शल्यक्रियापछि महिलाको मृत्यु

केयर सिटी अस्पतालमाथि छानविन मागनेपालगन्जस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि घटनालाई लिएर विवाद उत्पन्न भएको छ । मृतकका आफन्तले चिकित्सकीय लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । अस्पताल प्रशासनले भने उपचारमा कुनै कमी नगरेको दाबी गर्दै जिल्ला प्रशासन कार्यालयलाई छानविनका लागि अनुरोध गरेको जनाएको छ ।नेपालगन्ज उपमहानगरपालिका–४ निवासी ३५ वर्षीया शीला श्रेष्ठको विहीवार उपचारका क्रममा मृत्यु भएको हो । उनी पाठेघरसम्बन्धी समस्याको उपचारका लागि नियमित रुपमा अस्पतालमा फलोअप गराउँदै आएकी थिइन् । दुई महिनाअघि पनि उनकै उपचार सोही अस्पतालमा गरिएको थियो । अस्पतालका प्रशासन प्रमुख जनक सिंहले शल्यक्रियाका क्रममा अचानक स्वास्थ्य अवस्था जटिल बनेपछि उनको मृत्यु भएको बताए । उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘उपचारका सबै विधि अपनाइएको थियो । कुनै पनि उपचारमा कमी गरिएको छैन । घटनाको वास्तविकता बाहिर ल्याउन जिल्ला प्रशासन कार्यालयलाई छानविनका लागि अनुरोध गरेका छौं ।’ अस्पतालका अनुसार, शीलाको पाठेघरमा बच्चा बस्ने स्थानमा मासु पलाएको थियो । सोही समस्याका कारण गर्भ रहन नसकेको बताइएको छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राजन महतले उनको उपचार गर्दै आएका थिए । पलाएको मासु निकाल्न विहीवार बिहान शल्यक्रिया गर्ने तयारी गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार शीला बिहान करिब साढे ७ बजे अस्पताल पुगेकी थिइन् । उनलाई ‘डायग्नोस्टिक ल्याप्रोहिस्टेरोस्कोपी’ विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ । यसअघि पनि दुई महिनाअघि सोही प्रविधिबाट पाठेघरको परीक्षण गरिएको थियो । उपचारमा संलग्न डा. महतका अनुसार, ‘हिस्टेरोस्कोपी अन्डर आइभिए’ प्रक्रिया चलिरहेका बेला अचानक बिरामीको मुटुको चाल र रक्तचाप घटेको थियो । उनले शल्यक्रियाका क्रममा बिरामीमा ‘एस्पिरेट’ भएको दाबी गरे। अचानक घाँटी सर्केर कुनै पदार्थ सास नली वा फोक्सोभित्र पुग्ने अवस्थालाई चिकित्सकीय भाषामा ‘एस्पिरेट’ भनिन्छ । डा. महतले भने, ‘अचानक मुटुको चाल र ब्लड प्रेसर घट्यो । त्यसपछि तत्काल सिपिआर सुरु गरिएको थियो ।’ उनले त्यसपछि थप उपचार प्रक्रिया पनि अपनाइएको बताए । अस्पतालका अनुसार बिरामीमा ‘एनाफाइलेक्सिस’ र ‘एस्पिरेशन’ सम्बन्धी जटिलता देखिएपछि तुरुन्तै आपतकालीन उपचार सुरु गरिएको थियो । सिपिआर, इन्ट्युबेट तथा भेन्टिलेटर सपोर्टमार्फत लगातार प्रयास गरिएको अस्पतालको भनाइ छ । तर बिरामीको सासप्रश्वास र मुटुको चाल सामान्य अवस्थामा फर्किन नसक्दा मृत्यु भएको अस्पतालले जनाएको छ । उपचार प्रक्रियामा सुधार नआएपछि बिरामीलाई इन्ट्युबेट गरिएको थियो । इन्ट्युबेट भन्नाले बिरामीको सास सञ्चालन गराउन श्वासनलीभित्र ट्युब हाल्ने प्रक्रिया हो । त्यसपछि पनि स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको अस्पताल स्रोतले जनाएको छ । घटनापछि अस्पतालमा पुगेका परिवारका सदस्यले उपचार प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् । उनीहरुले शल्यक्रियाका क्रममा वास्तवमा के भयो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेका छन् । उपचारमा कुन विधि अपनाइयो, स्वास्थ्य अवस्था कसरी जटिल बन्यो र मृत्यु हुनुको वास्तविक कारण के हो भन्ने विषयमा निष्पक्ष छानविन हुनुपर्ने उनीहरुको माग छ । आफन्तहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रशासन र सम्बन्धित निकायले गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने बताएका छन् । घटनापछि अस्पताल परिसरमा केही समय तनावसमेत देखिएको थियो ।

Exit mobile version