तातो हावाको जोखिम न्यूनीकरणमा सचेतना आवश्यक
बढ्दो गर्मी र तातो हावाको प्रभावबाट जनस्वास्थ्यमा पर्ने जोखिमबारे सचेतना फैलाउने उद्देश्यले नेपालगन्जमा मंगलबार ‘हिट एक्सन डे’ मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले ‘बिट दि हिट ! घरभित्रको गर्मी ः घरभित्र सामना गर्नुपर्ने स्वास्थ्य जोखिमको पहिचान र त्यस विरुद्ध आवश्यक कार्य’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले तातो हावाको असर अहिले सबै समुदाय र उमेर समूहमा देखिन थालेकाले दैनिक जीवनशैलीमै परिवर्तन आवश्यक रहेको बताएका छन् । उनीहरूले अत्यधिक गर्मीबाट जोगिन सचेतना, प्रचारप्रसार र स्थानीय तहको सक्रियता अझ बढाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले गर्मीका कारण प्रभावित हुने सर्वसाधारणलाई तत्काल राहत दिन नेपालगन्जको बसपार्क क्षेत्रमा कुलिङ सेन्टर सञ्चालन गरिएको जानकारी दिए । उनले उक्त काम नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वयमा गरिएको बताए । ‘तातो हावाको लहर अहिले ठूलो चुनौती बन्दै गएको छ । यसबाट जोगिन व्यापक प्रचारप्रसार गर्न जरुरी छ,’ उनले भने ।
वडाध्यक्ष समेत रहेका नेपालगन्ज उपमहानगरपालिका विपद् समिति संयोजक समीर प्रताप सिंहले तातो हावासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा रेडक्रसलाई धन्यवाद दिए । उनले उपमहानगरपालिकाले पनि योजनाबद्ध रूपमा तातो हावासम्बन्धी कार्यहरू कार्यान्वयन गरिरहेको बताए । ‘गर्मीको प्रभाव हरेक वर्ष बढ्दो छ । त्यसैले स्थानीय सरकारले तयारीका साथ काम गरिरहेको छ,’ उनले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले तातो हावाको असर कुनै एक वर्गमा मात्रै सीमित नरहेको उल्लेख गरे । उनले बदलिँदो मौसमसँगै मानिसले आफ्नो दैनिकी र कार्यशैली पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘अब गर्मीलाई सामान्य रूपमा लिएर मात्रै पुग्दैन । स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सबै सचेत हुनुपर्छ,’ उनले भने ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, १४, १९, २१ र २२ का जनप्रतिनिधि, उपमहानगरपालिकाका प्रतिनिधि, रेडक्रसका स्वयंसेवक, कर्मचारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो । हिट एक्सन डे हरेक वर्ष जुन २ मा विश्वभर मनाइने गरिन्छ ।
नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कार्यालय प्रमुख दोलखबहादुर डाँगी तथा नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीलगायतले पनि तातो हावा र त्यसबाट बच्ने उपायबारे धारणा राखेका थिए । कार्यक्रमका फोकल पर्सन झविलाल शर्माले तातो हावाको प्रभाव, जोखिम र सावधानीका उपायबारे प्रस्तुतीकरण गरेका थिए ।
