नेपालगन्ज शिरोमणिको आँगनमा

फूलको वासना वरिपरि, मान्छेको वासना डाँडापारि भनेझैँ मंगल माडसाव नेपालगन्ज र मध्य तथा पश्चिम नेपालका शिक्षा र चेतनाका सगरमाथा हुन् ।

आज नेपालगन्ज–शिरोमणि मंगल माडसावको १२१ औँ जन्मजयन्ती हो । उहाँलाई ‘नेपालगन्ज शिरोमणि’ भन्नुको कारण उहाँको स्वाभिमानी दाता, शिक्षाप्रेमी, स्वयं शिक्षक, अनुशासनका केन्द्र, शिक्षालाई वैश्विक मानकको शिक्षित जनशक्ति तयार गर्ने, आदर्श शिक्षक निर्माण गर्ने, आदर्श विद्यार्थी उत्पादन गर्ने, सहशिक्षाका विचारक तथा व्यावसायिक शिक्षाका प्रणेताका रूपमा रहेको भूमिका प्रमुख हो ।

नेपालगन्ज शिरोमणि उहाँ केवल शिक्षक भएर मात्रै होइन, नेपालगन्जकै चेतना र आत्माका शिल्पकार बन्नुभएको कारणले पनि हो । उहाँको जीवन सार्थक हुनुमा गौरवशाली भूमिका र कृतिको निर्माण छ । नेपालगन्जको सबैभन्दा पुरानो एमपी हाईस्कूल पनि अब छिट्टै शतवार्षिकी मनाउँदै छ ।

मंगलप्रसाद गुप्ता शास्त्रीको जन्म १९६२ जेठ ११ गते भएको थियो भने २०४५ जेठ १० गते उहाँ स्मृतिशेष हुनुभयो । मैले उहाँका शिष्यहरूसँग भेटेँ, उहाँबारे बनेका अनेकौँ किंवदन्ती सुनेँ । माडसावका व्यक्तित्व र आदर्शका चर्चा सुनेँ । तब उहाँ एउटा महाकाव्यझैँ लाग्नुभयो । मैले सशरीर त्यो काव्य पढ्न भने पाइनँ ।

मंगल माडसावले घसियारटोलस्थित आफ्नै घरमा हिन्दी, मुडिया र गणितको शिक्षा दिन थाल्नुभयो । मंगलप्रसाद माविका निर्माता उहाँले जीवनभर शिक्षा दान र जग्गा दान गर्दै आफ्नो जीवन शिक्षा–सेवामा समर्पित गर्नुभयो । उहाँ समाजका नायक र प्रेरक व्यक्तित्वका रूपमा कृतिशेष हुनुभयो ।

हरेक समाज र सहरले आफ्नो समयको नायक जन्माएको हुन्छ । उसका आदर्श मौन समाजमा प्रेरणा बन्छन् । मंगल माडसावले एउटा अर्थपूर्ण दियो बाल्नुभयो— आशाको, ज्ञानको र मानवीय संवेदनाको दियो । त्यो दियोमा तेल हामीले हालिरहने कि नरहने भन्ने प्रश्न हामीसामु ठिङ्ग उभिएको छ । यस चेतनाको नेतृत्व विद्यालय व्यवस्थापन समिति र गुरुवर्गले दायित्व निभाउँछ कि निभाउँदैन ? मंगल माडसावको गौरवशाली इतिहासले सधैँ हामीसँग प्रश्न गरिरहनेछ ।

मंगल स्कूलका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका सदस्य हुनु आफैँमा गौरवको विषय हो । यस विद्यालयबाट २४ जिल्लाका विविध क्षेत्रका प्रतिभाहरू निस्किए । हरेक विद्यालय जिज्ञासा उत्पादन गर्ने कारखाना हुन्छन् । शिक्षकले ज्ञानको उर्वर भूमिमा प्रवेश गराउँछन्; तर गुरुले भने ज्ञानलाई जीवनमा बग्ने नदी बनाइदिन्छन् । विद्यार्थी जब सम्मानको दीप बालेर आफ्नो मनमन्दिर गुरुका चरणतिर फर्काउँछ, त्यो सम्मान केवल व्यक्तिप्रति हुँदैन— ज्ञान, चेतना, संस्कार, संस्कृति र स्वाभिमान सबैलाई एकैसाथ नमन गरिरहेको हुन्छ । यस अर्थमा मंगल माडसाव दाता र शिक्षक मात्रै नभएर गुरु पनि हुन् ।

गुरुको महानता उनले बोलेका शब्दमा मात्र होइन, उनले छोएर उठाइदिएका आत्माहरूमा नापिन्छ । शक्तिको भरमा उक्लिएको दर्जा गुरुत्व होइन, गुरुत्व त त्यो हो— जसले हृदय, श्रम र चरित्रको उज्यालोबाट विद्यार्थीका अँध्यारा कोणहरू छुट्याइदिन्छ र विद्यार्थीमा रहेका अन्तर्निहित क्षमता तथा प्रतिभालाई चिनेर फल्न–फूल्न प्रेरित गर्छ ।

म त्यस पुण्यभूमिमा माडसावको गरिमा नियाल्न वार्षिक कार्यक्रममा पुगेको थिएँ । स्कूलमा विज्ञानका विद्यार्थीहरूले बनाएका सामग्रीहरूको प्रदर्शनी भइरहेको थियो । उनीहरूका कल्पना र प्रयोगात्मक ज्ञान स्टलहरूमा सजिएका थिए । मंगल माडसावका स्मृति र सपना त्यहाँ झल्किरहेको भान हुन्थ्यो ।

हो त, शिक्षा मानिसलाई ज्ञानको क्षेत्रमा प्रवेश गराउँछ । ज्ञानले सोच्न, खोज्न, गर्न र भोग्न सिकाउँछ । यसले मानिसलाई मानवमा रूपान्तरण गर्दै उसमा भएका अन्तर्निहित क्षमता र शक्तिहरूलाई जागृत गराउँछ र नयाँ, सक्षम तथा आत्मविश्वासी व्यक्तित्व निर्माण गर्छ ।

जब यस्तो शिक्षाले भरिएका किशोर–किशोरी वा युवा–युवतीहरू जीवनका प्रतिकूलतालाई अनुकूल पार्दै भूमिकामा उत्रन्छन्, तब समाजको रूप नै फेरिन्छ ।

बजारले थिचेका मूल्य र आधुनिकताको तीव्रताले तोडेका परम्पराहरू जहाँ मौन भएर पतनोन्मुख छन्, त्यहीँ मंगल माडसावको स्मृति ताजा गर्नु भनेको शिक्षा, विद्या र स्वाभिमानबारे फेरि गम्भीर बहस आवश्यक छ भन्ने स्वीकार गर्नु हो । सय वर्षअघिको बनिया समाजमा शिक्षाको ज्योति फैलाउने माडसावमा आएको चेतनाले आजका समाजका अगुवा भनिनेहरूलाई जिस्काइरहेको छ । अझ शिक्षालाई व्यापार र व्यवसाय बनाइरहेकाहरूका लागि त माडसावको नाम नै आतङ्क बन्दो हो ।

समय फेरियो । समयसँगै समाजका सौन्दर्य पनि फेरिए । समाजमा बजार हाबी भएपछि शिक्षा अहिले व्यवसाय बनेर गुरु–चेला परम्परामै धाँजा पर्दै गयो । शिक्षकको हैसियत गुरुको स्तरमा पुग्न सकेन भने विद्यार्थी पनि शिक्षार्थी अर्थात् शिक्षाका उपभोक्तामा फेरिए । तब फेरि मंगल माडसावको बहानामा समाजसँग, दानसँग र युवाहरूसँग संवाद टड्कारो रूपमा खडा भयो ।

हामी अहिले के सोच्न सक्छौँ भने— मंगल माडसावको दिमागमा कुन आदर्श इन्जेक्ट भयो होला, जसले उहाँलाई शिक्षाको ज्योति बाल्न हौस्यायो होला ?(प्रकाशोन्मुख नेपालगन्ज दर्पणबाट)

Exit mobile version