नेपालगन्जमा लापरबाहीले आगलागीको जोखिम

नेपालगन्ज उपमहानगरपालिकाभित्र लापरबाहीका कारण आगलागीको जोखिम बढ्नुका साथै मुख्य बजार क्षेत्रमा सुरक्षा उपस्थिति फितलो देखिएको छ।

शनिबार दिउँसो आन्तरिक राजस्व कार्यालय अगाडि केही व्यक्तिहरूले जथाभाभी फोहोर वस्तु जलाउँदा विद्युत ट्रान्सफर्मरमुनि अचानक आगजनी भएको छ। ट्रान्सफर्मरमुनि सल्किएको आगोका कारण सो क्षेत्रमा केही बेर तनाव उत्पन्न भएको थियो भने विद्युत आपूर्ति अवरुद्ध हुने र ठूलो दुर्घटना हुन सक्ने जोखिम बढेको थियो। अत्यधिक गर्मीको समयमा बजार क्षेत्रमै यसरी लापरबाहीपूर्वक फोहोर जलाउँदा पनि नियमनकारी निकायले चासो नदिएको स्थानीयको गुनासो छ।

प्रत्यक्षदर्शी अधिवक्ता विकाश आचार्यका अनुसार, एकातर्फ बजार क्षेत्रमा आगजनीको जोखिम बढिरहँदा अर्कोतर्फ नगरका मुख्य तथा संवेदनशील चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति शून्य देखिएको छ। शनिबार दिउँसो नेपालगन्जका व्यस्त मानिने गणेशमान चोक र वि.पि. चोकमा कुनै पनि सुरक्षाकर्मी वा ट्राफिक प्रहरी देखिएनन्।

गर्मी र व्यस्त समयमा मुख्य चोकहरू नै सुरक्षाकर्मीविहीन हुँदा तीव्र गतिमा गुड्ने सवारी साधनका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै नगरको शान्ति सुरक्षामा समेत प्रश्न उठेको छ। स्थानीय बासिन्दाले बजार क्षेत्रमा हुने यस्ता लापरबाही रोक्न र मुख्य चोकहरूमा नियमित प्रहरी परिचालन गर्न माग गरेका छन्।

Exit mobile version