राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेक कुमार श्रेष्ठ निर्वाचित भएका छन् । रास्वपामा सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ । तर, शनिबार भएको अधिवेशनमा सभापतिका चार उम्मेदवार मध्ये कसैले ५१ प्रतिशत ल्याएका थिएनन् ।
सभापति पदका लागि बढी मत ल्याउने दुई उम्मेदवार बीच पुनः मतदान हुनुपर्नेमा आपसी सहमतिमा श्रेष्ठलाई नेतृत्व दिइएको हो ।
रास्वपा नगर सपभाति नविन खड्काले सहमतिमै नेतृत्व टुंगो लगाउन सफल भएको जानकारी दिएका छन् ।
शनिबार भएको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदका उम्मेदवार विवेक कुमार श्रेष्ठले ८५ मत प्राप्त गरेका थिए । त्यस्तै, आनन्द बाबु काफ्लेले ५२, हरिपाल सिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गरेका थिए ।
उपसभापति पदमा विजयी ईश्वरी लामीछाने ११९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रामकुमार बिष्टले ६८ मत प्राप्त गरे । सचिव पदमा शुभम कुमार गुप्ता १०० मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गरेका छन् ।
सहसचिव पदमा फारुक गुज्जर निर्विचित भएका छन् ।
जातीय प्रतिनिधि सदस्यतर्फ कमर जहाँ १२१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सहजाद अली जोलाहले ५७ मत प्राप्त गरेका थिए ।
दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचित भएकी छन् भने मनोज नेपालीले ३७ मत प्राप्त गरेका छन् ।
खुला सदस्यतर्फ यमुना कुमारी थापा मगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ निर्वाचित भएका छन् । सदस्य पदका उम्मेदवार सौरभ कर्मचार्यले ७३ मत प्राप्त गरे ।
