प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस बाँकेको आपत्ति

माफी नमागे आन्दोलन गर्ने चेतावनी

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको हालैको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेस बाँकेले आपत्ति जनाएको छ । पार्टीले प्रधानमन्त्रीको उक्त भनाइले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र नेपाली जनताको भावनामाथि चोट पुगेको दाबी गर्दै तत्काल अभिव्यक्ति फिर्ता लिन र जनतासँग क्षमा माग्न माग गरेको हो ।

सोमबार नेपाली कांग्रेस बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति ऐतिहासिक तथ्य र राष्ट्रिय संवेदनशीलताविपरीत रहेको जनाएको हो । कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको इतिहास र राष्ट्रिय अडानलाई कमजोर पार्ने किसिमको अभिव्यक्ति आएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा नेपाल कहिल्यै पराधीन नरहेको उल्लेख गरिएको छ । छिमेकी राष्ट्रहरूसँग सहअस्तित्वको नीति अपनाउँदै आएको नेपालको इतिहास रहेको भन्दै कुनै पनि छिमेकी राष्ट्रको भूमि मिचेको इतिहास नरहेको दाबी कांग्रेस बाँकेले गरेको छ ।

कांग्रेस बाँकेले सीमा जस्तो संवेदनशील विषयलाई प्रधानमन्त्रीले अनावश्यक रूपमा उठाएको टिप्पणी गरेको छ । विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले ऐतिहासिक तथ्यको अवमूल्यन गरेको आरोप पनि लगाइएको छ ।

पार्टी सभापति नारायण प्रसाद गौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कहिल्यै पराधीन भएको देश होइन । नेपालले सधैं छिमेकी राष्ट्रसँग सहअस्तित्वको नीति अपनाउँदै आएको छ । कुनै पनि छिमेकी राष्ट्रको भूमि मिच्ने इतिहास नेपालसँग छैन ।’

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुगेको कांग्रेस बाँकेको निष्कर्ष छ । सरकार देश र जनताको हितभन्दा बाह्य प्रभावमा बढी केन्द्रित भएको संकेत देखिएको आरोप पनि विज्ञप्तिमा गरिएको छ ।

कांग्रेस बाँकेले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा क्षमा नमागे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतासँग क्षमा नमागे नेपाली कांग्रेस सशक्त आन्दोलनमा जान बाध्य हुनेछ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पछिल्लो समय विभिन्न राजनीतिक वृत्तमा प्रतिक्रिया आउने क्रम जारी रहेको बेला कांग्रेस बाँकेले पनि औपचारिक धारणा सार्वजनिक गरेको हो ।

Exit mobile version