सय रूपैयाँ भन्दा बढीको मालसामान ल्याउन अनिवार्य भन्सार गर्नुपर्ने व्यवस्था कडाईका साथ नेपालगन्ज भन्सारमा लागु गरिएपनि त्यसले राजश्वमा ठूलो फरक नल्याएको तथ्यांकले देखाएको छ । अघिल्लो आ.व.को बैशाख र चालु आ.व.को बैशाख महिनाको राजश्व असुली तुलना गर्दा खासै ठूलो अन्तर भन्सार राजश्व असुलीमा देखिएको छैन ।
मुख्य नाकामा कडाई भएपनि खुला सीमा भएकाले अन्यत्र नाकाबाट हुने तस्करी उस्तै रहेको सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन् । प्रहरी र सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइसके पछि पटकपटक मालसामान बरामद गरेको घटनाले पनि त्यसलाई पुष्टि गर्दै आएको छ । मुख्य नाकाबाट बिना भन्सार ल्याउने मालसामानमा कडाई भएको सीमामा देख्न सकिन्छ । सीमावर्ती बजार रूपैडिहा जाने नेपाली ग्राहकको संख्यामा पनि कमी भने आएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो दश महिनामा १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रूपैयाँ राजश्व संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको १६ अर्ब ४६ करोड २४ लाख रूपैयाँको तुलनामा २७ करोड ७३ लाख ५९ हजार रूपैयाँ अर्थात् १.६८ प्रतिशतले मात्रै बढी हो ।
नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको राजश्व लक्ष्य २० अर्ब १० करोड ७८ लाख ५५ हजार रूपैयाँ रहेकामा १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रूपैयाँ मात्र असुली भएको छ । यसले लक्ष्यको ८३.२५ प्रतिशत उपलब्धि देखाउँछ । गत आर्थिक वर्षको सोही अवधिमा २२ अर्ब २१ करोड १८ लाख ९० हजार रूपैयाँ लक्ष्य रहेकोमा १६ अर्ब ४६ करोड २४ लाख रूपैयाँ संकलन भई ७४.१२ प्रतिशत उपलब्धि हासिल भएको थियो ।
चालु आर्थिक वर्षका दश महिनामध्ये सबैभन्दा उच्च लक्ष्य उपलब्धि चैत महिनामा ९८.३७ प्रतिशत रहेको छ भने माघ र फागुनमा क्रमशः ८८.२५ र ८८.३२ प्रतिशत उपलब्धि हासिल भएको देखिन्छ । यद्यपि श्रावण, भदौ र कार्तिक महिनामा लक्ष्यअनुसारको संकलन हुन सकेको छैन ।
गत वर्षको तुलनामा वास्तविक राजश्व असुलीमा सबैभन्दा बढी वृद्धि असोज महिनामा १७.५३ प्रतिशत देखिएको छ । चैतमा ७.७३ प्रतिशत, पुषमा ६.२३ प्रतिशत तथा माघमा ३.८१ प्रतिशत वृद्धि भएको छ । त्यस्तै गत बर्षको सोही महिनाको तुलनामा श्रावणमा ७.९८ प्रतिशत, कार्तिकमा ७.८७ प्रतिशत तथा भदौमा ३.९२ प्रतिशतले असुली घटेको छ ।
चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि नेपालगन्ज भन्सार कार्यालयलाई २४ अर्ब ५४ करोड ५७ लाख ४२ हजार रूपैयाँ वार्षिक राजश्व लक्ष्य दिइएको छ । बैशाखसम्मको असुलीलाई आधार मान्दा कार्यालयले हालसम्म वार्षिक लक्ष्यको करिब ६८.२० प्रतिशत मात्र पूरा गरेको छ ।
अब आर्थिक वर्ष समाप्त हुन जेठ र असार दुई महिना मात्र बाँकी रहँदा वार्षिक लक्ष्य भेट्टाउन अझै ७ अर्ब ८० करोड ५९ लाख ८३ हजार रूपैयाँ राजश्व संकलन गर्नुपर्ने देखिन्छ । अर्थात् बाँकी दुई महिनामा औसत मासिक करिब ३ अर्ब ९० करोड ३० लाख रूपैयाँ राजश्व उठाउनुपर्ने अवस्था छ । जबकि चालु आर्थिक वर्षको पहिलो दश महिनाको औसत मासिक संकलन करिब १ अर्ब ६७ करोड ४० लाख रूपैयाँ मात्रै रहेको छ ।
आयातको मात्रा, पेट्रोलियम पदार्थ तथा सवारीसाधनको कारोबार, औद्योगिक कच्चा पदार्थको आयात तथा समग्र आर्थिक गतिविधिले आगामी दुई महिनाको राजश्व संकलनमा प्रत्यक्ष प्रभाव पार्नेछ । हालको प्रवृत्ति कायम रहेमा वार्षिक लक्ष्य हासिल गर्न चुनौतीपूर्ण देखिए पनि अन्तिम दुई महिनामा आयात वृद्धि भए लक्ष्य नजिक पुग्ने सम्भावना भने कायम रहेको छ ।
