सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय अभिमुखीकरण

बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि अभियान शुरु गरेको छ । रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनुपर्ने कुराहरुको बारेमा घरपरिवारका सदस्यलाई जानकारी दिन थालिएको हो । नेपालबाट रोजगारीका लागि जाने अधिकाँस युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानुभन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिने बारे जानकारी गराइनेछ ।

डुडुवा गाउँपालिका रोजगार शाखाले पालिकाका सबै वडालाई समेटर गाउँ टोलका अभिभावक, युवालगायतलाई जानकारी दिन लागेको छ । वडा नंं–५ पदमपुरस्थित सामुदायिक अभिमुखीकरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतना कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यस्ता कार्यक्रमले पालिकाबासीलाई सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी अभिभावक, युवा, तथा विदेशबाट फर्किएका युवाहरु गरी करिब ५० बढीको सहभागिता रहेको थियो । सुरक्षित आप्रवान (सामी) कार्यक्रम अन्र्तगत सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विभिन्न जानकारी प्रदान गरिएको थियो ।

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने युवायुवती तथा तिनका परिवारलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

सहभागीहरूलाई वैदेशिक रोजगारमा जानुअघि पूरा गर्नुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, रोजगारदातासँगको सम्झौता, बीमा, सीप तथा अभिमुखीकरण तालिम, वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सेवासुविधा, विदेशमा श्रमिकको अधिकार तथा कर्तव्य लगायतका विषयमा जानकारी प्रदान गरिएको गाउँपालिकाका रोजगार संयोजक अल्का मिश्रले जानकारी दिनुभयो ।

कार्यक्रममा विदेश जाने युवाले देशको बारे जानकारी लिने, रोजगारीका लागि सिप अनिवार्य हुनुपर्ने सामी कार्यक्रमका जिल्ला संयोजक कमल सिंहले बताउनुभयो । उहाँले वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन, ठगी, झुटा प्रलोभन तथा अवैधानिक माध्यमबाट विदेश जाने प्रवृत्तिबाट सावधान रहन आग्रह गर्नुभयो ।
कार्यक्रमका सहभागीले वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए । डुडुवाको ६ वटै वडामा अभिमुखीकरण कार्यक्रम संचालन गरिने जनाइएको छ ।

Exit mobile version