घरभित्रै पसेर नेपालगन्ज–१८ कि एक किशोरी माथि सांघातिक आक्रमण भएको छ । आइतबार मध्यराती आफ्नो अध्ययन कक्षमा पढिरहेकी ती किशोरीमाथि एक्कासी आक्रमण भएको हो । ‘चोरीको उद्देश्यले घरभित्र पसेको अनुमान गर्न सकिन्छ’, पीडित परिवारले भने, ‘त्यसक्रममा पढिरहेकी छोरीलाई देखेपछि एक्कासी छुरा निकालेर आक्रमण गरेको रहेछ ।’
नेपालगन्ज–१८ कारकाँदोकी २० बर्षीय ती किशोरीमाथि राती १ बजे आक्रमण भएको परिवारले जानकारी दिएका छन् । ‘पशुवत आक्रमण भएपछि प्रतिकारका क्रममा उनले चिच्याएपछि परिवारले थाहा पाएर ज्यान जोगाउन सकियो’, प्रत्यक्षदर्शी परिवारका सदस्यहरूलाई उद्धृत गर्दै पीडित किशोरीका आफन्त कृष्ण प्रसाद श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘केही मिनेटमात्रै ढिलो भएको भए ज्यानै लिन सक्ने रहिछ ।’
तत्कालै परिवारका अन्य सदस्यले आक्रमणकारीलाई समातेर नियन्त्रणमा लिएका थिए भने प्रहरीलाई पनि खबर गरेका कारण आक्रमणकारी भाग्न नपाएको श्रेष्ठले जानकारी दिए । ‘घर छेउको कवाड थुप्रोबाट भित्र पसेर पढिरहेकी किशोरीमाथि एक्कासी आक्रमण गरेको रहेको छ’, घटनालाई लिएर प्रहरी, प्रशासनमा कडाईको माग गर्दै पुगेका श्रेष्ठले पटकपटक विभिन्न अपराधिक घटनामा संलग्न रहेको युवक रहेकाले प्रहरीले कारवाहीको प्रतिबद्धता जानकारी दिए ।
घटनामा संलग्न व्यक्तिले आफ्नो नाम सुरज सोनार रहेको बताएका छन् । आफुलाई भारत बहराइच स्थित बाबागन्जको बताएका छन् । उनले ६ बर्षदेखि नेपालगन्जमा बसिरहेको पनि त्यसक्रममा उल्लेख गरेका छन् । तर, बाँके प्रहरीले भने नेपाली युवाका रूपमा परिचित आरोपी चार पटक चोरीको घटनामा र ३ पटक अभद्र मुद्दामा कारवाही भोगेको ‘पटके अपराधी’ रहेको उल्लेख गरेको छ ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले घटनालाई आफुले गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिंदै दोषीलाई कानुन बमोजिमको कडा कारवाही गरिने बताए ।
‘घटनाको प्रकृति नै गम्भीर छ’, प्रहरी उपरीक्षक जिसीले घटनामा संलग्न व्यक्ति पटके अपराधी भएकाले सोही बमोजिमको कारवाही हुने जानकारी दिंदै भने, ‘यसअघि चोरी लगायतका घटनामा पटकपटक पक्राउ पर्ने र छुट्ने भएकाले यो मानिस अपराधिक मानसिकताको रहेको देखिन्छ ।’ प्रहरी स्रोतका अनुसार, पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयमै चोरी गरेको घटनामा ती युवा पक्राउ परेका थिए ।
