महासंघले भन्यो, ‘सञ्चार क्षेत्रलाई बेवास्ता नगर’

आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणमा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्न नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लाका सबै स्थानीय तहको ध्यानाकर्षण गराउने भएको छ । महासंघले सञ्चार नीति निर्माण, कानुनी व्यवस्था र कार्यान्वयनलाई स्थानीय सरकारको प्राथमिक एजेन्डा बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

शाखा कार्यालयमा बसेको कार्यसमिति बैठकले सञ्चार क्षेत्रलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्न स्थानीय तहसँग औपचारिक पहल गर्ने निर्णय गरेको हो । बैठकले हालसम्म सञ्चार नीति नबनाएका पालिकालाई आगामी आर्थिक वर्षभित्र नीति निर्माण गर्न आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, नीति निर्माण गरिसकेका स्थानीय तहलाई त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी तथा संरचनागत व्यवस्था गर्न पनि अनुरोध गरिने भएको छ ।

महासंघ बाँकेका सचिव कृष्ण ओलीका अनुसार, बैठकले सञ्चार क्षेत्रलाई संस्थागत र व्यवस्थित बनाउन स्थानीय तहको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेको छ । उनले भने, ‘सञ्चार क्षेत्रलाई स्थानीय सरकारले अब पनि प्राथमिकतामा नराख्ने हो भने पत्रकारिता क्षेत्र थप असुरक्षित बन्न सक्छ । त्यसैले नीति निर्माण र कार्यान्वयनलाई सँगसँगै लैजानुपर्ने आवश्यकता देखिएको छ ।’

बैठकले नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिम शाखाका अध्यक्ष केशव पराजुलीको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ । गम्भीर प्रकृतिको रोगबाट पीडित पराजुलीको उपचारमा आर्थिक समस्या भएको भन्दै नवलपरासी पश्चिम शाखाले सहयोगको अपिल गरेको थियो । सोही आग्रहअनुसार बाँके शाखाले १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।

बैठकमा सरकारले गत चैत १८ गते गरेको सूचना तथा विज्ञापनसम्बन्धी निर्णयका विषयमा पनि छलफल भएको थियो । नेपाल पत्रकार महासंघले उक्त निर्णयविरुद्ध देशव्यापी दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको अवस्थामा प्राप्त पछिल्लो सर्कुलरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय बाँके शाखाले गरेको छ ।

महासंघले सरकारी निर्णयलाई विभेदकारी र स्वेच्छाचारी भन्दै त्यसको खारेजीको माग गर्दै आएको छ । बैठकले प्रेस स्वतन्त्रता र संवैधानिक अधिकारको रक्षाका लागि केन्द्रले तय गरेका आन्दोलनका कार्यक्रम बाँकेमा पनि सक्रिय रूपमा सञ्चालन गरिने जनाएको छ ।

त्यसैगरी संसदबाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल गर्नुपर्ने विषयलाई समेत बैठकले समर्थन गरेको छ । नागरिकले निर्वाध रूपमा सूचना प्राप्त गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ ।

कार्यसमिति बैठक नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको थियो

Exit mobile version