पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा शनिबार नेपालगन्जमा आयोजना भएको छ ।
समाजका सचिव नरेन्द्र थापाका अनुसार, साधारणसभामा खेलकुद क्षेत्रको विकास, पूर्व खेलाडीहरूको भूमिका, संगठन विस्तार तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको छ । अग्रज र युवा खेलाडीहरूको उल्लेखनीय उपस्थितिबीच सम्पन्न कार्यक्रमले संस्थालाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
साधारणसभाको बन्द सत्रमा महासचिव जयन्त कुमार शर्माले संस्थाको वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा वर्षभर सञ्चालन गरिएका गतिविधि, सदस्यता विस्तार, खेलाडी सम्मान, सामाजिक अभियान तथा आगामी योजनाबारे जानकारी समेटिएको थियो । त्यसैगरी कोषाध्यक्ष बिरेन्द्रमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्यय विवरण, संस्थाको आर्थिक अवस्था र आगामी वर्षको प्रस्तावित बजेटबारे जानकारी दिएका थिए । प्रस्तुत दुवै प्रतिवेदनमाथि सदस्यहरूले सुझावसहित छलफल गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन पूर्व खेलाडीहरूको अनुभवलाई उपयोग गर्नुपर्नेमा जोड दिएका थिए । विभिन्न खेल विधासँग सम्बन्धित करिब ६० जना अग्रज तथा युवा खेलाडीहरूको सहभागिता रहेको साधारणसभामा भावी कार्यदिशा र संगठन विस्तारका विषयमा समेत महत्वपूर्ण निर्णय गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले नेपालगन्ज खेलकुद गतिविधिका हिसाबले महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको बताए । उनले स्थानीय सरकारले खेल पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन तथा खेलमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गरे । ‘खेलकुद क्षेत्रको विकासमा पूर्व खेलाडीहरूको अनुभव र सुझाव अपरिहार्य हुन्छ,’ उनले भने, ‘आगामी दिनमा समाजसँग सहकार्य गरेर अघि बढ्छौं ।’
विशेष अतिथि सुरेन्द्र हमालले खेलकुद राष्ट्रको पहिचान र गौरवसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताए । उनले पूर्व खेलाडीहरूको अनुभव, दक्षता र नेतृत्वलाई खेल विकासमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए । ‘खेल जीवनबाट प्राप्त अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘त्यसमा पूर्व खेलाडीहरूको भूमिका महत्वपूर्ण हुन्छ ।’
समाजका सल्लाहकार अजित कुमार शर्माले संस्थाले छोटो समयमै खेलकुद क्षेत्रमा सकारात्मक पहिचान बनाउन सफल भएको बताए । उनले संस्थागत सुदृढीकरण, खेलाडीबीच एकता र खेल विकासका लागि निरन्तर सक्रिय रहन आग्रह गरे ।
समापन मन्तव्य राख्दै समाजका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठले संस्थालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले पूर्व खेलाडीहरूको हकहित संरक्षण, अनुभव आदानप्रदान तथा युवा खेलाडीलाई प्रेरणा दिने उद्देश्यसहित आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताए । ‘पूर्व खेलाडीहरूको क्षमता र अनुभवलाई समाज तथा खेलकुद विकासमा उपयोग गर्ने दिशामा हामी अघि बढिरहेका छौं,’ उनले भने ।
कार्यक्रममा स्वागत मन्तव्य सहसचिव अभय कुमार बस्नेतले दिएका थिए । उनले समाजको स्थापना, उद्देश्य र हालसम्म सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराउँदै सदस्य तथा अतिथिप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव थापाले गरेका थिए ।
