महामन्त्री धवलशमशेर राणाद्वारा नयाँ राजनीतिक अभियान घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद निर्णायक मोडमा पुगेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट पक्ष खुलेरै अलग धारमा उभिएपछि राप्रपा फुटको संघारमा पुगेको हो । पार्टीका महामन्त्री रहेका डा. धवलशमशेर राणाले आइतबार नयाँ अभियान घोषणा गर्दै नयाँ राजनीतिक शक्ति निर्माणको संकेत दिएका छन् ।

‘नयाँ राष्ट्रवादी शक्ति निर्माण हुन्छ, ढुक्क हुनुस् हामी त्यस बाटोमा अगाडी बढिसकेका छौं,’ डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘अभैm केही काम बाँकीनै रहेकाले एउटा सन्देशमात्रै आज दिएको हुँ ।’ बाँके निर्वाचन क्षेत्र नम्बर २ का पूर्वसांसदसमेत रहेका राणाले आइतवार सार्वजनिक आह्वान जारी गर्दै देशमा ‘विश्वसनीय राष्ट्रवादी शक्ति’ निर्माण गर्ने उद्देश्यसहित आगामी राजनीतिक यात्रा तय गर्ने निष्कर्षमा पुगेको बताएका छन् । उनले देशभित्र र विदेशमा रहेका नेपालीबाट सुझाव र शुभेच्छा प्राप्त भइरहेको उल्लेख गरेका छन् ।

डा. राणाले आह्वानपत्रमा भनेका छन्, ‘शुभेच्छुक, सहयोगी तथा सहयात्रीहरूको राय सल्लाहबमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु । समयको पदचाप र जनभावनाअनुरूप अघि बढ्न देश विदेशमा रहनु हुने नेपालीहरूको सुझाव र शुभेच्छाहरू प्राप्त भएको छ ।’

उनले पछिल्ला चार वर्ष राप्रपालाई जनभावनाअनुकूल दिशामा लैजान प्रयास गरेको दाबी गर्दै पार्टी नेतृत्वकै कारण संगठन जनताबाट दण्डित भएको टिप्पणी गरेका छन् । ‘राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ भने त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर हाम्रा मान्यताहरूलाई सही लक्ष्य दिने चाहना हो भने एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरूलाई हार्दिक आह्वान गर्दछु,’ राणाले भनेका छन् ।

राणाले सार्वजनिक गरेको अपिलमा आफूलाई महामन्त्री भनेर उल्लेख नगरेपछि पार्टी विभाजनको तयारी औपचारिक चरणमा पुगेको चर्चा राप्रपाभित्र चुलिएको छ ।

असन्तुष्ट समूहले आइतबार काठमाडौंमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकसमेत बोलाएको थियो । बैठकमा पार्टीभित्रको अवस्था, नयाँ राजनीतिक शक्ति निर्माण र आगामी रणनीतिबारे छलफल भएको सहभागीहरूले बताएका छन् । बैठकपछि सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने र जेठ २१ गते नयाँ निर्णय सार्वजनिक गर्ने तयारी गरिएको जानकारी बाहिर आएको छ ।

असन्तुष्ट पक्षले पार्टीको मूल वैचारिक लक्ष्य कमजोर बनाइएको निष्कर्ष निकालेको छ । संवैधानिक राजसंस्था सहितको संसदीय व्यवस्था पुनस्र्थापनाका लागि राप्रपाको सम्पूर्ण पंक्ति संघर्षरत रहे पनि अध्यक्ष लिङ्देनको भूमिकाका कारण मुद्दा प्रभावहीन बन्दै गएको उनीहरूको आरोप छ ।

राणानिकट नेताहरूले ‘सत्ताकेन्द्रित होइन, सिद्धान्त र जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुनेछ’ भन्ने मूल मर्म नेतृत्वले आत्मसात गर्न नसकेको बताएका छन् । उनीहरूका अनुसार पार्टीभित्र विधि र विधानभन्दा व्यक्तिगत निर्णय हावी हुँदै गएको छ ।

असन्तुष्ट पक्षले नेतृत्वमाथि विधान मिचेर कारबाही गरिएको आरोपसमेत लगाएको छ । ‘विधान मान्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई विधान मिच्दै निरंकुश शैलीमा कारबाही गर्ने अभियान चलाइयो,’ असन्तुष्ट समूहको निष्कर्ष छ ।

राप्रपाभित्रको विवाद पछिल्ला महिनामा झन् चर्किएको थियो । उपाध्यक्ष मुकुन्दश्याम गिरी, नेता सगुन लावती र धनसुर शाहीमाथि गरिएको कारबाहीलाई लिएर असन्तुष्ट पक्ष आक्रोशित बनेको थियो । त्यसपछि अनुशासन समितिका संयोजक नवराज सुवेदीको जिम्मेवारी खोसिएपछि विवाद थप गहिरिएको बताइन्छ ।

त्यसअघि पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको आरोप लगाउँदै उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई पनि पदमुक्त गरिएको थियो । यही घटनाक्रमपछि संस्थापनइतर पक्षले नेतृत्वमाथि निरंकुश शैली अपनाएको आरोप लगाउन थालेको हो ।

असन्तुष्ट समूहको बैठकमा राष्ट्रवादी शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने विषयमा पनि छलफल भएको बताइएको छ । ‘हो, त्यसका लागि काम भइरहेको छ,’ डा. राणाले भने । राप्रपाबाहिर रहेका राजसंस्था पक्षधर दल, अभियन्ता र समूहहरूसँग संवाद बढाएर फराकिलो राजनीतिक शक्ति निर्माण गर्नुपर्ने धारणा बैठकमा उठेको सहभागीहरूले बताएका छन् ।

डा.राणा समूहले अब छरिएर रहेका सबै राजावादी शक्ति र अभियानलाई एउटै मोर्चामा ल्याउने रणनीति बनाएको बताइएको छ । यो समूहले राणाकै नेतृत्वमा नयाँ राजनीतिक शक्ति वा अभियान घोषणा गर्ने तयारी गरिरहेको स्रोतको दावी छ । संस्थापनइतर पक्षका एक नेताले भने, ‘राजसंस्थाको मुद्दा बोकेर हिँडिरहेका सबै शक्ति र समूहहरु अब राणाको नेतृत्वमा गोलबन्द हुनेछन् । चाँडै नै नयाँ पार्टी वा अभियानको घोषणा हुन्छ ।’

राणा समूहले पछिल्लो समय राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग पनि निरन्तर छलफल गरिरहेको बताइएको छ । दुवै पक्षबीच सहकार्यको सम्भावना सकारात्मक रहेको दावी उनीहरुको छ ।

यद्यपि, राणा समूहसँग जाने नेताहरुको संख्या अझै निश्चित भइसकेको छैन । केही नेताहरु खुलिसकेका छैनन् । राणा पक्षका एक नेताले भने हालसम्म ५० देखि ६० जना केन्द्रीय सदस्य सामूहिक राजीनामाका लागि तयार रहेको दावी गरेका छन् । पार्टी छाड्ने तयारीमा रहेका नेताहरुमा मुकुन्दश्याम गिरी, सगुन लावती र नारायण कोइरालालगायत रहेको जनाइएको छ ।

अवस्था नियाल्दै बाँके

दैनिक नेपालगन्ज

राप्रपाको सांगठनिक विवाद उत्कर्षमा पुग्दा गृह जिल्ला बाँके भने शान्त छ । ‘हामी अवस्थाको गहिराई नियालिरहेका छौं,’ राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले महामन्त्री धवलशमशेर राणाद्वारा नयाँ राजनीतिक अभियान घोषणा गर्दै गरेको आव्हानबारे दैनिक नेपालगन्जसँग भने, ‘अहिले त्यस्तो कुनै निर्णय हामीले गरेका छैनौं, जिल्लामा पार्टी एकढिक्का छ ।’

राप्रपाका अर्का नेता तेज विक्रम शाहले बाँकेबाट कोही पनि डा. राणाको अभियानमा जोडिएको थाह नपाएको बताए । उनले डा. राणाको आव्हानलाई अस्थीर राजनीतिको परिणतिका रुपमा टिप्पणी गरे ।

राप्रपा बाँकेका अधिकांश नेता कार्यकर्ता भने डा. राणाको आव्हानले आकार लिएपछिमात्रै निर्णय लिने मनःस्थितिमा देखिन्छन् । ‘यो पहिलो कदम हो, एउटा मूर्त संगठन बनेपछि पक्कै जिल्लाले साथ कति दिन्छ भन्ने देखिन्छ,’ जिल्ला संगठनका एक नेताले दैनिक नेपालगन्जसंग भने, ‘अहिल्यै लाइन लागेर पछाडी लाग्नुपर्ने केही छैन ।’

Exit mobile version