ग्यालेक्सी दरवारको दशौं वार्षिकोत्सव

सामाजिक उत्तरदायित्वका कार्यक्रमसँगै नेपालगन्जस्थित होटल ग्यालेक्सी दरबारले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सव शनिवार भव्य रुपले मनाएको छ । वार्षिकोत्सवका अवसरमा होटलले जेष्ठ नागरिक र बालबालिकालाई भोजन गराउनुका साथै धार्मिक क्षेत्रको सरसफाइ अभियान सञ्चालन गरेको हो ।

शनिवार आयोजित कार्यक्रमअन्तर्गत मानव सेवा आश्रममा आश्रित ९० भन्दा बढी जेष्ठ नागरिक तथा बालबालिकालाई भोजन गराइएको होटलका म्यानेजर हस्त बहादुर विकले बताए । उनका अनुसार, वार्षिकोत्सवलाई औपचारिक समारोहमा सीमित नराखी समाजसँग जोडिने खालका कार्यक्रमलाई प्राथमिकता दिइएको थियो ।

होटलका कर्मचारीले प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा सरसफाइ पनि गरेका थिए । धार्मिक तथा सामाजिक क्षेत्रसँग सम्बन्ध जोड्दै सेवा भावका कार्यक्रम सञ्चालन गरिएको विकले जानकारी दिए। ‘वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा होइन, सामाजिक जिम्मेवारीसँग जोडेर मनाएका हौं,’ उनले दैनिक नेपालगन्जसँग भने ।

कार्यक्रमका क्रममा होटलमा कार्यरत कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गर्नुका साथै सबै कर्मचारीलाई उपहारसहित सम्मान गरिएको म्यानेजर विकले बताए । लामो समयदेखि संस्थाको विकासमा योगदान पु¥याएका कर्मचारीको मनोबल बढाउने उद्देश्यले सम्मान कार्यक्रम राखिएको उनले उल्लेख गरे ।

दश वर्षको यात्रामा ग्राहकको विश्वास, कर्मचारीको मेहनत र समाजको साथले होटललाई यहाँसम्म ल्याएको व्यवस्थापन पक्षको भनाइ थियो । होटलले आगामी दिनमा पनि सेवा, आतिथ्यता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने जनाएको छ ।

Exit mobile version