चार प्रतिशत विद्यार्थी विद्यालय बाहिरै

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा रेडियो कृष्णसार एफएम नेपालगन्जको समन्वयमा “भर्ना अभियान र विद्यालय बाहिर रहेका बालबालिकाको शिक्षामा पहुँच बढाउन सरोकारवालाको भूमिका” विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खा बहादुर थापाले नेपालगन्जमा अझै करिब ४ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेको जानकारी दिनुभयो। लक्षित वर्गका बालबालिकालाई विद्यालयमा ल्याउन शैक्षिक सामग्री सहयोग, जनप्रतिनिधिसँग समन्वय तथा विशेष अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो। भर्नाभन्दा पनि विद्यार्थीलाई विद्यालयमा टिकाइराख्नु अहिलेको मुख्य चुनौती रहेको उहाँको भनाइ थियो ।

शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईंले विद्यालय बाहिर रहेका बालबालिकाको यथार्थ तथ्यांक संकलन गर्न समुदायिक अध्ययन केन्द्र, विद्यालय तथा गैरसरकारी संस्थालाई परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नबिन गिरीले विद्यार्थीलाई विद्यालयमा भर्ना गराउनु मात्र नभई टिकाउने र सिकाइ उपलब्धि बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। स्थानीय सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थाअनुसार रणनीति बनाएर अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।

गैरसरकारी संस्था महासंघ बाँकेका कार्यवाहक अध्यक्ष मन प्रसाद भण्डारीले कार्यक्रममा उठेका सुझाव कार्यान्वयन गर्न सके शिक्षाका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले आधारभूत तहसम्मको शिक्षा विद्यालयमै प्रभावकारी बनाउनुपर्ने तथा माध्यमिक तहका विद्यार्थीलाई रोजगारी र सीपसँग जोड्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिका अध्यक्ष सुमोद रिजालले शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्ष जिम्मेवार रहेको बताउँदै नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालगन्ज नगर शिक्षा समितिका सदस्य गोकर्ण अचार्यले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनीहरूका लागि विशेष कार्यक्रम, शैक्षिक सामग्री, स्रोत कक्षा तथा शिक्षक तालिम आवश्यक रहेको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका महिला विकास अधिकृत आशा कुमारी शाहीले अभिभावकको सचेतनाको अभाव, जन्मदर्ता तथा नागरिकतासम्बन्धी समस्याका कारण बालबालिकाको शिक्षामा पहुँच प्रभावित भइरहेको बताउनुभयो ।

शिक्षाविद् किरण अचार्यले सामुदायिक विद्यालयमा योग्य शिक्षक भए पनि सिकाइ पद्धतिमा सुधार आवश्यक रहेको बताउँदै बालबालिकालाई प्रारम्भिक तहदेखि नै पढ्ने, लेख्ने र सीप सिक्ने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा सरोकारवालाले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रम, अभिभावक सचेतना, विद्यालय छोड्ने दर न्यूनीकरण, बालश्रम तथा बालविवाह नियन्त्रण, अपाङ्गतामैत्री शिक्षा र स्थानीय तहको स्पष्ट शिक्षा योजनाको आवश्यकता औँल्याएका थिए ।

विद्यार्थी प्रतिनिधिहरू प्रिन्सी थापा मगर, टंक प्रसाद उपाध्याय र सुमित्रा मल्लले विद्यालय बाहिर रहेका बालबालिकाको खोजी, बालश्रम र बालविवाह नियन्त्रण तथा कमजोर विद्यार्थीलाई सहयोग गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रमको सञ्चालन रेडियो कृष्णसार एफएमका स्टेशन म्यानेजर साबित्री गिरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक शम्भु थारुले व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

Exit mobile version