नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा बनाउने भनिएको क्रिकेट मैदानको निर्माण कार्य विभिन्न कारणले अघि बढ्न नसकेपनि पुनः त्यसका लागि पहल अगाडि बढाइएको छ । नेपालगन्ज उपमहानगरपालिका र बाँके क्षेत्र नं. २ का संघीय सांसद मो. इस्तियाक राईले वडा नं. ६ मा क्रिकेट मैदान बनाउनका लागि पहल थालेका हुन् । पोखरीमा क्रिकेट मैदान बनाउन लागेको भन्दै अदालत मा मुद्दा परेपछि उपमहानगरपालिकाको क्रिकेट मैदान बनाउने योजना अलपत्र परेको थियो । अदालतले जग्गा संरक्षण गर्न र अन्य कुनै संरचना निर्माण नगर्न आदेश दिएको थियो । उक्त स्थानको केही क्षेत्रमा उपमहानगरपालिकाले जग्गा संरक्षणका लागि पर्खाल लगाएको छ । अदालतले पोखरीको अतिक्रमण खाली गर्न समेत आदेश दिएको थियो । अदालतको आदेश पछि रोकिएको काम मन्त्रीपरिषद्ले निर्णय नगरी अगाडि बढ्न नसक्ने अवस्था रहेको जनप्रतिनिधि बताउँछन् । त्यसका लागि उपमहानगरपालिकाले निर्णय गरी सम्बन्धित मन्त्रालय फायल पठाएपनि त्यहाँबाट फाइल अगाडि नबढ्दा क्रिकेट मैदानका लागि बजेट विनियोजन हुन सकेको थिएन । गत बैशाख ३१ गते भएको उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा क्रिकेट मैदानबारे प्रश्न उठेपछि नगर प्रमुख प्रशान्त विष्टले आगामी असारभित्र मन्त्रालयमा पुनः डेलिगेशन जानेर स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले क्रिकेट रङ्गशाला निर्माण छिट्टै सुरु हुने बताएका छन् । त्यसका लागि आफुले पहल गरेको र बजेट समेत विनियोजन भैसकेको सांसद राई बताउँछन् । सांसद राईले समयमै बजेट प्राप्त भएमा डेढ वर्षभित्र क्रिकेट रङ्गशाला निर्माण सम्पन्न हुने अनुमान गरिएको बताएका छन् ।नेपालगन्जमा फुटबलका लागि अन्तर्राष्ट्रिय स्तरको भव्य मैदान रहेको छ । कर्बड हल, स्विमिङ्ग, भारोत्तोलन, सुटिङ्ग जस्ता खेलका लागि पूर्वाधार रहेका छन् । नेपालगन्जले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरू पनि जन्माएको छ । तर, ती खेलाडीका लागि नियमित प्रशिक्षण, अभ्यास र प्रतियोगिताका खेल मैदान भने छैन ।नेपालगन्जमा हाल क्रिकेट रङ्गशाला नहुँदा गणेशपुर, विशालनगरलगायत स्थानका खुला मैदान तथा खेतमै विभिन्न स्तरका क्रिकेट प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । बर्षौैदेखि मंगल माविको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने गरेका छन् । तत्कालीन नगर प्रमुख डा. धवल समशेर राणाको कार्यकालमा उपमहानगरपालिकाले क्रिकेट मैदानका लागि जग्गा खोज्नका लागि तत्कालीन वडा नं. २ का वडाध्यक्ष सुनिल सिंह हमालको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले नगर क्षेत्रमा रहेको सरकारी जग्गाहरू पहिल्याउँदै मैदानका लागि वडा नं. ६ मा रहेको जग्गा उपयुक्त हुने टुङ्गो लगाएको थियो । फुल्टेक्रा खाली रहेको कुल १० विगाह ५ कठ्ठा २ धुर जग्गा मध्ये ५ विगाह क्रिकेट मैदानका लागि छुट्याउने सहमति गरिएपनि पछि स्थानीयले असहमति जनाएका थिए भने मुद्दा अदालतसम्म पुगेको थियो । त्यहाँ रहेको ३ विगाह जग्गामा कर्बला र बाँकी जग्गा वडा कार्यालय, हिन्दु, फराकिलो बाटो र पार्किङ्गका लागि उपयोग गर्ने गरी पोखरी सम्याउने कार्य अदालतको अन्तरिम आदेश पछि रोकिएको थियो ।
बन्ला क्रिकेट मैदान ?
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
बाढीपीडितका लागि नेपालगन्जका अस्पतालले जुटाए ६० लाख ७८ हजार
by
Dainik Nepalgunj
September 7, 2026
लुम्बिनीको सत्ता समीकरणमा इस्तियाक राईको ‘गणित’
by
Dainik Nepalgunj
September 7, 2026
लुम्बिनीमा सत्ता राजनीतिको हिसाब
by
Dainik Nepalgunj
September 7, 2026
रोटरी सेन्ट्रल बाँकेको २ लाख ५९ हजारको राहत
by
Dainik Nepalgunj
September 7, 2026
कृषकलाई कालो बेसार
by
Dainik Nepalgunj
September 6, 2026