प्रहरी हवल्दारमाथि सांघातिक आक्रमण

बाँकेको बैजनाथ गाउँपालिकामा एउटा विद्यालयको जग्गा अनाधिकृत कब्जा हटाउँदा सुरक्षाका लागि पुगेका प्रहरीका हवल्दारमाथि धारिलो हतियार प्रहार भएको छ । यद्यपि, हतियारको प्रहार चुक्दा उनी गम्भीर घाइते भने भएनन् ।

बैजनाथ गाउँपालिका एचगाउँ स्थित इश्वरी माध्यमिक विद्यालयको जग्गा अनाधिकृत कब्जा भएपछि विद्यालयले हटाउनका लागि लामो समय सरोकारवाला निकायमा पहल गर्दै आएको थियो ।

बैजनाथ गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले विद्यालयले लिजमा दिएको व्यक्ति सम्पर्कविहीन भई दुई बर्षदेखि भाडा समेत नतिरेपछि हटाउन पहल गरिएको हो । ‘लिजमा लिएको व्यक्ति भाडा नतिरि सम्पर्क विहीन र अर्कैले त्यसको अनाधिकृत प्रयोग गरिरहेको पाइयो’, उनले भने ।

लिजमा लिइएको जग्गा केही सरकारी विद्यालय र केही ऐलानी भएको बताइएको छ । महिलाले उक्त जग्गा लिजमा लिएका व्यक्तिलाई रकम तिरेर जग्गा लिएको दाबी गरेको र विद्यालयलाई त्यसबारे आधिकारिक जानकारी र कुनै कागजात भने नभेटिएको बताइएको छ ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले पालिकाले सुरक्षा मागेपछि प्रहरी खटिएको बताएका छन् । त्यसक्रममा सावित्री कुमारी शाहीले प्रहरी हवल्दारमाथि सुनिल कुमार चौधरीमाथि हतियार प्रहार गरेको उनले बताए । ‘हवल्दार चौधरीको ढाडमा निलडाम छ’, उनले भने । शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

Exit mobile version