मेयर कप अन्तर विद्यालय फुटबल : कृष्ण मावि र ज्ञानाेदय विजयी

बाँके जिल्ला फुटबल संघले आयाेजना गरेकाे बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र/छात्रा (यु-१८) फुटबल प्रतियाेगितामा कृष्ण मावि काेहलपुर र ज्ञानाेदय मावि खजुरा विजयी भएका छन् ।
कृष्ण माविले नेपालगन्जकाे मनकामना मावि र ज्ञानाेदयले याेगिनी मावि गाैघाटलाई पराजित गरेका हुन् ।

पहिलाे खेलमा कृष्ण माविले मनकामनालाई ३-० गाेल अन्तरले पराजित गर्याे । कृष्ण माविका पवल परियारले ९ र ५० मिनेट र जाेकिरण विकले १३ मिनेटमा गाेल गरेका थिए । याे खेलमा कृष्ण माविका पवल परियार प्लेयर अफ द म्याच भए । उनलाई बाँके जिल्ला खेलकुद विकास समितिका प्रमुख सन्ताेष श्रेष्ठले पुरस्कृत गरे ।
अर्काे खेलमा ज्ञानाेदयले याेगिनी माविलाई २-० गाेलले पराजित गर्याे । ज्ञानाेदयका निशान विकले दुवै गाेल गरे । उनले १३ र ४० मिनेटमा गाेल गरेका थिए । प्लेयर अफ द म्याच भएका निशानलाई ज्ञानाेदय मावि विद्यालय व्यवस्थापन समितिका सदस्य विजय गुरुङ र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी सहायक निरीक्षक कमला जाेशीले पुरस्कृत गरे ।

नेपालगन्ज उपमहानगरपालिकाकाे सहयाेगमा सञ्चालित प्रतियाेगितामा ३७ वटा विद्यालयले भाग लिएका छन् । प्रतियाेगिताका विजेतालाई ३१ हजार र उपविजेतालाई १६ हजार तथा सर्वाेत्कृष्ट खेलाडीलाई दुई हजार पाँच सय पुरस्कार राखिएकाे एन्फाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भाेजराज शाहीले जानकारी दिए ।

आज साँझ सेन्टथाेमस नेपालगन्ज र पशुपतिमावि राँझा तथा जयबागेश्वरी मावि र ड्रिमल्याण्ड मावि राँझाकाे बिचमा खेल हुनेछ ।

Exit mobile version