राजधानी काठमाडौमा लोकार्पण गरिएको यो उनको चौथो उपन्यास हो ।बाँकेकी साहित्यकार किरण आचार्यले आफ्नो चौथो उपन्यास ‘शैलसुते’ प्रकाशमा ल्याएकी छन् । शिक्षा सेवामा रहेर पनि नेपाली साहित्यका विभिन्न विधामा निरन्तर कलम चलाउँदै आएकी आचार्यको शैलसुते’ हालै राजधानी काठमाडौमा लोकार्पण गरिएको हो ।कृतिको संयुक्त लोकार्पण आख्यानकार तथा पत्रकार कमल रिजाल, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, पठन संस्कृतिका अभियन्ता तारा रेग्मी, लेखक किरण आचार्य र प्रकाशक पुष्पराज पौडेलले गरे । कार्यक्रमको सञ्चालन तपेन्द्र घोडासेनीले गरेका थिए ।कार्यक्रममा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक कमल रिजाल, वरिष्ठ पत्रकार राजकुमार बानियाँ तथा ‘किताब किरो’का रूपमा परिचित तारा रेग्मीले उपन्यासका विविध पक्षमाथि चर्चा–परिचर्चा गरे ।तारा रेग्मीले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै ‘शैलसुते’ अनुसन्धान र खोजमा आधारित भएकाले सशक्त कृति बनेको धारणा व्यक्त गरे । एउटै उपन्यासमार्फत विविध पौराणिक सन्दर्भ अध्ययन गर्न सकिने उल्लेख गर्दै उनले कृतिको विषयवस्तु रोचक र प्रभावशाली रहेको बताए ।समालोचक राजकुमार बानियाँले ‘शैलसुते’ दुर्लभ र मौलिक साहित्यिक कृति भएको उल्लेख गर्दै नेपाल मात्र नभई भारतमा समेत माता पार्वतीका विषयमा यस्तो आख्यान कमै भेटिने बताए । उनले उपन्यासलाई विशिष्ट गुणयुक्त कृतिका रूपमा चर्चा गर्दै यसको साहित्यिक महत्वमाथि प्रकाश पारेका थिए ।आख्यानकार कमल रिजालले पौराणिक आख्यान लेखनका लागि दीर्घ साधना र समर्पण आवश्यक पर्ने धारणा राख्दै ‘शैलसुते’ पौराणिक नारी पात्रमा केन्द्रित सशक्त कृति भएको बताए । कथन शैली र विषयवस्तुले पाठकमा कौतूहल जगाउँदै अन्तिमसम्म तानिराख्ने क्षमता रहेको उनको भनाइ थियो ।लेखक किरण आचार्यले आफ्नो सिर्जनात्मक प्रयासप्रति पाठकले अध्ययन गरी सुझाव–सल्लाह दिन आग्रह गरिन् । उनले लेखन यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।यसअघि आचार्यका ‘जत्कारु’, ‘परशुराम’ र ‘अहिल्या’ जस्ता पौराणिक पात्रमा आधारित उपन्यास प्रकाशित भइसकेका छन्। ‘शैलसुते’ शिखा बुक्सद्वारा प्रकाशित कृति हो, जसको मूल्य ७ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ ।शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा नेपाली साहित्यका चर्चित लेखक तथा समालोचकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता शिखा बुक्सका प्रोप्राइटर तथा ‘शैलसुते’का प्रकाशक पुष्पराज पौडेलले गरेका थिए ।
किरण आचार्यले ल्याइन् ‘शैलसुते’
- Dainik Nepalgunj

- Categories: News
Related Content
बर्दियाका २० स्थानीय परियोजनाको व्यवसाय योजना अनुमोदन
by
Dainik Nepalgunj
September 2, 2026
जेबी, सुनाखरी र पत्रकार महासंघद्वारा कोषमा रकम
by
Dainik Nepalgunj
September 2, 2026
क्यान्सर विरुद्ध किशोरीलाई खोप लगाइँदै
by
Dainik Nepalgunj
September 2, 2026
निर्वाचितलाई काँग्रेसको सम्मान
by
Dainik Nepalgunj
September 1, 2026
बर्दियाको ठाकुरबाबा नगर अस्पतालमा आँखा उपचार सेवा सुरु
by
Dainik Nepalgunj
September 1, 2026