष्ट्रियता देशभक्ति आदि इत्यादिको उपमा दिएर गरिएका आन्दोलनहरु देखे भोगेका छौं । देशको रक्षा भन्दै भारतका शहरहरुमा बसेर नेपालभित्र सुरुङयुद्ध र बमबारुदका नाङ्गानाचहरु पनि भोगेका छौं । आफ्नै दाजुभाइले आफ्नैलाई अपहरण गरेको, घर विद्यालयबाट नाबालिकहरु थुतेर दिमाग भुटेर आफ्नैलाई मार्न उक्साएको हिँडाएको पनि भोगेका छौं । पढाउँदै गरेको शिक्षक, पूजा गर्दै गरेको पूजारी, यात्रा गर्दै गरेका जनताहरुको विभत्स हत्या गरिएको पनि देखे भोगका छौं । आफ्नै सम्पदा र सँस्कृतिमा आगो लगाएर, पूजाका थानहरुमा मुतेर परधर्म सँस्कृतिको किताब र झण्डा बोकेर उफ्रेको पनि देखे भोगेका छौं । जातजाति र क्षेत्रियताको मुस्लोमा कोइला बनेको समाज पनि देखे भोगेका छौं । यो सब यहि देश र जनताको नाउँमा, राष्ट्रभक्तिको नाउँमा, जनताको जनजिविकाको नाउँमा, देशको समृद्धि र विकासको नाउँमा भएको पनि आजपर्यन्त सुन्दै देख्दै र भोग्दै आएका छौं ।

यो सब देखाइ भोगाइले नेपाल जस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण भएको देश, भूगोलको हिसाबले न्यून जनसंख्या भएको देश, वीर पूर्खाका पौरखी सन्तान बस्ने देशको समृद्धिको कथा पुरा हुनु त परै जाओस् शुरु सम्मपनि हुन सकेको देखिएन ।

आजसम्म भए गरेका सबै आन्दोलनहरुले जनतामा विध्वंश गर्ने कला, आफ्नैलाई मेट्ने कला, आफ्नालाई सत्तोसराप गरेर अरु पराइका बखान गर्ने कला त सिकायो तर आफ्नो समाजको नैतिकता, आफ्नो मौलिक शिक्षा, स्वास्थ्य, विकासको ढाँचा र नेपाल सापेक्षताको चेतनाको विकास किमार्थ पनि गर्नै सकेन । केहि आइएनजिओका डलरे मिडियाहरु, नेपाललाई अविसित, अशिक्षित, केहिपनि नभएको पछौटेपनको भाष्य बनाएर नराम्रो मात्रै देखाउने बुद्धिजिवीहरुको पनि यसमा ठूलो भूमिका रह्यो । यहि बिन्दुबाट नेपालको समृद्धिको कथा रोकियो । पटकपटक आन्दोलनको नाउँमा विकासको नाउँमा, सभ्यताको नाउँमा, अधिकारको नाउँमा नेपाललाई असुरक्षित, लगानी मैत्री नभएको देशको रुपमा स्थापित गर्दै लगियो । यो अझै जारी छ ।

आज तिहारको रमझमका बीच हरेक दिन लाखौं नेपाली उपभोत्ताहरु सिमापारिको बजारमा लर्को लागेका छन् । आफ्नो खेतबारी बाँझो राखेर बहुराष्ट्रिय कम्पनीको चिसो किन्न देखि भारतीय खेतका चामल किन्न सिमापारि पुगेका छौं । करेसाबारीमा तरकारी नरोपेर अनेकानेक नर्सरीबाट फुल ल्याएरसम्म रोप्ने र तरकारी त पारिका खाने बानी हाम्रो बनिसकेको छ । देशभित्रका खाद्यान्न र मौलिक प्रजातिका फलफूलहरुको बिउ मासेर अनेकानेक विदेशी हाइब्रिट जातका खाद्यान्न र तरकारी फलफूलको बिउलाई पोस्ने र जनतालाई ठोस्ने सरकारी नीति बनेको छ ।

राज्य सञ्चालकहरु, राजनीतिक पार्टीका नेताहरु देखि ब्यूरोक्रेट्स, सुरक्षा निकायका व्यक्तिहरु समेत सरकारी गाडी लिएर सिमापारि किनमेल गर्न जाने कुरा सामान्य जस्तै भएको छ । दुर्भाग्य नै भन्नुपर्छ यिनै हुन देश बचाउने, देशको समृद्धिको कथा लेख्ने र जनतालाई समृद्धिका कथा सुनाउने र भाषण गर्नेहरु पनि ।

हरेक दिन सिमापारिको बजार गुल्जार हुन्छ । चाडवाडका बेला त झन उताका पसलहरुमा पाइला राख्नेसम्मको ठाउँ हुँदैन । नेपालभित्रका ब्यापारिहरु, किसानहरु, फूल उत्पादक र ब्यापारिहरु, गौंडो कुरेर बस्ने बाहेक केहि काम हुँदैन ।

गज्जबको देश छ हाम्रो सबै जनतालाई आर्थिक बृद्धि चाहिएको छ । समृद्ध नेपाल चाहिएको छ । रोजगारीको अवसर चाहिएको छ । देशको बलियो अर्थतन्त्र चाहिएको छ । देशका बाटाघाटा सबै अन्तराष्ट्रिय स्तरका चाहिएको छ । शिक्षा स्वास्थ पनि निशुल्क चाहिएको छ । बिद्युत पानी सके निशुल्क नसके सस्तोमा चाहिएको छ । देशले विदेशी ऋण नलिएको हेर्नु पनि परेको छ । यहाँ उद्योग कलकारखाना चलेको देख्नु परेको छ । किसानले आफ्नो उत्पादनको भाउ पाउनु परेको छ । हाम्रो पर्यावरण पनि स्वस्थ सफा र सुन्दर चाहिएको छ । बिभिन्न खाले संघसंस्था बनाएर ब्यक्ति र ब्यापारिहरुबाट चन्दा पनि चाहिएको छ । हाम्रा खेलाडीले राम्रो खेलेको र जितेको हेर्न पनि मन छ । भ्रष्टाचारमुक्त देश र शासन प्रशासन पनि चाहिएको छ । अनेकौं अनेक भत्ता सुविधा पनि चाहिएको छ ।

तर,
त्यहि जनता (हामी) हरु तिहारमा पलाष्टिकका फुलहरु किनेर घर सजाउने र माला बनाउने गरेका गर्छाैं । आफ्नै देशभित्रका बजारमा गएर समान किन्दैनौ । आफ्नै देशभित्रको किसानले फलाएको खाद्यान्न तराकारी भन्दा बढि सिमापारिको किन्छौं । आफ्ना किसानले उब्जाएको दुध खाँदैनौं बहुराष्ट्रिय कम्पनीको चिसो आदिमा मनग्य रमाउँछौं । घिउ दुध खाए ग्यास्ट्रिक हुन्छ भनेर सिक्छौं सिकाउँछौं । तरकारी भन्दा ब्रोइलर मासु खाएर रमाउँछौं । विदेशबाट आएको रेमिटलाई आफ्नो आर्थिक सुधार भन्दा उपभोगमा त्यो पनि सिमापारिको बजारमा चढाएर विदेशी कम्पनीलाई पोसेर पार्टी मनाउँछौं । सानो सवारी साधनले काम चल्नेमा महङ्गो सवारी साधन किन्छौं । घरमा बनाएर भन्दा होटलमा गएर खान मन पराउँछौं । ऋण गरेर कार किन्छौं आवश्यकता भन्दा बढिको घर बनाउँछौं र खाली राख्छौं । बहाल लगायौं भने पनि कर तिर्दैनौं । कारोबार गर्छाैं भने पनि सकेसम्म दर्ता गर्न चाहँदैनौं ।

बजारमा अनेकानेक (जङ्कफुड ) पत्रुखाना चाउचाउ विस्कुट चिजबल देखि अनेकौं प्लास्टिक र्यापिङ गरिएका खानेकुरा किनेर खाने मात्रै होइन त्यसका खोलहरुलाई जहाँ खायो त्यहिँ बाटोघाटो नाला वन जङ्गल खेतबारी मैं फाल्ने गर्छौं । आफ्ना छोराछोरीलाई विद्यालयमा घरको खाजा बनाएर होइन यस्तै पत्रुखाना खाउ भनेर सानैदेखि सिकाउँछौं । हामी यात्रा गर्दा घरबाट पानी लिएर हिँड्दैनौं । किनेर पानीको बोतल पानी खाइसकेपछि बसको झ्याल खोलेर फुत्त बाटोमा फाल्छौं । बजार जाँदा घरबाट कुनै झोला लिएर जाँदैनौं तर बजार गएर थुप्रै प्लास्टिकको झोलामा समान लिएर आउँछौं ।

के हामीहरुको यो ब्यवहारले देश समृद्ध हुन्छ त ? हामीले सोचेको जस्तो देश बन्छ त ? के देशमा रोजगारीका अवसरहरु खुल्छन् त ? सबैले भित्रैदेखि आफ्नो छातिमा हात राखेर सोच्नु पर्छ कि पर्दैन ? आफ्नो देश बनाउन मेरो पनि ठूलो भूमिका छ, मेरो पनि ठूलो योगदानको खाँचो छ भन्ने चेतना हामीले भर्नु पर्छ कि पर्दैन ? देशभित्रको आर्थिक क्रियाकलापले देशभित्र अवसर सृजना गर्छ, देशभित्रको समानको प्रयोगले देशका मानिसको (हामीहरुको ) सम्पन्नतामा इँटा थप्छ भन्ने चेतना हामीमा आउनुपर्छ कि पर्दैन ? के सञ्जालमा नाङ्गिदैमा, भाइरल हुँदैमा, तुक न बेतुक जे जे पायो त्यहि गर्दै भन्दैमा सबथोक बनिहाल्ने हो ? मेड इन नेपाल, मेक इन नेपाल, नेपालीका लागि नेपालकै समान, नेपालकै खानपीन, नेपाल नेपालीका लागि नेपालीहरुले नै गर्ने जोगाउने पहलको लागि के हामी हरेक नेपालीको व्यक्तिगत जिम्मेवारी छैन र ? हो यदि मेरो पनि केहि जिम्मेवारी र योगदानको आवश्यकता छ भन्ने लाग्छ भने देश बनाउन यहि तिहारको किनमेलबाटै शुरु गरौं न त ।
सबै नेपालीहरुका तिहार एवं छठ पर्वको शुभकामना !

Exit mobile version