नेपालगन्जमा दोस्रो ‘माननीय’ कप क्रिकेट

प्रतिस्पर्धामा स्थानीय १६ वडा

नेपालगन्जमा अन्तर वडा स्तरीय दोस्रो ‘माननीय’ कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको प्रदेशसभा सदस्य अम्बिका काफ्लेले मंगलवार शुभारम्भ गरिन् ।

भेरी रकर्स स्पोट्र्स क्लब नेपालगन्जको आयोजनामा विशाल चोकस्थित खुला मैदानमा प्रतियोगिता सुरु गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका १६ वटा वडाले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य काफ्लेले क्रिकेटमार्फत नयाँ खेलाडी उत्पादन र स्थानीय प्रतिभालाई अवसर दिने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएकोमा खुशी व्यक्त गरिन् ।

उद्घाटन कार्यक्रममा काफ्लेले नेपालगन्ज क्रिकेटका लागि उर्वर भूमि रहेको उल्लेख गर्दै खेल क्षेत्रको विकासमा आफूले निरन्तर सहयोग गर्दै आएको बताइन् । उनले ‘नयाँ खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्छन् । गत वर्षदेखि मैले क्रिकेटको विकासका लागि सहयोग गर्दै आएको छु, आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु’ भनिन् ।

प्रतियोगितालाई लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जले आर्थिक सहयोग गरेको क्लबका महासचिव साहिल अन्सारीले बताए । उनका अनुसार, स्थानीय तहस्तरमै क्रिकेट गतिविधि विस्तार गर्ने र युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रममा वक्ताहरूले नेपालगन्ज क्रिकेट गतिविधिका हिसाबले सम्भावनायुक्त क्षेत्र भएको धारणा राखेका थिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न मद्दत पुग्ने बताए । बास नेपालका अध्यक्ष शिव कुमार बर्मा र समाजसेवी डिला शाहले पनि यस्ता प्रतियोगिताले युवालाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ की वडा सदस्य रुमिता श्रेष्ठले स्थानीय स्तरमा भइरहेका खेलकुद गतिविधिले खेल संस्कृतिलाई बलियो बनाइरहेको बताइन् । सहभागी टोलीहरूबीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रम भेरी रकर्स स्पोट्र्स क्लबका अध्यक्ष मो. साजिद खानको अध्यक्षतामा आयोजना भएको हो । गत वर्षदेखि खेलाडी प्रोत्साहनका लागि प्रदेश सभा सदस्य काफ्लेकै अवधारणामा प्रतियोगिता शुरुवात गरिएको हो ।

Exit mobile version