निर्यात सम्बद्ध व्यवसायीलाई पाँच दिने तालिम

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले नेपालमा डलर भित्रिने वातावरण सिर्जना गर्न पश्चिम नेपाल उद्गम स्थल हुन सक्ने बताएका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नेपालगन्ज उद्योग वाणिज्य संघसँगको सहकार्यमा निर्यात सम्बद्ध उद्योगी, व्यवसायीका लागि आयोजना गरेको बजारमा पहुँच तथा बजार विश्लेषण सम्बन्धी तालिमको उद्घाटन गर्दै अध्यक्ष धामीले त्यसका लागि तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष टंक प्रसाद शर्माले नेपालबाट निर्यातका लागि प्रक्रियादेखि प्रविधिसम्मको समस्या रहेको बताएका थिए । उनले आवश्यक प्रविधि नहुँदा निकासीमा प्रगति हुन नसकेको बताएका थिए । त्यसले व्यापारघाटा कम हुन नसकेको स्थिति उनले औंल्याएका थिए ।

अध्यक्ष शर्माले उत्पादन भएका वस्तु निर्यात गर्न नसकेर बर्षौ गोदाममा थन्क्याइ राख्नुपर्ने बाध्यतामा रहेको बताए ।

उद्घाटन कार्यक्रमको सहजीकरण गर्दै संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि ओलीले निर्यातका लागि अन्तर्राष्ट्रिय बजारको अवस्था बुझ्न आवश्यक रहेको बताएका थिए । ‘सही समयमा, सही देशमा, सही मूल्यमा वस्तु निर्यात गर्न गरे हामी सफल हुनसक्छौं’, वरिष्ठ उपाध्यक्ष ओलीले भने, ‘त्यसका लागि निर्यात गर्न चाहने व्यवसायीलाई तालिम तथा प्रशिक्षणको आवश्यकता रहन्छ ।’

पाँच दिनसम्म चल्ने तालिममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कृष्ण बजगाई, गोकुल अवस्थी, सन्दिप घिमिरे लगायतले सहजीकरण
गर्नेछन् ।

Exit mobile version