निर्धक्क भएर सम्पत्तिको स्रोत देखाउनुस्ः अध्यक्ष भण्डारी

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहनुभएका व्यक्तिले निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत देखाउन सुझाव दिएको छ । आयोगले पैतृक सम्पत्तिका रुपमा भोग हस्तान्तरण भइआएको घरजग्गा तथा जागिरबाट प्राप्त तलब, भत्तालगायत वैध कामबाट जोडिएको सम्पत्ति उल्लेख गर्न डराउन र हिचकिचाउन नपर्ने स्पष्ट पारेको छ ।

    आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले रासससँग भन्नुभयो, “कर्मचारीको तलब, भत्ता, बिदा, सञ्चय कोष, बीमा, उपचार खर्चजस्ता माध्यमबाट आर्जन सम्पत्ति तथा पैतृक सम्पत्तिका रुपमा रहेको जग्गाजमिन वैध सम्पत्ति हुन् त्यो उल्लेख गर्न डराउन पर्दैन, जसले गलत आर्जन गरेको छ, त्यो मात्रै डराउने हो ।” गैरकानुनी कमाईलाई कानुनी मान्यता हुने कुनै आधार नै नहुने बताउँदै उहाँले त्यस्तो धन कानुनी रूपमा दण्डनीय हुनेमा कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभयो ।

    आयोगले २०४८ देखि २०८३ सालसम्मको कुनै समयावधिमा सार्वजनिक पदधारण गरेका व्यक्तिले पदीय दुरुपयोग गरी अस्वाभाविक कमाई गरेको देखिए उजुरी गरी छानबिन प्रक्रियामा सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ । आयोगले मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएको करिब ३५ वर्षको अवधिलाई २०६२/६३ देखि २०८२/८३ र २०४८/४९ देखि २०६२/६३ सालसम्म दुई चरणमा विभाजन गरी फाइल तथा उजुरी छानबिन गर्ने स्पष्ट गरेको छ ।

    वर्तमान सरकारले २०४८ सालपछि सार्वजनिक पदमा रहेका, पदबाट सेवा निवृत्त भएका वा हटिसकेका व्यक्तिको सम्पत्तिको छानबिन गरी प्रतिवेदन बुझाउने कार्यादेशसहित गठन गरेको पाँच सदस्यीय आयोग हाल सम्पत्ति विवरण र उजुरी सङ्कलनमा व्यस्त छ । पछिल्ला दिनमा कार्यालय खुलेलगत्तै आयोग परिसरमा सम्पत्ति विवरण बुझाउने पूर्वकर्मचारीको घुइँचो छ ।

    आयोगका अनुसार बहालवाला तथा पूर्वप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री, उहाँहरूले नियक्त गरेका सल्लाहकार, स्वकीय सचिवहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । सम्पत्ति विवरण बुझाउन अन्तिम पटकका लागि आगामी असार मसान्तसम्म म्याद थप गरिएको जनाउँदै आयोगले विवरण बुझाउन बाँकीले उक्त समयसीमाभित्र सबै प्रमाण जुटाएर निर्धक्क भएर दाखिला गर्न आह्वान समेत गरेको छ । प्रस्तुत छ, आयोगका अध्यक्ष भण्डारीसँग राससका कार्यकारी सम्पादक नारायणप्रसाद न्यौपाने र समाचारदाता अशोक घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

 अध्यक्षज्यू, आयोगले अहिले कसरी काम गरिरहेको छ ?

    आयोग गठन भएको करिब डेढ महिनाको अवधिमा कार्यालय खडादेखि कर्मचारी व्यवस्थापनसम्मका कार्य सम्पन्न भई सम्पत्ति विवरण सङ्कलनको काम भइरहेको छ । आयोगका पदाधिकारीले गत वैशाख ९ गते शपथ लिएको हो । त्यसको भोलिपल्टदेखि नै आयोगले कार्य प्रारम्भ गरेको हो । गत वैशाख ३० गते क–कसले सम्पत्ति विवरण दाखिला गर्नुपर्छ भन्ने विवरणसहित एक महिनाको समय दिएर सार्वजनिक सूचना प्रकाशन गरियो । त्यसअनुसार हालसम्म करिब तीन हजार ५०० सम्पत्ति विवरणका फारम दाखिला भएको छ । बिहानैदेखि आयोगभित्र तोकिएका चार स्थानमा धमाधम सम्पत्ति विवरण फारम बुझाउनको घुइँचो छ । अहिलेसम्म ६० वटा उजुरी आइसकेको छ । इमेलमा पनि थुप्रै उजुरी आइरहेको छ, त्यसलाई खोल्न बाँकी छ । अकुत सम्पत्तिदेखि अरूको नाममा सम्पत्ति राखेकासम्मका उजुरी परेका छन् । विभिन्न व्यक्तिले गैरकानुनी आर्जन गरी विशाल भवन बनाएकाजस्ता उजुरी पनि आउने गरेको छ । 

 काम गर्ने सन्दर्भमा आयोगले के कस्ता चुनौतीको सामना गर्नुपरेको छ ?

    भर्खरै अफिस खडा भएको छ । कर्मचारी ल्याउने क्रम जारी छ । उहाँहरूको दक्षता परीक्षण समेत गर्न पाइएको छैन । क्षमता, दक्षता र विषेशज्ञता आधारमा कार्य विभाजन गरिनेछ । कम्प्युटर र प्रिन्टरलगायत साधन र स्रोत जुटाइँदैछ । कार्यालय सञ्चालनका लागि स्थान अभाव र विभिन्न चुनौतीबीच आयोगका कार्य द्रुतरुपमा अगाडि बढाइएको छ । सरकार, मन्त्रालय र जनप्रतिनिधिका तर्फबाट आयोगलाई सबैको सहयोग प्राप्त भएको छ । केशरमहलमा रहेको आयोगमा जनशक्तिदेखि भौतिक पूर्वाधार व्यवस्थापनमा लागिरहेका छौँ । अब हामी फाइल परीक्षण गर्न सुरु गर्छौँ, त्यसपछि आउने चुनौतीलाई सम्बोधन गर्दै जान्छौँ ।

 सम्पत्ति विवरण दाखिला गर्ने क्रममा महत्वपूर्ण केही विषय छुट भएमा त्यस्तो कुरा समावेश गर्ने अवसर प्राप्त हुन्छ ?

    उहाँहरूले बुझाएकोे विवरण फारममा केही छुट भएको रहेछ भन्ने महसुस भएमा पहिलेको दर्ता नम्बर उल्लेख गरेर निवेदन दिएमा आयोगले स्वीकार्छ । उहाँहरूले आफ्नो सम्पत्तिको स्रोत पुष्टि गर्ने कागजात सङ्कलन गरेर दाखिला गर्न सक्नुहुन्छ ।

 सम्पत्ति विवरण बुझाउन पर्ने दायरामा रहेका व्यक्ति बिरामी परेको वा विदेश रहेको र अलमलमा परेकालाई आयोगले कसरी सघाउन सक्छ ?

    आयोगमा जानकारी लिन आउनेहरुलाई हामी स्पष्ट रुपमा भन्छौँ– सम्पत्तिको स्रोत पुष्टि हुने अभिलेख अथवा कागजात सङ्कलन गरी दाखिला गर्नुस् । उदाहरणका, लागि कसैलाई तलब–स्केल थाहा छैन भने निजामती किताब खानाबाट प्राप्त हुन्छ । कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, बिदा, बिमा, उपचारको पैसा लिएको छ भने सम्बन्धित कार्यालयबाट पुष्टि गर्ने कागजात र विवरण लिएर आउनुहोस् भनी सल्लाह दिएका छौँ । विदेशमा बस्नेहरुलाई पनि चाँडै आउनुहोस् र फारम भर्नुस् । अथवा आउन नसक्नेले अहिले निवेदन दिनुस् । यो मितिमा आएर फारम भर्छौ भनी निवेदन दर्ता गर्ने सुविधा दिन्छौँ । मुख्यकुरा उहाँहरुको सम्पत्ति विवरण दाखिला र छानबिन गर्ने क्रम जारी रहोस् । उहाँहरुलाई पनि बाधा नपरोस् भन्ने हिसाबले हामीले सुझाव दिएका छौँ ।

 आयोगले प्राप्त सम्पत्ति विवरण र उजुरीलाई कसरी छानबिन अघि बढाउँछ ?

    उजुरी र सम्बन्धित सम्पत्ति विवरण फारम सँगसँगै राखेर हेर्नुपर्ने हुन्छ । दर्ता क्रम भर्खर सुरु भएको छ । आन्तरिक तयारीपछि छानबिनको सुरुआत गर्छौँ । छानबिन कसरी हुन्छ भन्ने विषय गोप्य विषय भएकाले सोहीअनुरुप अगाडि बढ्छौँ ।

 राजनीतिक दल, सरकार, सम्पत्ति बुझाउने दायरामा परेको व्यक्तिबाट आयोगले कस्तो अपेक्षा गरेको छ ?

    राजनीतिक पदाधिकारी, सांसद, प्रदेश सांसद, पालिकाका प्रमुख, उपप्रमुख,  व्यवस्थापिकामा रहेका अरू पदाधिकारी, पूर्वप्रधानन्यायाधीशदेखि पूर्वन्यायाधीश, नेपाल सरकारको विभिन्न तहका प्रथम श्रेणीभन्दा माथिका निजामती पदाधिकारी, बैंकका पदाधिकारी, सार्वजनिक संस्थानका पदाधिकारी, अनुदान प्राप्त गर्ने विश्वविद्यालयका पदाधिकारी सबैले सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । अधिकांश व्यक्तिहरुले फारम बुझाउँदै हुनुहुन्छ । यो राज्यले सुम्पिएको दायित्व भएकाले नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । मेरो आचरण, व्यवहार, स्रोत, कमाई सबै शुद्ध छ भन्ने कुराको पुष्टि गर्ने, जवाफदेही र उत्तरदायित्व निर्वाह गर्ने अवसर भएकाले उहाँहरूले समयमै फारम भरेर छानबिनका लागि सहयोग गर्नुहुन्छ भन्ने आयोगको विश्वास छ । यसमा सबैको पूर्ण साथ र सहयोग हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।

 सम्पत्ति विवरण बुझाउनुपर्ने दायराभित्र परेका तर मृत्यु भइसकेको व्यक्तिको हकमा के हुन्छ ?

    व्यक्तिको निधन भइसकेपछि ‘अपराध पनि मर्छ’ भन्ने एउटा सर्वमान्य कानुनी सिद्धान्त छ । त्यसैले मृत्युवरण गरिसकेका व्यक्तिका तर्फबाट फारम भर्नु पर्दैन तर त्यस्ता व्यक्तिका सम्बन्धमा उजुरी आएमा छानबिन गरी कारबाही हुन्छ ।

 सम्पत्ति बुझाउने सन्दर्भमा अलमलमा परेका व्यक्तिलाई सहजीकरण गर्न आयोगको के कस्तो संयन्त्र छ ?

    आयोगले सहजीकरण गरिरहेको छ । सम्पत्ति विवरण बुझाउन सजिलो व्यवस्था छ । कसैलाई प्रमाण सङ्कलन गर्न अप्ठ्यारो परेको अवस्थामा आयोगले नै सहजीकरण गरिरहेको छ ।

 सम्पत्ति विवरण बुझाउन आउनेलाई के सन्देश छ ?

    निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत देखाउनुस् । कोही पनि डराउनु पर्दैन । जसको गलत धन्दा छ त्यो मात्रै डराउने हो । जस्तैः तलब, बिदा, उपचार खर्च, सञ्चयकोष, बिमाजस्ता माध्यमबाट कमाएको सम्पत्ति वैध आर्जन हो । त्यस्तै पैतृक सम्पत्ति, जग्गा, खेतीपातीकोे आय वैध सम्पत्ति हुन् । कानुनले निषेध गरेको कामबाट प्राप्त सम्पत्ती मात्रै गैरकानुनी धन हो । घर बहालमा लगाएको छ तर बहाल कर तिरेन भने त्यो अवैध हुन्छ । वैध कामबाट जोडिएको सम्पत्ति उल्लेख गर्न डराउन र हिचकिचाउनु पर्दैन । गैरकानुनी कमाइलाई कानुनी मान्यता दिने भन्ने हुँदैन । त्यो कानुनी रूपमा दण्डनीय नै हुन्छ ।  त्यसमा द्वविधामा पर्नुपर्ने कुरै छैन ।

 सम्पत्ति विवरण बुझाउन समय अपुग भएमा फेरि पनि आयोगले समय थप गर्छ कि ?

    स्वदेशमा होस् वा विदेशमा रहने बस्ने पदाधिकारीले ‘हामी त प्रमाण सङ्कलन गर्दैछौँ, अलिकति समय पुगेन’ म्याद थप गरिदिनु प¥यो भनी फोन र इमेलबाट आग्रह आएपछि उहाँहरुको मर्कालाई महसुस गरी अन्तिम पटकका लागि असार मसान्तसम्मका लागि म्याद थप गरेका छौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार, मालपोत तथा अदालतमा पनि आगलागी भएको छ । जसले प्रमाण सङ्कलन गर्न अप्ठ्यारो परेको महसुस भएको छ । त्यसले गर्दा पनि समय थप्नुपरेको छ । यो अन्तिम पटक हो । फेरि पछि म्याद थप हुँदैन । विवरण बुझाउन बाँकीले म्यादभित्र अनिवार्य दाखिला गर्नै पर्छ । सबै प्रमाण जुटाएर ढुक्क भएर विवरण दर्ता गर्न सम्बन्धित सबैसँग आयोग अनुरोध गर्दछ । 

–––

Exit mobile version