आदर्शमा अभिभावक अभिमुखिकरण

विद्यार्थीको शैक्षिक उपलब्धिसँगै चरित्र निर्माण, अनुशासन र व्यवहारिक सीप विकासमा घर–विद्यालय सहकार्य अपरिहार्य रहने उद्देश्यसहित आदर्श माध्यमिक विद्यालय, नेपालगन्जले ‘अभिभावक अभिमुखीकरण कार्यक्रम–२०८३’ आयोजना गरेको छ । कक्षा १२ सम्म अध्ययन हुने विद्यालयले आयोजना गरेको कार्यक्रम उत्साहपूर्ण सहभागिताका बीच सम्पन्न भएको हो ।

‘घर र विद्यालयको सहकार्य, गुणस्तरीय भोलिको नेतृत्व’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यार्थीको सर्वांगीण विकासलाई केन्द्रमा राखेर छलफल गरिएको थियो। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यालय प्रशासन र शिक्षा क्षेत्रसँग सरोकार राख्ने व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको विद्यालयका प्राचार्य महेश्वर जोशीले जानकारी दिए ।

आदर्शका अध्यक्ष सन्जय थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय प्रशासनले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जिम्मेवार, सक्षम र समाजप्रति उत्तरदायी नागरिकका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । कार्यक्रममा २१औं शताब्दीको प्रतिस्पर्धी परिवेशमा आवश्यक नेतृत्व क्षमता, व्यवहारिक शिक्षा, नैतिक मूल्य र जीवनोपयोगी सीप विकासका विषयमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य जोशीले विद्यार्थीको भविष्य निर्माणमा अभिभावक र विद्यालयबीचको सहकार्य सबैभन्दा बलियो आधार भएको बताए । उनले ‘सिकाइ, अनुशासन, चरित्र निर्माण र जीवनोपयोगी सीप विकासमा शिक्षक र अभिभावकको साझा जिम्मेवारी रहन्छ’ भने । निरन्तर संवाद, विश्वास र सहकार्यबाट मात्रै गुणस्तरीय शैक्षिक उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।

विद्यालयका सह–प्राचार्य टंक गौतमले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका संस्थापकहरू डा राजकुमार सुवेदी, ईश्वरप्रसाद पोख्रेल, मुकेश गुप्ता लगायतले अभिभावकसँग विद्यार्थीका आधारभूत प्राथमिकताबारे उत्प्रेरित धारणा राखेका थिए ।

Exit mobile version