नागरिक समाज र प्रशासक द्वन्द्वको निकास खोज

बाँकेका प्रशासक र नागरिक समाजका प्रतिनिधिहरुबीच बढ्दो असमझदारीले संकट निम्त्याउने भन्दै पछिल्लो अवस्थाको निकास खोज्न पहल थालिएको छ ।

त्यसका लागि जिल्लास्थित राजनीतिक दलहरुसँग नागरिक समाजका प्रतिनिधिहरुले शनिवार छलफल गरेका हुन् । छलफलमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको काम कारबाही प्रतिको असन्तुष्टिबारे दलहरुले जिज्ञासा राख्दै असझदारीले विभाजन निम्त्याउनेमा चिन्ता गरे ।

जिल्लाका प्रशासकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा उल्टै भिड्ने र भिडाउने उक्साहटमा लागेको आरोप नागरिक समाजका प्रतिनिधिले व्यक्त गरे । उनीहरुको तर्क थियो, आफुहरुका कुरा सुन्ने ठाउँमा भएको जिम्मेवार व्यक्तिले प्रतिकारका योजना बनाउने भन्दा संवादको थालनीबाट निकास खोज्न सकिन्थ्यो ।

प्रजिअ जोशीले पदीय मर्यादा विपरीतका कार्य, अभिव्यक्ति र अस्वाभाविक व्यवहार दोहो¥याइरहेको भन्दै नागरिक समाजका प्रतिनिधिहरूले विहीवार गृहमन्त्रीलाई पत्र पठाएको भोलिपल्टै निजामति कर्मचारीले संयुक्त विज्ञप्तिमार्फत त्यसको आपत्ति जनाएका थिए ।

बारको संयोजनमा भएको बैठकमा सहभागीहरुले दलसँग असहज परिस्थितिमा नागरिकसँगको दूरीले प्रशासनप्रतिको बिस्वास घट्ने हुँदा तत्काल संवादबाट समाधान खोजिनुपर्ने सुझाव दिए ।

नेपालगन्ज उच्च बार अध्यक्ष चित्र बहादुर शाहीको संयोजनमा भएको कार्यक्रममा बार काउन्सिलर इश्वरी ज्ञवाली, बाँके काँग्रेसका कार्यबाहक सभापति गोपाल अधिकारी, सचिव सुधांशु कोइराला, नेकपा एसका केन्द्रीय सदस्य अब्दूल हुसेन, एमाले नेता दत्त आचार्यलगायतले निकास खोज्न ढिला गर्नु नहुने बताए ।

प्रेस स्वतन्त्रता सेनानी नरेन्द्रजंग पिटर, नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी, प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, जिल्ला अध्यक्ष नविन गिरी, प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी अध्यक्ष कमल डाँगीलगायतका पत्रकारहरुले यो अवस्थाको जिम्मेवार प्रजिअनै भएको टिप्पणी गरे ।

जिल्ला बार अध्यक्ष मेहरसिंह खत्री, बारका पूर्व केन्द्रीय उपाध्यक्ष प्रहलाद कार्की, इन्सेक प्रादेशिक प्रमुख भोला महत, विकासका लागि नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, गैसस महासंघका जिल्ला सचिव रमेश सिटौला लगायतले नागरिकसँग संवादमार्फत निकास खोज्न दलहरुलाई पहलका लागि सुझाव दिए ।

Exit mobile version