प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै लुम्बिनी प्राविधिक विश्वविद्यालय द्वारा आयोजित “परिवर्तनका लागि प्रविधि” विषयक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनमा इन्जिनियरिङ, सूचना प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनमा लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधिमा आधारित व्यावहारिक समाधान खोज्ने, शैक्षिक संस्था, उद्योग र सरकारी निकायबीच सहकार्य विस्तार गर्ने तथा अनुसन्धानलाई प्रवर्द्धन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सम्मेलनको उद्घाटन गरेका थिए। उनले आगामी आर्थिक वर्षमा विश्वविद्यालयका लागि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सूचना प्रविधि संकायका डिन डा. निरज के.सी.ले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधि र नवप्रवर्तनमा आधारित व्यावहारिक समाधान खोज्ने उद्देश्य राखिएको बताए। उनका अनुसार नेपालगञ्जको बढ्दो गर्मी, पानी व्यवस्थापन समस्या तथा स्थानीय विकासका चुनौतीहरूलाई विशेष रूपमा छलफलमा समावेश गरिएको थियो।
उपकुलपति प्रोफेसर विनोदप्रसाद ढकालले बाँके, बर्दिया, सुर्खेत, बुटवललगायत विभिन्न जिल्लाबाट विद्यार्थीहरूको सहभागिता रहेको उल्लेख गर्दै नेपालगञ्जलाई प्रविधि तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य सम्मेलनको प्रमुख लक्ष्य रहेको बताए।
त्यसैगरी रजिष्ट्रार एसोसिएट प्रोफेसर रेगबहादुर भण्डारीले “नेपालगञ्जलाई टेक हबका रूपमा कसरी विकास गर्न सकिन्छ?” भन्ने विषयमा विशेष प्यानल छलफल गरिएको जानकारी दिए। उक्त छलफलमा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूबीच नेपालगञ्जलाई सूचना प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने सम्भावनाबारे गहन बहस भएको थियो।
सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झा, प्रो. डा. विनय कुमार मिश्र, प्रो. डा. मनीष पोखरेल, डा. राजन सुवाल लगायतका विज्ञहरूले प्रविधि, अनुसन्धान र विकासका विविध आयाममा आफ्ना धारणा प्रस्तुत गरेका थिए। त्यसैगरी अन्य विज्ञहरूले डिजिटल नवप्रवर्तन, उद्यमशीलता र प्रदेश विकासका सम्भावनाबारे अनुभव आदानप्रदान गरेका थिए।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, डिजिटल रूपान्तरण, स्मार्ट पूर्वाधार, नवप्रवर्तनमा आधारित उद्यमशीलता तथा दिगो विकासमा प्रविधिको भूमिकाबारे केन्द्रित प्रस्तुति गरिएको थियो।
कार्यक्रम अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएका थिए। आयोजकका अनुसार सम्मेलनबाट प्राप्त निष्कर्षले लुम्बिनी प्रदेशको विकासमा इन्जिनियरिङ तथा सूचना प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउन तथा नेपालगञ्जलाई दीर्घकालीन रूपमा टेक हबका रूपमा विकास गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
