नौवस्ता कारागारको स्थलगत अध्ययन, सुधारात्मक कदम चाल्न सिफारिस

बाँकेको नौवस्ता स्थित कारागार कार्यालयको समग्र शान्ति सुरक्षा, भौतिक पूर्वाधार, मानवअधिकारको अवस्था र बन्दीहरूको अधिकारका सम्बन्धमा एक विस्तृत स्थलगत अनुगमन सम्पन्न भएको छ। एड्भोकेसी फोरम नेपाल र नेपालगञ्ज उच्च बार एशोसिएशनको संयुक्त टोलीले गरेको यस अनुगमनका क्रममा कारागारभित्रको अवस्था हाल सामान्य र नियन्त्रणमा रहेको पाइएको छ। कारागारलाई थप सुधारात्मक गृहका रूपमा रूपान्तरण गर्नका लागि केही महत्त्वपूर्ण सुधारहरू गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।

नेपालगञ्ज उच्च बारसँगको समन्वयमा एड्भोकेसी फोरम नेपालले कारागार कार्यालय नौवस्ता, बाँकेको स्थलगत भ्रमण तथा अनुगमन सम्पन्न भएको थियो ।
उक्त अनुगमन टोलीमा एड्भोकेसी फोरम नेपाल, लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता बसन्त गौतम र नेपालगञ्ज उच्च बारका कार्यसमिति सदस्य अधिवक्ता सुरेश कुमार गौतम सहभागी हुनुहुन्थ्यो। यस अनुगमनको मुख्य उद्देश्य कारागार व्यवस्थापनको वर्तमान अवस्था, कैदीबन्दीहरूले उपभोग गरिरहेका आधारभूत मानवअधिकार, मिति २०८३ साल जेठ १६ गते कारागारभित्र कैदीबन्दीहरू बीच भएको झडप र त्यसपछिको परिस्थितिको अध्ययन गर्नुका साथै कैदीबन्दीका गुनासा, समस्या र न्यायमा पहुँचको अवस्थाबारे तथ्यपरक जानकारी सङ्कलन गर्नु रहेको थियो। अनुगमनका क्रममा टोलीले कारागार कार्यालय नौवस्ताका जेलर बल बहादुर बस्नेतसँग कारागारको समग्र चुस्तता र सुरक्षा प्रबन्धबारे विस्तृत छलफल गर्नुका साथै कारागारभित्र रहेका आन्तरिक प्रशासनका प्रतिनिधिहरू तथा कैदीबन्दीहरूसँग समूहगत र व्यक्तिगत रूपमा अन्तर्क्रिया गरेको थियो। यसका साथै कारागारको भौतिक संरचना, सरसफाइ, खानेपानी, शौचालय तथा स्वास्थ्य सेवाको स्थलगत अवलोकन गर्नुका साथै जेठ १६ गते भएको घटनाको वस्तुस्थिति बुझ्न विभिन्न पक्षहरूसँग तथ्य सङ्कलन गरी कैदीबन्दीहरूलाई आवश्यक कानुनी परामर्श प्रदान र उनीहरूले उठाएका समस्याहरूको अभिलेखीकरण समेत गरिएको अनुगमनमा संलग्न अधिवक्ता बसन्त गौतमले जानकारी दिनु भयो ।

कारागारमा हाल कुल ७३० जना पुरुष कैदीबन्दीहरू रहेका छन्, जसमा महिला कैदीबन्दीहरूको सङ्ख्या शून्य रहेको छ। कानुनी अवस्थाका आधारमा हेर्दा, कुल सङ्ख्यामध्ये ४० जना थुनुवा ९मुद्दा किनारा लाग्न बाँकी० र ६९० जना अदालतको फैसला बमोजिम सजाय भुक्तान गरिरहेका कैदीहरू रहेका छन्। कारागारमा बन्दीहरूसँगै आश्रित २ जना बालबालिकाहरू समेत रहेका छन्। मुद्दागत आधारमा कैदीबन्दीको विस्तृत विवरण हेर्दा जबरजस्ती करणीमा २२४ जना, लागु औषधमा १८३ जना, कर्तव्य ज्यानमा १५३ जना, चोरीमा २७ जना, अपहरण तथा सार्वजनिक अपराधमा २२ जना, विविध कसुरहरूमा १८ जना, डाँका चोरीमा १६ जना, विभिन्न उद्योग (प्रयास) मुद्दाहरूमा १६ जना, सवारी ज्यानमा ११ जना, ज्यान मार्ने उद्योगमा ७ जना र हातहतियार तथा खरखजानामा २ जना रहेका छन् ।

नौवस्ता कारागारमा कुल ३२ जना विदेशी नागरिकहरू समेत सजाय भुक्तान वा अनुसन्धानका क्रममा रहेका छन्, जसमध्ये १ जना थुनुवा अवस्थामा छन् भने ३१ जनाको मुद्दा फैसला भई सजाय भुक्तान गरिरहेका छन्। विदेशी नागरिकहरूको मुद्दागत विवरण अनुसार लागु औषधमा १७ जना, चोरी तथा डाँका चोरीमा ५ जना, ज्यान मार्ने उद्योगमा ३ जना, जबरजस्ती करणीमा २ जना, कर्तव्य ज्यानमा २ जना र अन्य विविध कसुरमा १ जना रहेका छन्। अनुगमनका क्रममा गत जेठ १६ गते कारागारभित्र भएको घटनाका सम्बन्धमा विस्तृत तथ्य सङ्कलन गरिएको छ। जेलर बल बहादुर बस्नेतका अनुसार उक्त दिन दिउँसो करिब २ः३० बजे कारागारको ुबीु ब्लकमा विवाद उत्पन्न भएको थियो ।

कैलाली, बर्दिया तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूबाट स्थानान्तरण भई आएका केही कैदीबन्दीहरूले समूह निर्माण गरी कारागारको आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेपछि विवाद र असमझदारी बढेको पाइएको थियो। घटना लगत्तै कारागार प्रशासन र सुरक्षा निकायको सक्रियतामा सुरक्षा प्रबन्ध चुस्त बनाई स्थिति नियन्त्रणमा लिइएको थियो। उक्त घटनामा संलग्नताको पहिचान गरिएका करिब २० जना बन्दीहरूलाई तत्कालै दाङ, नवलपरासी लगायतका अन्य विभिन्न कारागारहरूमा स्थानान्तरण गरी सुरक्षा सन्तुलन कायम गरिएको छ र हाल कारागारको वातावरण शान्त र सामान्य रहेको पाईएको अनुगमनमा संलग्न अधिवक्ता बसन्त गौतमले जानकारी दिनु भयो । आन्तरिक प्रशासनका प्रतिनिधिहरूको भनाइ अनुसार, बाहिरका कारागारबाट स्थानान्तरण भई आएका केही व्यक्तिहरूले गुटबन्दी गरी कारागारभित्र चोरी गर्ने, भौतिक सामान तोдफोड गर्ने र अनावश्यक प्रभाव कायम गर्न खोजेका कारण ३ देखि ४ घण्टासम्म केही तनावपूर्ण स्थिति सिर्जना भएको थियो, जसका क्रममा जिम्मेवार व्यक्तिहरूमाथि सामान्य हातपात समेत भएको र केहीलाई टाउकोमा चोट लागेको जानकारी दिइएको थियो। तर हाल प्रशासनको सुझबुझपूर्ण कदमका कारण कारागारभित्र कुनै पनि गुटबन्दी नरहेको र सबै बन्दीहरू मिलेर बसिरहेका छन्।

कैदीबन्दीहरूसँगको समूहगत र व्यक्तिगत छलफलका क्रममा कारागारभित्र केही निकै सकारात्मक पक्षहरू पाइएका छन्, जसले कारागार सुधारतर्फ अघि बढिरहेको सङ्केत गर्दछ। बन्दीहरूले नियमानुसार पाउनुपर्ने सिधाखर्च र रासन नियमित एवं पारदर्शी रूपमा प्राप्त गरिरहेका छन् भने खानेपानीका लागि फिल्टरको व्यवस्था तथा पर्याप्त मात्रामा शौचालय र स्नानगृह बाथरुमको सुविधा उपलब्ध रहेको पाइएको छ। स्वास्थ्य क्षेत्रमा पनि गत वर्ष कारागारका कुल ४४५ जना कैदीबन्दीहरूको स्वास्थ्य बीमा सफलतापूर्वक सम्पन्न गरिएको छ, जसले उपचार प्रक्रियामा ठुलो राहत पुर्‍याएको छ। सामान्य बिरामीहरूको लागि कारागारभित्रै प्राथमिक उपचारको व्यवस्था छ भने गम्भीर बिरामी परेका कैदीबन्दीहरूलाई तत्काल कोहलपुरस्थित दशविघा अस्पताल तथा नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि पठाउने गरिएको छ।

Exit mobile version