बाँकेमा आइतबारदेखि ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु भएको छ ।
भव्य कार्यक्रम बीच नेपालगन्ज रंगशालामा एन्फा केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग र नेपालगन्ज नगरपालिकाका प्रमुख प्रशान्त विष्टले संयुक्त रुपमा एन्फा रेफ्रि रविन्द्र श्रेष्ठलाई बल हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीका अनुसार, विद्यालय स्तरका स–साना बालबालिकालाई लक्षित गरी सुरु भएको ‘फिफा फुटबल फर स्कुल’ अभियानमा बाँकेका १५ विद्यालयलाई खेल सामाग्रीसँगै प्रशिक्षण दिइनेछ ।
कार्यक्रम देशभरका ७७ जिल्लाका १,०७२ विद्यालयमा सञ्चालन हुनेछ। यसका लागि एन्फाले फिफाबाट प्राप्त ३२,६४० वटा एडिडास ब्रान्डका फुटबल वितरण गर्नेछ। एन्फा महासचिव किरण राईका अनुसार यी फुटबलको मूल्य प्रतिगोटा कम्तीमा ५,००० रुपैयाँ पर्छ। साथै, फिफाले कार्यक्रम सञ्चालनका लागि ५०,००० अमेरिकी डलर बजेट उपलब्ध गराएको छ।
