बाँकेको संस्थागत विद्यालय क्षेत्रमा पुर्याएको विशिष्ट शैक्षिक योगदानको उच्च कदर गर्दै गोल्डेन एबिसी बाँके एकेडेमीका प्रबन्ध निर्देशक विकास बहादुर सिंह सम्मानित हुनुभएको छ ।
मुस्लिम समुदायको केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिको वार्षिक साधारण सभाको अवसर पारेर उहाँलाई आज शनिवार एक विशेष समारोहका बीच सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र समितिका अध्यक्ष गुलाम हुसैन (फिरोज) हलवाईले संयुक्त रूपमा निर्देशक सिंहलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
लामो समयदेखि बाँकेको शैक्षिक उन्नयन र संस्थागत विद्यालयहरूको सुदृढीकरणमा सिंहले निर्वाह गरेको भूमिकाको मुस्लिम समुदायले उच्च प्रशंसा गरेको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त बिष्टले सिंहजस्ता व्यक्तित्वहरूको निरन्तरको प्रयासले नै नेपालगन्ज र समग्र बाँके जिल्लाको शैक्षिक स्तर माथि उठ्न सहयोग पुगेको बताउनुभयो ।
त्यसैगरी समितिका अध्यक्ष गुलाम हुसैन हलवाईले शिक्षा क्षेत्रमा विना भेदभाव सबै समुदायका बालबालिकाको पहुँच पुर्याउन सिंहले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा चिकित्सा क्षेत्रमा योगदान दिएकोमा एक जना डाक्टर हुस्नेआरा हक र वरिष्ठ पत्रकार झलक गैरेलाई पनि सम्मान गरिएको थियो।
केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिको वार्षिक साधारण सभामा मुस्लिम समुदायका अगुवाहरू, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सभामा समितिको वार्षिक प्रगति प्रतिवेदन र आगामी योजनाहरूमाथि छलफल हुनुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई प्रोत्साहित गरिएको थियो ।
