आज गुरुनानक जयन्ती

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज बुधबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उनले गरेका थिए ।

गुरु नानक जयन्तीका अवसरमा नेपालगन्जको विपी चोक स्थित गुरुद्वारामा ‘गुरु ग्रन्थ साहिब’ पाठका साथै भण्डारा आयोजना हुने गरेको छ ।

यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी गरेका थिए ।

बाँकेको जानकी गाउँपालिकाले गुरु नानक जयन्तीको अवसरमा आज पालिकामा सार्वजनिक बिदा दिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायका अनुसार, अत्यावश्यक काम बाहेक वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा बिदा दिइएको छ ।

Exit mobile version