विपद्को बेला समुदायमै तत्काल उद्धार गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिकामा ११७ जनालाई आधारभूत खोज तथा उद्धार तालिम दिइएको छ । शहरी विपद् तथा भूकम्पीय जोखिम पूर्वतयारी परियोजना ‘सुपर’ अन्तर्गत सञ्चालन गरिएको दुई दिने तालिममा नगरका सबै वडाबाट प्रतिनिधिमूलक सहभागिता गराइएको हो ।
तालिममा ५९ महिला र ५८ पुरुष सहभागी रहेका थिए । आगलागी, बाढी तथा डुबान र भूकम्पपछिको उद्धारका आधारभूत विधिबारे सहभागीलाई व्यवहारिक अभ्यासमार्फत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । विपद्का शब्दावली, प्राथमिक उपचार, खोज तथा उद्धारमा प्रयोग हुने सामग्रीको उपयोग र उद्धार प्रक्रियासम्बन्धी अभ्यास पनि तालिममा समावेश गरिएको थियो ।
तालिम समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद्को पहिलो सामना समुदायले नै गर्नुपर्ने भएकाले स्थानीय स्वयंसेवक तयार पार्ने कामलाई प्राथमिकता दिइएको बताए । उनले ‘विपद् हुनासाथ सबैभन्दा पहिले समुदाय नै उद्धारकर्मी बन्छ । त्यसैले नगरभित्र स्वयंसेवक तयार गरेर आवश्यक पर्दा तत्काल परिचालन गर्ने योजना बनाएका छौं’ भने ।
सहभागीका तर्फबाट प्रतिक्रिया दिँदै मीरा अधिकारीले तालिम उपलब्धिमूलक रहेको बताइन् । उनले ‘विपद्का बेला कसरी काम गर्ने भन्ने व्यावहारिक ज्ञान पाएका छौं । यसले समुदायमा पनि सहयोग पुग्छ’ भनिन् ।
युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन भइरहेको ‘सुपर’ कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकामा लागू गरिएको हो । कार्यक्रममा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी रहेको छ । त्यसैगरी सिडिएम नेपाल र नेपाल रेडक्रस सोसाइटी ले प्राविधिक सहयोग गरेका थिए ।
तालिममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण मुख्यालय बागेश्वरीका सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन बुढाथोकीसहितको टोली, नेपालगन्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठ तथा नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मालगायतले सहजीकरण गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष एवं ‘सुपर’ परियोजनाका संयोजक समीर प्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन परियोजनाका कार्यक्रम संयोजक रुपन ज्ञवालीले गरेका थिए ।
