जेनजी आन्दोलनका क्रममा न्यायिक निकायमा भएको आगजनी र तोडफोडका कारण प्रभावित न्याय सम्पादन प्रक्रियालाई सहज बनाउन सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगंजले अदालत र सरकारी वकिल कार्यालयहरूलाई फर्निचर सहयोग गरेको छ ।
समूहले मिसिल तथा कानुनी कागजातहरू सुरक्षित रूपमा राख्नका लागि ठूला आकारका १० थान स्टील दराज उपलब्ध गराएको हो ।
उक्त दराजहरू उच्च अदालत तुल्सीपुर नेपालगंज इजलास र बाँके जिल्ला अदालतलाई तीन–तीन थान, र नेपालगंज उच्च बार एशोसिएसन तथा उच्च सरकारी वकिल कार्यालयलाई दुई–दुई थान हस्तान्तरण गरिएको समूहका सचिव अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।
सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगंजका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठका अनुसार, “अप्ठेरो समयमा न्यायिक निकायको कामलाई सहज बनाउन र कागजातहरू सुरक्षित राख्न सहयोग पुर्याउने उद्देश्यका साथ यो पहल गरिएको हो ।”
त्यस्तै, सह–संयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले भने, “न्यायालय अप्ठेरो परिस्थितिमा परेका बेला सहयोग गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो । त्यसैकारण हामीले व्यक्तिगत रूपमा रकम संकलन गरी यो सहयोगका दराजहरू उपलब्ध गराएका हौं,” भन्दै आगामी दिनमा पनि यस्ता सहकार्यका प्रयास जारी रहने बताए ।
दराज हस्तान्तरण कार्यक्रममा समूहका संयोजक श्रेष्ठ, सह–संयोजक शाह, सचिव गौतम, कोषाध्यक्ष बलबहादुर चन्द, सदस्यहरू विश्वजित तिवारी, केवल सिंह थारु, इन्सेकका भोला महत, र अधिवक्ता पवन कुमार गुप्ता लगायतको उपस्थिति थियो ।
उक्त सहयोग कार्यक्रम नेपालगंज उच्च अदालतका अधिकृत हेमराज तिमिल्सेना, बाँके जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्की, नेपालगंज उच्च बारका अध्यक्ष चित्रबहादुर काकी, र उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधीवक्ता कर्णबहादुर बुढाको रोहवरमा सम्पन्न भएको थियो ।
अदालत र बारका प्रतिनिधिहरूले न्यायिक संस्थाको पुनर्संरचना र कार्यसञ्चालनलाई सहज बनाउन योगदान पुर्याएको भन्दै सार्वजनिक सरोकार कानून व्यवसायी समूहलाई धन्यवाद ज्ञापन गरेका थिए । उनीहरूले यस्ता सामाजिक उत्तरदायित्व र व्यावसायिक एकताको उदाहरणीय कदमले न्याय क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे ।
