नेपालगञ्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालय (LTU) ले “Technology for Transformation: Engineering & IT Solutions for Lumbini Province’s Development” भन्ने मूल नारासहित आगामी जेठ २३ र २४ गते नेपालगञ्जमा National Conference-2026 आयोजना गर्ने भएको छ। सम्मेलनबारे जानकारी दिन विश्वविद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
विश्वविद्यालयका इन्जिनियरिङ तथा सूचना प्रविधि संकायका डिन डा. निरज के.सी. ले प्रविधि र नवप्रवर्तनमार्फत लुम्बिनी प्रदेशको दिगो विकासका लागि व्यावहारिक समाधान खोज्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार सम्मेलनमा इन्जिनियरिङ, सूचना प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनसँग सम्बन्धित विविध विषयमा विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूको सहभागिता रहनेछ।
डा. के.सी.ले नेपालगञ्जको गर्मी, पानी व्यवस्थापन तथा स्थानीय विकासका चुनौतीहरूलाई समेत सम्मेलनमा विशेष रूपमा उठाइने बताए। सम्मेलनले शैक्षिक संस्था, उद्योग तथा सरकारी निकायबीच सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
विश्वविद्यालयका उपकुलपति प्रोफेसर विनोदप्रसाद ढकाल ले बाँके, बर्दिया, सुर्खेत, बुटवललगायत विभिन्न जिल्लाबाट विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिए। उनले नेपालगञ्जलाई प्रविधि तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए। साथै देशभरका विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा पीएचडी स्कलरहरूले प्रविधिमा आधारित अनुसन्धानमूलक कार्यपत्र तथा मौखिक प्रस्तुति (Oral Presentation) गर्ने कार्यक्रम रहेको जानकारी दिए।
त्यसैगरी विश्वविद्यालयका रजिष्ट्रार एसोसिएट प्रोफेसर रेगबहादुर भण्डारी ले सम्मेलनमा “नेपालगञ्जलाई टेक हबका रूपमा कसरी विकास गर्न सकिन्छ?” भन्ने विषयमा विशेष प्यानल छलफल आयोजना गरिने बताए। विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागितामा हुने उक्त छलफलमा नेपालगञ्जलाई सूचना प्रविधि र नवप्रवर्तनको केन्द्रका रूपमा अगाडि बढाउने सम्भावनाबारे गहन बहस हुने उनले बताए।
उनका अनुसार दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा विकाससँग सम्बन्धित विभिन्न विषयमा छलफल हुनेछ। विज्ञहरूबाट प्राप्त सुझाव र निष्कर्षले प्रदेशको विकासमा इन्जिनियरिङ तथा सूचना प्रविधिको प्रभावकारी उपयोगका लागि नयाँ मार्गनिर्देशन प्रदान गर्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार सम्मेलनमा प्रस्तुत हुने अनुसन्धानमूलक कार्यपत्र, प्राविधिक छलफल तथा अन्तरक्रियाले लुम्बिनी प्रदेशको विकासमा प्रविधिको भूमिकाबारे नयाँ दृष्टिकोण स्थापित गर्ने विश्वास गरिएको छ।
