डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशिल सुवेदीले वन्यजन्तुको तस्करी रोक्नका लागि नागरिक सचेत हुनुपर्ने बताएका छन् । खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले मुख्य नाकाबाहेक भित्री बाटोको पनि प्रयोग गर्न सक्ने भएकाले त्यसलाई रोक्नका लागि नागरिक पनि सचेत हुनुपर्ने बताएका हुन् ।
डिभिजन वन कार्यालय नेपालगन्जले आइतबार नेपालगन्जमा आयोजना गरेको दुर्लभ वन्यजन्तु संरक्षण तथा उद्दार सम्बन्धी अन्तरक्रियामा बोल्दै वरिष्ठ वन अधिकृत सुवेदीले नागरिकमा वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने चेतना वृद्धि भैरहेको बताए । उनले पहिले सर्प देख्ने वित्तिकै मार्ने गरेपनि पछिल्लो समय उद्दारका लागि प्रहरी तथा वन कार्यालयमा फोन गर्ने क्रम बढेको बताए । उनले यस बर्ष मात्र १ सय ५० को हाराहारीमा सर्पको उद्दार गरेको जानकारी दिए ।
स्वयंसेवी रूपमा सर्पको उद्दार गर्दै आएका शालिक राम पाठकले बाँकेमा पाइने संरक्षित जन्तु तथा सर्पको प्रकार र उद्दारको बारेमा सहभागीलाई जानकारी गराएका थिए । प्रहरी प्रतिनिधि राजु पाण्डेले वन्यजन्तुको महत्व, त्यसले वातावरणमा पार्ने प्रभाव, दुर्लभ लोपोन्मुख जीवजन्तु लगायतका बारेमा बताएका थिए । डिल्ली क्षेत्रीले पनि वन्यजन्तुका विषयमा बोलेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका तथा बाल क्लब सम्बद्ध किशोरकिशोरी लगायतको उपस्थिति रहेको पत्रकार दिनेश ठाकुरले जानकारी दिएका छन् ।
