गौरीशंकर टोलमा २५ लाख रुपैयाँको सडक–नाला

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ अन्तर्गत गौरीशंकर टोलमा २५ लाख रुपैयाँ लागतको आरसिसी नालासहित सडक निर्माण योजना शनिवार सुरु गरिएको छ । स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएको सडक र जलनिकास समस्यालाई समाधान गर्ने उद्देश्यसहित योजनाको वडाध्यक्ष दीपक कुमार बर्माद्वारा शिलान्यास गरिएको हो ।

वडा नम्बर १८ मा पछिल्लो समय पूर्वाधार निर्माणका काम तीव्र रूपमा अघि बढिरहेका बेला गौरीशंकर टोलको यो योजना पनि प्राथमिकताका साथ सुरु गरिएको वडा कार्यालयले जनाएको छ । निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने हिलो, पानी जम्ने समस्या र आवतजावतको कठिनाइ हट्ने विश्वास स्थानीयले गरेका छन् ।

शिलान्यासपछि स्थानीयवासीले वर्षौंदेखि उठाउँदै आएको माग अब पूरा हुन लागेको भन्दै खुसी व्यक्त गरेका छन् । टोलका बासिन्दाले सडक र नालाको अभावका कारण दैनिक आवतजावतमा समस्या झेल्दै आएको बताएका छन् । ‘अब हाम्रो टोलको समस्या समाधान हुने आशा जागेको छ,’ स्थानीयवासीले भने, ‘वर्षामा घरबाहिर निस्कनै कठिन हुने अवस्था अन्त्य हुने विश्वास गरेका छौं ।’

वडाध्यक्ष दीपक कुमार वर्माको पहलमा सञ्चालन हुन लागेको उक्त योजनाले स्थानीयस्तरमा विकास निर्माणको गति थप बढाएको चर्चा पनि स्थानीयवासीले गरेका छन् । उनीहरूले नयाँ बस्ती र पिछडिएका क्षेत्रसम्म विकास पु¥याउने काम भइरहेको बताएका छन् ।

वडाध्यक्ष वर्माले निर्वाचनका बेला गरेका प्रतिबद्धता व्यवहारमै उतार्ने प्रयास भइरहेको बताए । उनले सडक, नाला र ढल व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाए । ‘विकासको पहुँचबाट टाढा रहेका बस्तीलाई प्राथमिकतामा राखेका छौं,’ उनले कार्यक्रममा भने, ‘पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र विपन्न समुदायका आधारभूत आवश्यकतामा पनि काम गरिरहेका छौं ।’

वडाध्यक्ष बर्माका अनुसार, वडा नम्बर १८ मा सडक तथा नाला निर्माणसँगै शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । गरिब तथा विपन्न परिवारका लागि शौचालय निर्माण, टिन वितरण र विभिन्न लक्षित तथा सीपमूलक कार्यक्रमलाई समेत निरन्तरता दिइएको उनले बताए ।

वडामा सञ्चालन भइरहेका योजनाहरू निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको वडाकार्यालयले जनाएको छ । निर्माणको गुणस्तरमा पनि विशेष ध्यान दिइने उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार वडा नम्बर १८ मा पछिल्लो समय भइरहेका विकास निर्माणका कामले बस्तीको स्वरूप परिवर्तन हुन थालेको छ । सडक, नाला र अन्य पूर्वाधार विस्तारले दैनिक जीवन सहज बन्दै गएको उनीहरूको भनाइ छ ।

Exit mobile version