नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको ट्रफी टुर सोमवार नेपालगन्ज आइपुगेको छ ।
आगामी मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर नेपालगन्ज आइपुगेको हो । एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि २७ गतेसम्म हुँदैछ । जसका लागि खेलाडी अक्सन समेत सम्पन्न भइसकेको छ ।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।
एनपीएलको दोस्रो संस्करण तयारी उत्साहका साथ अघि बढ्दै गर्दा सोमबार प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरसँगै बाँकेको कोहलपुर र नेपालगन्जका विभिन्न खेलमैदानमा ट्रफी टुर आयोजना गरिएको छ ।
ट्रफी टुर अन्तर्गत बिहान कोहलपुरमा विशेष कार्यक्रमका बीच ट्रफीलाई कोहलपुर चौराह र कोहलपुर क्रिकेट मैदानमा प्रदर्शन गरिएको थियो । जहाँ क्रिकेटका पूर्व राष्ट्यि कप्तान एलबी क्षेत्री, कोहलपुर नगरपालिकाका उप प्रमुख संगीता सुवेदी र महिला क्रिकेटकी पूर्व राष्ट्यि उप कप्तान ममता थापामगरले ट्रफी उचालेका थिए । स्थानीय जनप्रतिनिधि, खेलकर्मी, विद्यार्थी र क्रिकेटप्रेमीको उल्लेख्य उपस्थितिमा कार्यक्रम उत्साहपूर्ण बनेको थियो ।
त्यसपछि दिउँसो ट्रफी नेपालगन्ज पु¥याइयो । नेपालगन्ज मंगल मावि खेलमैदान र प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा प्रदर्शनी गरिएको ट्रफीले यहाँका खेलप्रेमीहरूलाई पनि उत्साहित बनायो । स्थानीय युवाहरू, क्रिकेट क्लबका सदस्य र नगरवासीहरूले ट्रफीसँग तस्बिर खिच्दै आगामी प्रतियोगितामा आफ्ना मनपर्ने टोलीलाई समर्थन जनाएका थिए । जहाँ नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको विशेष उपस्थिति थियो ।
कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि र खेलकर्मीहरूले नेपालमा व्यावसायिक क्रिकेटको विकासका लागि एनपीएल महत्वपूर्ण प्लेटफर्म भएको उल्लेख गर्दै स्थानीय तहमा यस्ता गतिविधिले खेलप्रति रुचि बढाउने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार ट्रफी टुरको उद्देश्य आगामी नेपाल प्रिमियर लिगबारे देशभर जनचेतना र उत्साह जगाउनु हो ।
