संघीय सरकारबाट बाँकेका आठ स्थानीय तहले आगामी आ.व. २०८३÷०८४ का लागि विभिन्न शिर्षकमा ४ अर्ब २३ करोड ७७ लाख रूपैयाँ अनुदान पाउने भएका छन् । जुन चालु आ.व. २०८२÷०८३ भन्दा १३ करोडले कम हो । संघीय सरकारले चालु आ.व. २०८२÷०८३ का लागि ४ अर्ब ३६ करोड ५६ लाख रूपैयाँ विभिन्न शिर्षकमा अनुदान बजेट स्थानीय तहलाई उपलब्ध गराएको थियो ।
आगामी आ.व. २०८३÷०८४ मा बाँकेका आठ स्थानीय तहले संघीय सरकारबाट सशर्त अनुदान तर्फ २ अर्ब ७९ करोड ८६ लाख, समानिकरण तर्फ १ अर्ब २८ करोड ९८ लाख रूपैयाँ, विशेष अनुदान तर्फ ११ करोड १५ लाख र समपुरक तर्फ ३ करोड ७८ लाख रूपैयाँ प्राप्त गर्ने भएका छन् ।
गत बर्ष चालु आ.व. २०८२÷०८३ का लागि बजेट ल्याउँदा संघीय सरकारले १ अर्ब २६ करोड ८९ लाख रूपैयाँ समानिकरण अनुदान, २ अर्ब ९६ करोड ७ लाख रूपैयाँ सर्शत अनुदान, ६ करोड ६० लाख रूपैयाँ विशेष अनुदान र ७ करोड रूपैयाँ समपुरक अनुदान बाँकेका आठ स्थानीय तहलाई दिएको थियो ।
सरकारले यस बर्ष बाँकेका दुई स्थानीय तहलाई विशेष अनुदान भने दिएको छैन । कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकाले विशेष अनुदान प्राप्त नगरेका हुन् । त्यस्तै, बाँकेको कोहलपुर नगरपालिकाले भन्दा दुई वटा गाउँपालिकाले बजेट बढी प्राप्त गरेका छन् । राप्तीसोनारी गाउँपालिका र खजुरा गाउँपालिकाले कोहलपुरले भन्दा बढी अनुदान बजेट प्राप्त गरेका हुन् ।
सरकारले नेपालगन्ज उपमहानगरपालिकाका लागि आगामी आ.व. २०८३÷०८४ का लागि ९९ करोड १२ लाख रूपैयाँ बजेट प्राप्त गरेको छ । जुन चालु आ.व. २०८२÷०८३ मा ९१ करोड ३० लाख थियो ।
त्यस्तै, कोहलपुर नगरपालिकाले आगामी आ.व.मा ५० करोड ८५ लाख रूपैयाँ अनुदान पाउने भएको छ । जुन चालु आ.व.मा ६० करोड ७ लाख रूपैयाँ रहेको थियो ।
आगामी आ.व. २०८३÷०८४ का लागि खजुरा गाउँपालिकाले ५५ करोड ७७ लाख, जानकी गाउँपालिकाले ३३ करोड ७५ लाख, डुडुवा गाउँपालिकाले ३५ करोड ७३ लाख, नरैनापुर गाउँपालिकाले ३४ करोड ३७ लाख, बैजनाथ गाउँपालिकाले ५६ करोड १२ लाख, राप्तीसोनारी गाउँपालिकाले ५८ करोड ०६ लाख अनुदान पाउँदैछन् ।
चालु आ.व.का २०८२÷०८३ का लागि खजुरा गाउँपालिकाले ६० करोड १५ लाख, जानकी गाउँपालिकाले ३४ करोड ६८ लाख, डुडुवा गाउँपालिकाले ३५ करोड ४७ लाख, नरैनापुर गाउँपालिकाले ३६ करोड १२ लाख, बैजनाथ गाउँपालिकाले ५८ करोड २ लाख, राप्तीसोनारी गाउँपालिकाले ६० करोड ७५ लाख अनुदान प्राप्त गरेको थियो ।
